इण्डोनेसियामा यात्रुवाहक डुङ्गा दुर्घटनाः एकको मृत्यु, २४ जना बेपत्ता

इण्डोनेसियाको दक्षिण सुलावेसी प्रान्तको तटीय क्षेत्रमा बुधबार एक यात्रुवाहक डुङ्गा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २४ जना बेपत्ता भएका छन् । इन्जिनमा आएको प्राविधिक समस्याका कारण डुङ्गा समुन्द्रमा डुबेको उद्धारकर्मीहरूले बिहीबार जानकारी दिएका हुन् ।

मकासारस्थित इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार निकाय (बसारनास) काअनुसार दुर्घटनामा परेकामध्ये हालसम्म ४९ जनाको जीवितै उद्धार गरिएको छ । बसारनास मकासार कार्यालयका प्रमुख मुहम्मद आरिफ अनवरले शुरुमा डुङ्गामा ५० जना यात्रु सवार रहेको सूचना प्राप्त भएपनि विस्तृत प्रमाणीकरणपछि उक्त सङ्ख्या ७४ रहेको पाइएको जानकारी दिए ।

अहिले बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ ।

धेरै टापुहरू भएको इण्डोनेसियामा एक टापुबाट अर्को टापुमा आवतजावत गर्नका लागि फेरि र साना डुङ्गाहरू यातायातको प्रमुख साधनका रूपमा प्रयोग गरिन्छन् । भौगोलिक अवस्था र सुरक्षा मापदण्डको कमजोरीका कारण यहाँ यस्ता सामुन्द्रिक दुर्घटनाहरू बारम्बार हुने गरेका छन् ।