
काठमाडौं, ०३ साउन । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२÷८३ मा नाफादेखि व्यवसाय विस्तारसम्म अधिकांश वित्तीय सूचकमा उल्लेखनीय सुधार गर्दै आफ्नो वित्तीय अवस्था थप सुदृढ बनाएको छ। सार्वजनिक गरिएको अपरिष्कृत वार्षिक वित्तीय विवरणअनुसार बैंकको खुद नाफा एक वर्षमै ३३.५१ प्रतिशतले वृद्धि भई ८९ करोड ४१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले ६६ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
नाफासँगै बैंकको सञ्चालन मुनाफामा पनि उल्लेखनीय सुधार देखिएको छ। समीक्षा अवधिमा सञ्चालन मुनाफा ३२.८७ प्रतिशतले बढेर १ अर्ब ३८ करोड २५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद ब्याज आम्दानी ३.९८ प्रतिशतले वृद्धि भई २ अर्ब ४१ करोड ८ लाख रुपैयाँ कायम भएको छ।


बैंकको वितरणयोग्य मुनाफा ६० करोड ११ लाख रुपैयाँ पुगेको छ, जसका आधारमा हालसम्म करिब १५.१६ प्रतिशत लाभांश वितरण गर्ने क्षमता देखिएको छ। रिटेन्ड अर्निङ ६० करोड ११ लाख रुपैयाँ तथा जगेडा कोष २ अर्ब १४ करोड १३ लाख रुपैयाँ पुगेको छ, जुन दुवै अघिल्लो वर्षको तुलनामा बढेका हुन्।

व्यवसाय विस्तारतर्फ पनि बैंकले प्रगति गरेको देखिएको छ। गत आर्थिक वर्षमा बैंकले ६६ अर्ब १७ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गर्दै ५४ अर्ब २१ करोड १ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। दुवै सूचक अघिल्लो वर्षभन्दा उच्च रहेका छन्।
यस अवधिमा बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) २०.७५ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७१.०१ रुपैयाँ कायम भएको छ। पीई रेसियो २०.८४ गुणा रहेको वित्तीय विवरणले बैंकको समग्र वित्तीय प्रदर्शन सकारात्मक दिशामा अघि बढिरहेको संकेत गरेको छ।





