
मुम्बई, १ साउन । सनी देओल फेरि एकपटक चलचित्रको पर्दामा तहल्का मच्चाउन तयार छन्। उनी ‘बटवारा १९४७’ चलचित्रमा मुख्य भूमिकामा देखिएका छन्।
यस चलचित्रमा उनका छोरा करण देओल पनि समावेश छन्। चलचित्रको टिजर सार्वजनिक भइसकेको छ, जसमा आमिर खानको ‘भ्वाइसओभर’ रहेको छ । यसलाई दर्शकले निकै रुचाएका छन्। टिजरमा सनी देओल आफ्नो विशिष्ट एक्सन अवतारमा देखिएका छन्, यस्तो रूप जसलाई दर्शकहरूले अत्यधिक मन पराएका छन ।


बँटवारा १९४७’ का निर्माताहरूले अहिलेसम्मकै सबैभन्दा ठूलो प्रचार अभियान सुरु गर्ने तयारी गरेका छन्। चलचित्रको प्रचारप्रसारका लागि यसको टोलीले देशभरका १२ प्रमुख सहरहरूको भ्रमण गर्नेछ। यसलाई चलचित्रको सबैभन्दा व्यापक सहर भ्रमणका रूपमा लिइएको छ। विशेष कुरा के छ भने, भारतीय चलचित्रको इतिहासमा कुनै चलचित्रका लागि १२ सहर समेट्ने गरी यति ठूलो स्तरमा प्रचार भ्रमण आयोजना गरिएको यो पहिलो पटक हो। यसले चलचित्र प्रति दर्शकहरूको उत्साह अझ बढाएको छ।

यस चलचित्रमा सनी देओल, शबाना आजमी, प्रीति जिन्टा, करण देओल, अली फजल, अभिमन्यु सिंह, खुशी हजारे र कनिका कपुरको मुख्य भूमिका रहेको छ। आमीर खान प्रोडक्सन्सको ब्यानरमा निर्माण गरिएको ‘बटवारा १९४७’ को निर्देशन राजकुमार सन्तोषीले गरेका हुन्। यसमा एआर रहमानले संगीत भरेका छन् भने गीत जावेद अख्तरले लेखेका हुन्। चलचित्रका निर्माता आमीर खान र अपर्णा पुरोहित हुन्।
यो चलचित्र १४ अगस्ट २०२६ मा विश्वभरका सिनेमाघरहरूमा प्रदर्शन हुनेछ।





