‘द ओडिसी’ को असली शो विश्वका ४१ हलमा मात्रै हेर्न सकिने

लस एन्जलस, २ । ‘ओपेनहाइमर’ निर्देशक क्रिस्टोफर नोलन पुनः एकपटक चलचित्रको इतिहास रच्न तयार छन्।

उनको नयाँ चलचित्र ‘द ओडिसी’ जुलाई १७ मा विश्वभर प्रदर्शन भएकाे छ । होमरको प्रसिद्ध ग्रीक महाकाव्यमा आधारित यो चलचित्रले ट्रोजन युद्धपछि ओडिसियसले घर फर्कन गरेको यात्रालाई चित्रण गर्दछ। यसपटक नोलनले कथा वाचनको शैली मात्र नभई चलचित्र निर्माणको प्रविधिमा समेत नयाँ आयाम थपेका छन् । ‘द ओडिसी’ पूर्ण रूपमा ‘आइम्याक्स ७० एमएम क्यामेरावाट छायांकन गरिएको विश्वकै पहिलो फिचर फिल्म हो।

‘द ओडिसी’ को छायांकनका क्रममा २१ लाख फिट फिल्म प्रयोग गरिएको थियो। नोलनले नयाँ आइम्याक्स काइली फिल्म क्यामेराको पनि प्रयोग गरेका थिए। करिब २ घण्टा ५२ मिनेटको अवधि रहेको यस चलचित्रमा म्याट डेमन, टम हल्यान्ड, एनी ह्याथवे, जेन्डाया, रोबर्ट प्याटिन्सन र चार्लिज थेरोनको अभिनय रहेको छ।‘द ओडिसी’ लाई यसको वास्तविक स्वरूपमा अनुभव गर्न दर्शकहरूले केवल ४१ वटा सिनेमाघरहरूमा मात्र जानुपर्नेछ। यीमध्ये ३४ वटा सिनेमाघर अमेरिका र क्यानडामा छन् भने बाँकी विश्वमा जम्मा ७ वटा मात्र छन्—विशेष गरी बेलायतमा तीनवटा तथा अस्ट्रेलिया, बेल्जियम र चेक गणतन्त्रमा एउटा एउटा। अधिकांश आइम्याक्स थिएटर र मल्टिप्लेक्सहरूले यो चलचित्र डिजिटल वा क्रप गरिएको संस्करण प्रदर्शन गर्नेछन्।  केवल ती ४१ वटा छानिएका थिएटरहरूमा मात्र उपलब्ध हुनेछ।

नोलनले भनेका छन्, ‘आइम्याक्स ७० एमएम एउटा यस्तो ढाँचा हो, जसले दर्शकहरूलाई चलचित्रको पूर्ण अनुभव लिन सक्षम बनाउँछ। यसको प्रत्येक फ्रेममा १५ वटा छिद्रहरू हुन्छन् र पर्दा भुइँदेखि छानोसम्म भरिएको हुन्छ।’ यो चलचित्र विश्वका विभिन्न स्थानहरूमा छायाङ्कन गरिएको थियो, जसमा समुद्र, युद्धभूमि र प्राचीन ग्रीसका दृश्यहरू समावेश छन्।

 

क्रिस्टोफर नोलनको चलचित्र ‘द ओडिसी’ को बजेट २५० मिलियन डलर रहेको छ। चलचित्र क्षेत्रका विज्ञहरूको विश्वास छ कि नोलनका अघिल्ला चलचित्रहरू ‘ओपेनहाइमर’ र ‘टेनेट’ जस्तै ‘द ओडिसी’ ले पनि व्यावसायिक र आलोचनात्मक दुवै किसिमको सफलता हासिल गर्नेछ। यस चलचित्रको आम्दानीको ठूलो हिस्सा आइम्याक्स ७० एमएम स्क्रिनहरूबाट प्राप्त हुने अपेक्षा गरिएको छ।