
अमेरिका र इरानबीच बढ्दै गएको तनावप्रति पाकिस्तानले गहिरो चिन्ता व्यक्त गर्दै सबै पक्षलाई वार्ता र कुटनीतिको बाटो अवलम्बन गर्न आग्रह गरेको छ । पाकिस्तानी परराष्ट्र मन्त्रालयका प्रवक्ता ताहिर हुसेन अन्ड्राबीले बिहीवार आयोजित पत्रकार सम्मेलनमा द्वन्द्वले कसैको पनि हित नगर्ने बताउनु भयो ।
उहाँले कुनैपनि विवादको समाधान शान्तिपूर्ण संवाद र कूटनीतिक पहलबाट मात्र सम्भव हुने उल्लेख गर्नुभयो । पाकिस्तानले मध्यस्थताको प्रयासबाट हात झिकेको भन्ने चर्चालाई खण्डन गर्दै प्रवक्ता अन्ड्राबीले वर्तमान परिस्थितिमा ‘तनाव बढाउने खालका अभिव्यक्तिहरू’ हावी भएकाले मध्यस्थताको कार्य थप चुनौतीपूर्ण बनेको स्वीकार गर्नुभयो ।

पाकिस्तानले हाल जारी उत्तेजित परिस्थिति र वाकयुद्ध मत्थर भई वार्ता र विवेकले स्थान पाउने विश्वास समेत व्यक्त गरेको छ ।




