म्याग्दी मालिकाको बिम गाउँमा पाथीभरा माताको मन्दिर स्थापना

काठमाडौँ। म्याग्दी मालिका गाउँपालिका-७ बिम गाउँमा पाथीभरा देवीको मन्दिर स्थापना भएको छ। पाथीभरा आयुर्वेद अस्पताल काठमाडौँका चिकित्सक बीपी तिम्सिनाको अगुवाइमा मन्दिर स्थापना भएको हो।

उक्त ठाउँको ‘गुरुचेला धुरी’को नाममा चर्चित डाँडामा तिम्सिनाले पाथीभरा मन्दिर स्थापना गरेका हुन्। उक्त मन्दिर असार २५ देखि सञ्चालनमा आएको छ। २६ असारमा प्राढप्रतिष्ठा र २७ गते विशेष पुजा ‘हवन’ गरी मन्दिर सञ्चालनमा आएको मन्दिरका वास्तुविद कृष्ण पौडेलले बताए।

“स्वर्थद्वारी महाप्रभु कपिलानन्द गएर साधना गरेको ठाउँ भएकाले प्रभुचेला धुरी भनेर चर्चित ठाउँ रहेछ,” उनी भन्छन्, “पाथीभरा माताको मन्दिर स्थापना गर्ने डा. सा’बको इच्छा थियो, पूरा भएको छ।”

पाथीभरा मन्दिर पूर्वको ताप्लेजुङ जिल्लामा चर्चित छ। पश्चिमका जनताले पाथीभरा मन्दिरको दर्शन गर्न पूर्व जाँदा निकै लामो दूरी तय गर्नुपर्ने अवस्था छ। पश्चिमका जनताले पनि पाथीभरा माताको दर्शन गर्न पाउन् भन्ने उद्देश्यले मन्दिर स्थापना गरिएको पौडेलले बताए।

“पूर्वमा पाथीभरा माता जसरी बिराजमान हुनुहुन्छ, त्यही शैलीमा स्थापना गरिएको छ, पञ्चधातु मिसाएर मूर्ति बनेको छ,” उनी भन्छन्, “पश्चिममा पाथीभरा मन्दिर दर्शन गर्ने मानिसहरूको मनको रहर पूरा भएको छ।”

प्राण प्रतिष्ठाको मुख्य कर्ता डा. तिम्सिना थिए। उनकै व्यक्तिगत लागतमा मन्दिर निर्माण भएको थियो। उनले प्राणप्रतिष्ठापछि मन्दिरको रेखदेख म्याग्दीबासीमै समर्पण गरेका छन्।