एन्जेलिना जोलीका थप दुई सन्तानले पनि हटाए पिता ब्राड पिटको थर

काठमाडौं, २ । विश्वका चर्चित कलाकारहरूमध्ये एक ब्राड पिट अहिले आफ्ना चलचित्रभन्दा बढी पारिवारिक कारणले चर्चामा छन्।

आश्चर्यको कुरा त के छ भने उनका छोराछोरीहरूले एक एक गर्दै ‘पिट’ थर हटाउँदै गएका छन्। सुरुमा एक सन्तानले यसो गरेका थिए, त्यसपछि अर्काले र अब थप दुई जनाले पनि त्यही बाटो पछ्याएका छन्। आखिर यस्तो के भयो जसले गर्दा छोराछोरीहरू आफ्ना बुबाको नामबाट टाढिन चाहिरहेका छन् । यो प्रश्नले सबैको चासो बढाएको छ र यस परिवारको कथाको पछिल्लो घटनाक्रम पुनः सार्वजनिक चर्चाको विषय बनेको छ।

समाचारहरूका अनुसार ब्राड पिटकी २१ वर्षीया छोरी जाहारा र २४ वर्षीय छोरा म्याडक्सले आफ्नो नामबाट ‘पिट’ हटाउन क्यालिफोर्नियाको अदालतमा निवेदन दिएका छन्। उनीहरू दुवैले व्यक्तिगत कारणले गर्दा यस्तो परिवर्तन गर्न चाहेको बताएका छन्। यदि अदालतले अनुमति दिएमा जाहाराको नाम केवल ‘जाहारा मार्ली जोली’ हुनेछ भने म्याडक्सले पनि आफ्नो नामबाट ‘पिट’ हटाउने छन्।

अमेरिकामा नाम परिवर्तन गर्ने एउटा निश्चित प्रक्रिया छ, जसमा पत्रिकामा सूचना प्रकाशित गर्नुपर्ने हुन्छ। जाहारा र म्याडक्सले यसै प्रक्रियाको पालना गरेका छन्। यदि तोकिएको समयभित्र कुनै आपत्ति जनाइएन भने अदालतले यस विषयमा अन्तिम फैसला सुनाउन सक्छ।

ब्राड पिट र एन्जेलिना जोलीले सन् २०१४ मा विवाह गरेका थिए तर सन् २०१६ मा उनीहरू अलग भए। सन् २०२४ मा उनीहरूको सम्बन्धविच्छेदको प्रक्रिया टुंगिए पनि फ्रान्सेली वाइनरी सम्बन्धी कानुनी लडाइँ भने अझै जारी छ। यसैबीच, छोरा छोरीहरूको यस निर्णयले फेरि एकपटक सबैको ध्यान उनीहरूको परिवारतर्फ तानेको छ।

ब्र्याड पिटका सन्तानले यस्तो कदम चालेको यो पहिलो पटक भने होइन। यसअघि उनकी छोरी शिलोले पनि आफ्नो नामबाट ‘पिट’ हटाउनका लागि निवेदन दिएकी थिइन्। त्यस्तै, उनकी अर्की छोरी भिभियनले पनि सन् २०२४ मा एउटा नाट्य प्रस्तुति अर्थात थिएटर शोका क्रममा आफ्नो नामसँगै केवल ‘जोली’ उपनाम प्रयोग गरेकी थिइन्। यस्ता घटनाहरू दोहोरिन थाले पछि परिवारभित्रको यो दरार कहिले अन्त्य होला भनेर मानिसहरूले चासोका साथ हेरिरहेका छन्।

जानकारीका लागि, ब्र्याड पिट र उनकी पूर्वपत्नी एन्जेलिना जोलीका ६ जना सन्तान छन्, म्याडक्स, प्याक्स, जाहारा, शिलो तथा जुम्ल्याहा सन्तान नक्स र भिभियन।