
काठमाडौं, २ साउन । ‘फकल्याण्ड ब्यानर प्रकरण’मा ह्वाइट हाउसले अर्जेन्टिनाको पक्षमा खुल्दै फुटबल टोलीमा अभिव्यक्ति स्वतन्त्रताको अधिकार रहेको भन्दै बचाउ गरेको छ।
इङ्गल्याण्ड विरुद्धको विश्वकपको सेमीफाइनल जितको खुसीयाली मनाउने क्रममा फकल्याण्ड टापुमाथि आफ्नो देशको क्षेत्रीय दाबीको समर्थनमा अर्जेन्टिनी खेलाडीहरू ब्यानर प्रदर्शन गरेको विवादित घटनामा ह्वाइट हाउसले ‘अभिब्यक्ति स्वतन्त्रा’ भन्दै बचाउ गरेको हो ।


राजनीतिक अभिव्यक्तिसम्बन्धी नियमहरूको उल्लंघन हुन सक्ने यस घटनाका कारण अर्जेन्टिनाले फिफाबाट सम्भावित अनुशासनात्मक कारबाहीको सामना गर्ने बिषय चलिरहेको बेला ह्ववाइट हाउसले यस्तो प्रारम्भिक प्रतिक्रिया दिएको हो ।

ब्यानर देखाएर अर्जेन्टियन खेलाडीहरूले गल्ती गरे कि गरेनन् भन्ने प्रश्नमा ह्वाइट हाउसको फिफा कार्यदलका प्रमुख एन्ड्र्यू जिलियानीले शुक्रबार भने, ‘टोलीसँग अमेरिकामा त्यस्ता अभिव्यक्ति दिने अवसर रहनेछ, अमेरिकामा यो पाइन्छ।’
यी टिप्पणीहरूले उक्त घटनालाई लिएर चलिरहेको विवादलाई अझ बढाउन सक्ने वीवीसीले जनाएको छ। यस घटनामा बेलायती प्रधानमन्त्रीको कार्यालय ‘डाउनिङ स्ट्रिट’ ले फिफाद्वारा छानबिन गरिनुपर्ने मागको समर्थन गरेको छ।

बुधबारको सेमिफाइनल खेलपछि अर्जेन्टिनाका खेलाडीहरूले ‘लस म्यालीभिनास सन अर्जेन्टिना’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए, जसको अर्थ ‘फकल्याण्ड्स अर्जेन्टिनाको हो’ भन्ने हुन्छ।
शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै जिलियानीले अमेरिकी संविधानमा रहेको अभिव्यक्ति स्वतन्त्रताको अधिकारको उल्लेख गर्दै भने, ‘हामी संयुक्त राज्य अमेरिकामा हाम्रो प्रथम संशोधन अन्तर्गतको अधिकारमा विश्वास गर्छौ।’

उता, बुधबारको जितपछि अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भिलारुएलले ‘एक्स’मा अर्जेन्टिनी सैनिकहरू जस्तो देखिने व्यक्तिहरूको भिडियोसहित ‘यो केवल अर्को एउटा खेल मात्र थिएन’ भनी पोस्ट गरेकी थिइन्।
फकल्यान्ड्स अर्जेन्टिनाको हो,’ भिलारुएलले पोस्ट गर्दै भनिन, ‘उनीहरूले यसलाई (फकल्यान्डसम्बन्धी प्रतीक वा झण्डालाई) रंगशालामा लैजान प्रतिबन्ध लगाए तर हामी यसलाई आफ्नो रगत र मुटुमा बोक्छौं भन्ने कुरा बिर्सिए।’
अन्तिम १६ को खेलमा इजिप्टमाथि ३–२ को रोमाञ्चक जित हासिल गरेपछि अर्जेन्टिनाका खेलाडीहरूले फकल्यान्ड्स तथा अर्जेन्टिनाका महान् खेलाडीहरू म्याराडोना र लियोनेल मेस्सीको नाम लिँदै गीत तथा नाराहरू पनि लगाएका थिए।
सन् २०१४ मा स्लोभेनियाविरुद्धको मैत्रीपूर्ण खेल अघि खेलाडीहरूले सोही सन्देशसहितको ब्यानर प्रदर्शन गरेपछि फिफाले अर्जेन्टिनी फुटबल संघलाई २० हजार पाउण्ड जरिवाना गरेको थियो। र, त्यो बेला विश्व फुटबलको सर्वोच्च निकायले उक्त कार्य राजनीतिक गतिविधि र टोलीको दुर्व्यवहारसम्बन्धी नियमहरूको उल्लंघन भएको जनाएको थियो।

