
वासिंगटन डिसी, २ । उत्तर अमेरिकाभरका सहरहरूलाई ढाक्ने गरी फैलिएको डढेलोको धुवाँका कारण सजाय स्वरूप क्यानडामाथि थप भन्सार शुल्क लगाउने चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका छन्।
क्यानडाका अधिकारीहरूले देशभरका ८९६ सक्रिय डढेलो नियन्त्रणको प्रयास गरिरहँदा शुक्रबार ट्रम्पले सामाजिक सञ्जालमार्फत त्यहाँको वायुको गुणस्तर बारे गुनासो गरेका हुन्।

ओन्टारियो प्रान्तमा करिब २०० स्थानमा आगलागी भइरहेको छ, जसमध्ये ८१ वटा अझै नियन्त्रण बाहिर रहेको प्रिमियर डग फोर्डले बताएका छन्। यद्यपि, ट्रम्पले यी आगलागीका लागि क्यानडाको प्रशासनलाई दोष दिएका छन्।
आफ्ना जंगल र झाडीहरूको उचित रेखदेख नगरेकोमा हामी क्यानडालाई जिम्मेवार ठान्छौं,’ ट्रम्पले लेखेका छन्, ‘अमेरिकामा फोहोर, प्रदूषित र अस्वस्थकर हावाको अनावश्यक आक्रमण भइरहेको छ, यसको गुणस्तर खतरनाक र पूर्ण रूपमा अस्वीकार्य छ।’


क्यानडाली नेताको सरकार माथि लापरबाहीको आरोप लगाउँदै उनले प्रधानमन्त्री मार्क कार्नीसँग कुरा गर्ने जनाएका छन्। ‘यसको लागतको हिसाब गर्नै सकिँदैन,’ ट्रम्पले थपे। उनले यो खर्च अमेरिकातर्फ हुने क्यानडाली निर्यातमा लगाइएका विद्यमान भन्सार शुल्कमा थपिने बताए।

यो पोस्ट अमेरिकी राष्ट्रपतिले विदेशी राष्ट्रहरूसँग विभिन्न मागहरू पूरा गराउन भन्सार शुल्क बढाउने धम्कीको प्रयोग गरेको पछिल्लो उदाहरण हो।
जनवरी २०२५ मा दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्किएयता ट्रम्पले क्यानडामाथि दबाब बढाइरहेका छन्। उनले सीमा सुरक्षा बढाउन र आफूले अनुचित ठानेका व्यापारिक अभ्यासहरू परिवर्तन गर्न क्यानडालाई बाध्य पार्ने माध्यमका रूपमा भन्सार शुल्कको प्रयोग गरेका छन्। त्यसो त ट्रम्पले क्यानडालाई आफ्नो सार्वभौमिकता त्यागेर अमेरिकाको ‘५१औं’ राज्य बन्न पनि दबाब दिइरहेका छन् ।

वैज्ञानिकहरूले भने उत्तर अमेरिकाभरि डढेलो फैलिनुमा जलवायु परिवर्तनका कारण अझ खराब बनेको गर्मी र सुख्खा मौसमलगायत विभिन्न कारकहरूलाई जिम्मेवार ठहर्याएका छन्।
तर दक्षिणपन्थी विचारधाराका ट्रम्पले भने शक्तिशाली डढेलो लाग्दा त्यसको व्यवस्थापनमा भएको कमजोरीका लागि बारम्बार वामपन्थी र मध्यमार्गी राजनीतिज्ञहरूलाई दोष दिने गरेका छन्।
उदाहरणका लागि सन् २०२५ मा लस एन्जलस सहर वरपर डढेलो नियन्त्रणको प्रयास भइरहँदा ट्रम्पले क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमको बारम्बार आलोचना गरेका थिए। उनले डढेलोबाट भएको विनाशका लागि राज्यको जल व्यवस्थापन सम्बन्धी नीति र लोपोन्मुख प्रजातिहरूको संरक्षण सम्बन्धी नियमहरूलाई दोष दिएका थिए।


‘म यो अक्षम गभर्नरले सुन्दर, सफा र ताजा पानी क्यालिफोर्नियामा बग्न दिऊन् भनी माग गर्नेछु, यसका लागि उनी नै जिम्मेवार छन्,’ ट्रम्पले त्यसबेला लेखेका थिए । यद्यपि विज्ञहरूका अनुसार उनका आरोपहरूको खासै तथ्यगत आधार थिएन। आफ्नो पहिलो कार्यकालमा पनि ट्रम्पले क्यालिफोर्नियाको आलोचना गर्दै डढेलो रोक्न राज्यले जंगलको भुइँ सफा राख्नुपर्ने अर्थात पातपतिंगर सोहोर्नुपर्ने बताएका थिए। ‘मैले भनेको थिएँ, तपाईंहरूले भुइँ सफा गर्नुपर्छ। तपाईंहरूले जंगल सफा गर्नुपर्छ,’ ट्रम्पले सन् २०२० को एक चुनावी सभामा भनेका थिए।
वैज्ञानिकहरूका अनुसार ठूला डढेलो लाग्नुमा धेरै कारकहरू जिम्मेवार हुन सक्छन्, जस्तै—बढ्दो गर्मी, खडेरी र आगोसम्बन्धी अत्यधिक कडा नीतिहरू, जसले प्राकृतिक रूपमा लाग्ने आगोलाई रोक्छन् र फलस्वरूप जंगलमा झाडी तथा सुकेका वनस्पतिहरूको अत्यधिक वृद्धि हुन्छ।
जंगल र सहरी क्षेत्र जोडिने वा मिसिने स्थानहरूमा बसोबास गर्ने मानिसहरूको संख्या बढ्दै जाँदा पनि डढेलोबाट हुने क्षतिको जोखिम बढेको छ।




