
अर्घाखाँची, साउन १ । अर्घाखाँची जिल्लाका करिब ९९ प्रतिशत नागरिक विद्युत सेवाको पहुँचमा पुगेका छन्। नेपाल विद्युत प्राधिकरण, अर्घाखाँची वितरण केन्द्रका प्रमुख इन्जिनियर जनार्दन पौडेलका अनुसार जिल्लाका अधिकांश घरधुरीमा विद्युत सेवा विस्तार भइसकेको छ भने बाँकी रहेका दुर्गम बस्तीमा पनि आगामी आर्थिक वर्षभित्र विद्युत सेवा विस्तार गर्ने लक्ष्यका साथ आवश्यक तयारी अघि बढाइएको छ।
प्रमुख इन्जिनियर पौडेलले जिल्लाको अधिकांश भूभागमा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत सेवा पुगेको जानकारी दिँदै सितगंगा नगरपालिकाका केही विकट तथा दुर्गम बस्तीमा भने हालसम्म विद्युत सेवा विस्तार हुन नसकेको बताउनुभयो। ती क्षेत्रको भौगोलिक बनावट अत्यन्तै कठिन हुनु, विद्युतका पोल, तार तथा अन्य संरचना निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न चुनौतीपूर्ण हुनुका साथै लागतसमेत अत्यधिक लाग्ने भएकाले विद्युत विस्तारमा ढिलाइ भएको उहाँको भनाइ छ।


उहाँका अनुसार ती बाँकी बस्तीमा विद्युत विस्तारका लागि आवश्यक प्राविधिक अध्ययन, लागत अनुमान तथा योजना निर्माणको प्रक्रिया अघि बढिसकेको छ। आगामी आर्थिक वर्षमा आवश्यक बजेट सुनिश्चित भएपछि ती क्षेत्रमा पनि विद्युत सेवा विस्तार गरिने र जिल्लालाई पूर्ण रूपमा विद्युत पहुँचयुक्त बनाउने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो।

विद्युत सेवा विस्तारसँगै जिल्लाको आर्थिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा उल्लेखनीय परिवर्तन आएको प्राधिकरणले जनाएको छ। विद्युत पहुँचका कारण ग्रामीण क्षेत्रमा अध्ययन–अध्यापन सहज भएको, स्वास्थ्य संस्थाको सेवा प्रभावकारी बनेको, कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढेको, साना तथा घरेलु उद्योग सञ्चालनमा सहजता आएको तथा स्थानीयको दैनिक जीवनस्तरमा सकारात्मक परिवर्तन देखिएको प्राधिकरणको भनाइ छ।


प्रमुख इन्जिनियर पौडेलले दुर्गम बस्तीका नागरिकलाई पनि आधारभूत विद्युत सेवाबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै प्राधिकरणले सबै नागरिकलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो विद्युत सेवा उपलब्ध गराउने लक्ष्यका साथ निरन्तर काम गरिरहेको बताउनुभयो।
नेपाल विद्युत प्राधिकरणले जिल्लाभित्र विद्युत पूर्वाधारको विस्तार, वितरण प्रणालीको स्तरोन्नति तथा सेवाको गुणस्तर सुधारलाई समेत प्राथमिकतामा राखेर विभिन्न योजना कार्यान्वयन गरिरहेको जनाएको छ। आगामी वर्षभित्र बाँकी रहेका विकट बस्तीमा पनि विद्युत सेवा विस्तार भएसँगै अर्घाखाँची जिल्ला पूर्ण रूपमा विद्युत पहुँचयुक्त जिल्ला बन्ने अपेक्षा गरिएको छ।