विश्वकपको सेमिफाइनलमा इङ्गल्याण्डविरुद्धको जित मनाउने क्रममा ‘फकल्याण्ड ब्यानर प्रकरण’ भए पछि पछि अर्जेन्टिना माथी फिफाबाट अनुशासनात्मक कारबाहीको प्रकिया सुरू गरेको जनाएको छ ।
फिफाका प्रवक्ताले अल जजिरासँग कुरा गर्दै भने, ‘फिफाको स्वतन्त्र अनुशासन समिति हाल खेल प्रतिवेदन र सम्बन्धित परिस्थितिको मूल्याङ्कन गरिरहेको छ। त्यसपछि फिफाको अनुशासन संहिताअनुसार थप कदम चाल्ने वा नचाल्ने निर्णय गरिनेछ।’ उक्त ब्यानर खेलाडीहरू कहाँबाट ल्याए भन्ने स्पष्ट नभए पनि फिफाले राजनीतिक, वैचारिक, धार्मिक वा आपत्तिजनक सन्देश प्रदर्शन गर्न निषेध गर्ने आफ्नो अनुशासन संहिताअन्तर्गत अर्जेन्टिनाका खेलाडी तथा फुटबल महासंघमाथि कारबाही गर्न सक्ने जनाएको छ।
सन् २०१४ मा स्लोभेनियाविरुद्धको मैत्रीपूर्ण खेल अघि खेलाडीहरूले सोही सन्देशसहितको ब्यानर प्रदर्शन गरेपछि फिफाले अर्जेन्टिनी फुटबल संघलाई २० हजार पाउण्ड जरिवाना गरेको थियो। र, त्यो बेला विश्व फुटबलको सर्वोच्च निकायले उक्त कार्य राजनीतिक गतिविधि र टोलीको दुर्व्यवहारसम्बन्धी नियमहरूको उल्लंघन भएको जनाएको थियो।
खास के हो फकल्याण्ड युद्द ?

दक्षिण पश्चिम एट्लान्टिक महासागरमा अवस्थित भू-भाग ‘फकल्याण्ड्स’ बेलायत र अर्जेन्टिनाबीचको सार्वभौमिकतासम्बन्धी विवादको विषय बनिरहेको छ।
अर्जेन्टिनाको पूर्वी तटबाट ३०० माइल टाढा अवस्थित यी टापुहरूका लागि सन् १९८२ को अप्रिलदेखि जुन महिनासम्म यी दुई राष्ट्रबीच युद्ध भएको थियो। सन् १९८२ मा सो भू भागलाई लिएर बेलायत र अर्जेन्टिनाबीच छोटो तर तीतो युद्ध भएको थियो। फकल्यान्ड्समा आफ्नो भू–भाग भएको दाबी गर्दै त्यहाँ प्रवेश गरेका अर्जेन्टिनी सेनालाई बेलायती सैन्य टोलीले लखेटेको थियो।
७४ दिनसम्म चलेको उक्त द्वन्द्वमा २५५ जना बेलायती सैनिक, तीनजना स्थानीय बासिन्दा र ६४९ जना अर्जेन्टिनी सैनिकको ज्यान गएको थियो।
तर, सन् २०१३ मा फकल्यान्ड टापुका बासिन्दाहरूले भारी बहुमतका साथ बेलायतको ‘ओभरसिज टेरिटोरी’ अर्थात बेलायती अधिनस्थ क्षेत्रका रूपमा रहिरहने पक्षमा मतदान गरेका थिए। दुई दिनसम्म चलेको जनमत संग्रहमा ९० प्रतिशतभन्दा बढी मतदान भएको थियो, जसमा खसेको १ हजार ५१७ मतमध्ये १ हजार ५१३ मत पक्षमा र जम्मा तीन मत विपक्षमा परेकाे वीवीसीले जनाएकाे छ।




