भारतको पश्चिम बंगालमा रेलको ठक्करबाट तीन बालबालिकासहित चार जनाको मृत्यु

भारतको पश्चिम बंगाल राज्यको मुर्शिदाबाद जिल्लामा एउटा यात्रुवाहक रेलले विद्यालयको भ्यान र साइकलयात्रीलाई ठक्कर दिँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । प्रहरीकाअनुसार पश्चिम बंगालको राजधानी कोलकाताबाट करिव २१५ किलोमिटर उत्तरमा पर्ने कर्णसुवर्ण स्टेसन नजिकैको गोविन्दपुर रेलवे गेटमा सो दुर्घटना भएको हो ।

एउटा एक्सप्रेस रेल पार भएलगत्तै रेलवे क्रसिङको गेट खोलिएको भएपनि सोही समयमा अर्को यात्रुवाहक रेल आउने तालिका रहेको थियो ।

गेट समयभन्दा अगाडि नै खोलिएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । क्रसिङ खुला देखेपछि विद्यार्थी बोकेको भ्यान र एक साइकलयात्रीले ट्रयाक पार गर्न खोज्दा तीव्र गतिमा आएको स्थानीय रेलले उनीहरूलाई ठक्कर दिएको थियो । कर्तव्यमा लापरवाही गरेको आरोपमा रेलवे क्रसिङका गेटम्यानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साथै, दुर्घटनाको गम्भीरतालाई ध्यानमा राख्दै घटनाको विस्तृत अनुसन्धानका लागि १० सदस्यीय उच्चस्तरीय रेलवे टोली गठन गरिएको छ ।