
काठमाडौँ । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले अमेरिकाले हालै भएको शान्ति सम्झौताको उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षरको कुनै विश्वसनीयता नरहेको बताएका छन् ।
राष्ट्रका नाममा जारी सन्देशमा उनले अमेरिकाले सम्झौता तोडेर आफ्नो वास्तविक चरित्र उजागर गरेको दाबी गरेका छन् । उनका अनुसार अमेरिकाको व्यवहार झुट, अविश्वसनीय र अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत रहेको अर्को प्रमाणका रूपमा देखिएको छ ।

खामेनीले अमेरिकाले युद्ध भड्काउने प्रयास जारी राखे त्यसको गम्भीर मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिएका छन् । उनले अमेरिकी आक्रमण निरन्तर भए इरान र उसका सहयोगी शक्तिले अमेरिकालाई कहिल्यै नबिर्सने गरी जवाफ दिने बताएका छन् ।


जुन १८ मा इरानका राष्ट्रपति मसुद पेजेशकियान र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको शान्ति सम्झौताअनुसार दुवै देशले ६० दिनभित्र अन्तिम सम्झौताका लागि वार्ता गर्ने सहमति गरेका थिए। तर पछिल्ला घटनाक्रमसँगै दुवै देशबीचको तनाव फेरि चुलिएको छ ।
यता इरानका कानुनी तथा अन्तर्राष्ट्रिय मामिला हेर्ने उपविदेशमन्त्री काजेम गरिबाबादीले इरानले उक्त सम्झौताअन्तर्गतका आफ्ना सबै दायित्व कार्यान्वयन गर्न रोकिएको घोषणा गरेका छन् । सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा उनले अमेरिकाले आफ्ना सबै प्रतिबद्धता तोडेको आरोप लगाउँदै अब वार्ताको सम्भावना समाप्त भएको र इरानको सम्पूर्ण ध्यान राष्ट्रिय सुरक्षामा केन्द्रित रहेको बताएका छन् ।

उनले अमेरिकी आक्रमणको कडा जवाफ दिइसकिएको दाबी गर्दै अमेरिका थप तनाव बढाउने बाटो छाडेर विवेकपूर्ण निर्णय गर्नुपर्ने बताएका छन् ।
पछिल्लो एक सातामा अमेरिकाले इरानका दक्षिणी क्षेत्रमा रहेका सैन्य अड्डा र पूर्वाधारमा पटक–पटक हवाई आक्रमण गरेको छ। अमेरिकाले ती आक्रमण होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने व्यापारिक जहाजको सुरक्षाका लागि गरिएको जनाएको छ ।

यसको प्रत्युत्तरमा इरानले खाडी क्षेत्रका केही देश र जोर्डनस्थित अमेरिकी सैन्य अड्डाहरूलाई क्षेप्यास्त्र र मानवरहित विमानमार्फत आक्रमण गरेको जनाएको छ। शनिबार कुवेत र बहराइनले आफ्ना हवाई प्रतिरक्षा प्रणालीले इरानी आक्रमणलाई निष्क्रिय पारेको बताएका छन्। ती आक्रमणका कारण कुवेतको एक प्रमुख तेल केन्द्र तथा विद्युत् उत्पादन र समुद्री पानी प्रशोधन केन्द्रमा क्षति पुगेको जनाइएको छ।




