
अनिल नेपाली / अर्घाखाँची डटकम
अर्घाखाँची, साउन २ । अर्घाखाँचीका विभिन्न गाउँ तथा नगरका बस्तीमा पछिल्लो समय जङ्गली बँदेलको आतंक बढ्दै गएको छ। आहाराको खोजीमा वन क्षेत्रबाट गाउँबस्ती पसेका बँदेलका झुन्डले मकैबालीमा ठूलो क्षति पुर्याउन थालेपछि किसान चिन्तित बनेका छन्। विशेषगरी मकै पाक्न थालेको समयमा बँदेलले रातको समयमा खेतबारीमा प्रवेश गरी बोट नै उखेलेर नष्ट गर्न थालेपछि किसानको वर्षभरिको मेहनत जोखिममा परेको छ।


सन्धिखर्क नगरपालिका–७ का स्थानीय कृषक बाबुराम थापाका अनुसार यस वर्ष बँदेलको आतंकका कारण करिब दुई सय रोपनी क्षेत्रफलमा लगाइएको मकैबालीमा ठूलो क्षति पुगेको छ। उहाँले राति समूहमा आउने बँदेलले मकै खाने मात्र नभई बोट नै भाँच्ने र उखेलेर बाली पूर्ण रूपमा नष्ट गर्ने गरेको बताउनुभयो।

“हामीले धेरै मेहनत गरेर मकै लगाएका थियौँ। तर रातको समयमा बँदेल बारीमा पसेर सबै मकै सखाप पारिदिन्छ। अब घरखर्च कसरी चलाउने भन्ने चिन्ताले सताएको छ,” कृषक थापाले भन्नुभयो।
उहाँका अनुसार बँदेलको आतंक यति बढेको छ कि किसानहरू रातभर खेतबारीमै जाग्राम बस्न बाध्य भएका छन्। बँदेल धपाउन आगो बाल्ने, ड्रम पिट्ने, कराउने, टर्च बाल्ने लगायतका उपाय अपनाए पनि प्रभावकारी हुन सकेको छैन। ठूलो झुन्डमा आउने बँदेल आक्रामक हुने भएकाले किसानहरू स्वयं पनि असुरक्षित महसुस गरिरहेका छन्।

स्थानीय कृषकहरूका अनुसार बँदेलको समस्या नयाँ नभए पनि पछिल्ला केही वर्षयता यसको संख्या उल्लेख्य रूपमा बढेको छ। वन क्षेत्रमा आहाराको अभाव, बस्ती नजिकै वन क्षेत्र फैलिनु तथा वन्यजन्तुको प्राकृतिक बासस्थानमा परिवर्तन आउनुले बँदेल गाउँतर्फ आकर्षित भएको हुन सक्ने स्थानीयको अनुमान छ।


बालीमा भइरहेको क्षतिबारे स्थानीय तहलाई पटक–पटक जानकारी गराइए पनि दीर्घकालीन समाधान हुन नसकेको किसानहरूको गुनासो छ। बाली जोगाउन किसान आफैंले रातभर पहरा दिनुपर्ने अवस्था बनेको उनीहरू बताउँछन्।
यस विषयमा सन्धिखर्क नगरपालिका–७ का वडाध्यक्ष चुरा बहादुर केसीले बँदेलका कारण किसानले भोगिरहेको समस्या गम्भीर रहेको स्वीकार गर्दै स्थानीय सरकार समस्या समाधानका लागि आवश्यक पहलमा जुटिरहेको बताउनुभयो।
उहाँका अनुसार बँदेल नियन्त्रण तथा किसानको बाली संरक्षणका लागि विभिन्न विकल्पबारे छलफल भइरहेको छ। सम्बन्धित निकायसँग समन्वय गरी दीर्घकालीन समाधान खोज्ने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो।
कृषकहरूले भने बँदेल नियन्त्रणका लागि प्रभावकारी योजना, बाली क्षतिको उचित क्षतिपूर्ति, विद्युतीय वा सुरक्षित बार, आधुनिक प्रविधिको प्रयोग तथा सम्बन्धित निकायको सक्रिय हस्तक्षेपको माग गरेका छन्।

कृषिमा निर्भर अर्घाखाँचीका अधिकांश परिवारका लागि मकै मुख्य खाद्यान्न तथा आयआर्जनको आधार हो। यस्ता अवस्थामा जङ्गली बँदेलको बढ्दो आतंकले किसानको आर्थिक अवस्था मात्र होइन, खाद्य सुरक्षामा समेत चुनौती थपिएको स्थानीयको भनाइ छ। समयमै प्रभावकारी कदम नचालिए आगामी दिनमा किसानको कृषि पेशाप्रतिको आकर्षणसमेत घट्न सक्ने चिन्ता व्यक्त गरिएको छ।




