
माेरङ, ३ साउन । उर्लाबारी – ५ स्थित एक घरमा दुई महिनाअघि भएको चोरीमा संलग्न चार जनालाई उर्लाबारी प्रहरीले पक्राउ गरेको छ ।
गत वैशाख ६ गते हेमा खड्का (पाण्डे) को घरमा चोरी भएको थियो । सो घटनामा सुन, चाँदीका गरगहना, नगद तथा मोबाइल चोरी भएको थियो । सो घटना भएको करिव दुई महिनापछि उर्लाबारी प्रहरीले अनुसन्धानमा सफलता हात पारेको छ ।

सो घटनाको अनुसन्धानका क्रममा दमक-९ घर भई हाल उर्लाबारी- ६ मा डेरागरी बस्ने ३८ वर्षिय तेजु कुमार शाह ,दमक- १० का ४० वर्षिय अम्बर राना मगर, दमक- ३ का ५५ वर्षिय गणेश राजवंशी र रामधुनी नगरपालिका वडा नम्बर १ का ४६ वर्षिय राम कुमार विश्वकर्मालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।


प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट १ लाख ८ हजारभन्दा बढी नगद, चोरीसँग सम्बन्धित चाँदीका विभिन्न गरगहना, तथा चोरीमा प्रयोग भएको आशंका गरिएका केही औजारहरू बरामद गरेको जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा चोरी गरिएका केही गरगहना सुनसरीको रामधुनीस्थित एक सुनचाँदी पसलमा बिक्री गरिएको खुलेपछि प्रहरीले सम्बन्धित पसलका सञ्चालकलाई पनि झण्डै २ केजी रिफाइन गरिएको चाँदीसहित नियन्त्रणमा लिएको छ।

प्रहरीले अनुसन्धानको क्रममा विश्वकर्मालाई निजको पसलबाट चाँदीको जस्तो देखिने सेतो धातुको स-साना दाना (रिफाइन गरेको) जम्मा १ हजार ९ सय ९७ ग्राम चाँदी सहित इप्रका पकली सुनसरीको प्रहरी टोलीसँग समन्वय गरी नियत्रणमा लिएको थियो ।
इलाका प्रहरी कार्यालय उर्लाबारीकी इन्चार्ज प्रहरी निरिक्षक नविन ओलीकाअनुसार पक्राउ परेका व्यक्तिहरूविरुद्ध मोरङ जिल्ला अदालतबाट म्याद थप गरी चोरी मुद्दामा थप अनुसन्धान भइरहेको छ। उनीहरुलाई गत बुधबार अदालतबाट ६ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको उनले बताइन् ।

प्रारम्भिक बयानका क्रममा उनीहरूले दमकमा भएको सुनचाँदी पसल चोरीमा समेत संलग्न रहेको स्वीकार गरेको प्रहरी निरीक्षक ओलीले जानकारी दिइन्।
यसैबीच प्रहरी नीरीक्षक ओलीले उर्लाबारीको अनुसन्धानपश्चात उनीहरुलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दमकमा बुझाइने जानकारी दिइन् ।




