
काठमाडौँ । फिफा विश्वकप फुटबलको फाइनलअघि अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले आफ्ना टोलीका खेलाडी र समर्थकलाई लक्षित गर्दै भावुक सन्देश सार्वजनिक गरेका छन् ।
स्पेनसँगको उपाधि भिडन्तअघि उनले सामाजिक सञ्जालमार्फत टोलीसँग बिताएका अविस्मरणीय क्षण नै आफ्नो जीवनको सबैभन्दा ठूलो उपलब्धि भएको बताएका छन् । मेसीले अर्जेन्टिना टोली र सहयोगी सदस्यहरूसँगको सामूहिक तस्बिर साझा गर्दै वर्षौँको यात्रामा उपाधिभन्दा पनि टोलीसँग बिताएका हरेक पल, कठिन समयमा एकअर्कालाई दिएको साथ र साझा संघर्ष आफ्नो लागि सबैभन्दा अमूल्य रहेको उल्लेख गरेका छन् ।

उनले प्रशिक्षक, खेलाडी तथा टोलीसँग आबद्ध सबै सदस्यप्रति आभार व्यक्त गर्दै नतिजा जे आए पनि अर्जेन्टिनाले विश्व फुटबलमा कसैले मेटाउन नसक्ने इतिहास लेखिसकेको बताएका छन् । सन्देशको अन्त्यमा उनले ‘आऊ अर्जेन्टिना’ भन्दै टोलीलाई हौसला दिएका छन् ।


उनले भनेका छन्- ‘यी सबै वर्षहरूमा सबैभन्दा सुन्दर कुरा केवल उपाधिहरू जित्नु मात्रै थिएन, त्यो सम्पूर्ण यात्रा थियो । यो समूहसँग हरेक दिन बिताउनु, सँगै प्रतिस्पर्धा गर्नु, कठिन समयमा एकअर्कालाई उठाउन साथ दिनु र यात्राको हरेक क्षणको आनन्द लिनु नै सबैभन्दा विशेष रह्यो । मेरा प्रत्येक सहकर्मी खेलाडी, प्रशिक्षक टोली तथा यो राष्ट्रिय टोलीलाई सधैँ एउटा परिवारका रूपमा अघि बढाउन दिनहुँ समर्पित भएर काम गर्ने सबैप्रति हार्दिक धन्यवाद । भोलि जे भए पनि, यो समूहले यस्तो इतिहास लेखिसकेको छ, जसलाई हामी कहिल्यै बिर्सने छैनौँ र कसैले पनि मेटाउन सक्ने छैन ।’
मेसीको सन्देशलाई उनको अन्तर्राष्ट्रिय फुटबल यात्राको अन्तिम अध्यायतर्फको संकेतका रूपमा पनि हेरिएको छ । फिफा विश्वकप २०२६ को फाइनल उनको अन्तिम विश्वकप खेल हुन सक्ने व्यापक अनुमान गरिएको छ भने यससँगै उनले अन्तर्राष्ट्रिय फुटबलबाट पनि विश्राम लिन सक्ने चर्चा चलिरहेको छ । यद्यपि, उनले आफ्नो भविष्यबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

उनले अहिले आफ्नो सम्पूर्ण ध्यान फाइनल खेलमा केन्द्रित रहेको बताउँदै इङ्ग्ल्यान्डविरुद्धको सेमिफाइनल जितले अर्जेन्टिनाका समर्थकलाई खुसी दिने अवसर मिलेको उल्लेख गरेका छन् ।
मेसी व्यक्तिगत उपलब्धिको दौडमा पनि छन् । सर्वाधिक गोलकर्तालाई प्रदान गरिने सम्मानका लागि उनको प्रतिस्पर्धा जारी रहे पनि उनको मुख्य लक्ष्य अर्जेन्टिनालाई अर्को ऐतिहासिक विश्वकप उपाधि दिलाउनु रहेको जनाइएको छ।





