पाकिस्तानका अलराउन्डर मोहम्मद नवाजलाई तीन महिनाको प्रतिबन्ध

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले प्रतिबन्धित पदार्थसम्बन्धी आचारसंहिता उल्लङ्घन गरेको ठहर गर्दै पाकिस्तानका अलराउन्डर मोहम्मद नवाजलाई तीन महिनाको प्रतिबन्ध लगाएको छ । आईसीसीका अनुसार उक्त प्रतिबन्ध गत १ मे २०२६ देखि लागू हुने गरी गणना गरिएको हो, जुन दिनदेखि नवाज स्वेच्छिक अस्थायी निलम्बनमा बसेका थिए ।

आईसीसीले नवाजले आफ्नो गल्ती स्वीकार गर्नुका साथै प्रतिबन्धित पदार्थसम्बन्धी उपचार कार्यक्रममा सहभागी हुन सहमति जनाएको जनाएको छ । उनले यसअघि नै करिब साढे दुई महिनाको निलम्बन अवधि पूरा गरिसकेकाले अस्थायी निलम्बन हटाइएको छ । उपचार कार्यक्रम सफलतापूर्वक पूरा गरेपछि उनको कुल प्रतिबन्ध अवधि अन्ततः एक महिनामा सीमित हुने आईसीसीले जनाएको छ ।

आईसीसीका अनुसार ३२ वर्षीय नवाजको परीक्षणमा कार्बोक्सी-टीएचसी नामक प्रतिबन्धित पदार्थ फेला परेको थियो । श्रीलङ्काको कोलम्बोमा गत ७ फेब्रुअरीमा नेदरल्यान्ड्सविरुद्ध भएको पुरुष टी-२० विश्वकप खेलपछि गरिएको डोपिङ परीक्षणमा उनी सकारात्मक देखिएका थिए । आईसीसीले उक्त पदार्थ खेल प्रदर्शन बढाउने उद्देश्यले नभई प्रतियोगिताबाहिर प्रयोग गरिएको निष्कर्ष निकालेको जनाएको छ ।

आचारसंहिताअनुसार नेदरल्यान्ड्सविरुद्धको खेलसहित त्यसपछिका १ मे २०२६ सम्म उनले खेलेका सबै खेलका व्यक्तिगत अभिलेख रद्द गरिएको छ । उपचार कार्यक्रम सन्तोषजनक रूपमा पूरा गरेमा नवाजले थप प्रतिबन्ध भोग्नुपर्ने छैन ।

यसअघि डोपिङ अनुसन्धानका कारण इङ्ग्ल्यान्डको सरे क्लबबाट टी-२० प्रतियोगिता खेल्ने उनको सम्झौता पनि रद्द भएको थियो । पाकिस्तानका लागि मुख्य रूपमा सीमित ओभरको क्रिकेट खेल्दै आएका नवाजले टी-२० विश्वकपका सबै सात खेल खेलेका थिए भने पाकिस्तान सुपर लिगमा मुल्तान सुल्तान्सबाट पनि नियमित रूपमा खेलेका थिए ।