
सञ्जय मिश्रा
रौतहट, ३ साउन। मनसुनजन्य वर्षा निरन्तर भइरहेका बेला बागमती नदीमा सम्भावित बाढी र कटानको जोखिमलाई मध्यनजर गर्दै उच्चस्तरीय सरकारी टोलीले रौतहट–सर्लाही सीमावर्ती क्षेत्रको स्थलगत निरीक्षण गरेको छ।

प्रतिनिधिसभा सदस्य राजेश चौधरी, संविधानसभा सदस्य बबन सिंह, रौतहटका सिडियो दिनेश सागर भुसाल, प्रहरी प्रमुख एसपी सिताराम रिजाल, नेपाली सेनाका कर्णेल विश्वास बिष्ट, विभिन्न सुरक्षा निकायका अधिकारी, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष सञ्जय कार्की, स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागितामा गढीमाई नगरपालिकाको धर्मपुर पुलदेखि सर्लाहीको मैनाथपुर हुँदै सीमावर्ती क्षेत्रसम्म अनुगमन गरिएको हो।
टोलीले नदीको बहाव, तटबन्धको मजबुती, सम्भावित कटान क्षेत्र तथा बाढीको उच्च जोखिममा रहेका बस्तीहरूको अवस्था नजिकबाट अवलोकन गरेको थियो। निरीक्षणपछि सम्बन्धित निकायलाई सम्भावित विपद्को सामना गर्न आवश्यक जनशक्ति, उद्धार सामग्री र राहत व्यवस्थापनलाई पूर्वतयारी अवस्थामा राख्न निर्देशन दिइएको जनाइएको छ।


सिडियो भुसालले बाढीको जोखिमलाई हल्का रूपमा नलिन आग्रह गर्दै नदी आसपासका नागरिकलाई प्रशासनबाट जारी हुने आधिकारिक सूचना र चेतावनीको पालना गर्न अनुरोध गरेका छन्। कुनै पनि असामान्य अवस्था देखिए तत्काल स्थानीय प्रशासन वा सुरक्षा निकायलाई खबर गर्न पनि उनले आग्रह गरेका छन्।

बागमती नदी वर्षेनी रौतहट र सर्लाहीका हजारौं परिवारका लागि चिन्ताको विषय बन्ने गरेको छ। नदीमा पानीको सतह बढेसँगै डुबान र कटानको जोखिम बढ्ने भएकाले समयमै गरिएको यस्तो संयुक्त अनुगमनलाई विपद् व्यवस्थापनको महत्वपूर्ण तयारीका रूपमा हेरिएको छ। स्थानीय बासिन्दाले भने तटबन्धको प्रभावकारी संरक्षण, जोखिमयुक्त स्थानमा तत्काल मर्मत तथा पूर्वसूचना प्रणालीलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।





