संस्थापन इतर पक्षले भन्यो–नेपाली काँग्रेसभित्रको आन्तरिक मेलमिलाप प्रयास विफल

नेपाली काँग्रेसभित्रको आन्तरिक विवाद समाधानका लागि भइरहेका वार्ता र संवादहरू निष्कर्षविहीन भएपछि संस्थापन इतर पक्षले नयाँ कार्यदिशा तय गर्न राष्ट्रिय भेलाको आयोजना गर्ने भएको छ ।
आईतवार चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा इतर पक्षका नेता मिन विश्वकर्माले पार्टीको संस्थापन पक्षसँगको संवाद सार्थक र उपलब्धिमूलक हुन नसकेको जानकारी दिनुभएको हो ।

नेता विश्वकर्माकाअनुसार पार्टीभित्र एकता कायम गर्न पटक–पटक छलफल भएपनि नेतृत्व तहबाट आवश्यक लचकता र तत्परता नदेखिँदा सहमति जुट्न सकेको छैन ।

पार्टी नेतृत्व (सानेपा कार्यालय) मा अधिकार केन्द्रित रहेको र त्यहाँबाट समस्या समाधानका लागि पर्याप्त धैर्यता, सहनशीलता र तत्परता प्रदर्शन नगरिएको आरोप इतर पक्षले लगाएको छ । संवादहीनताको अवस्था लम्बिँदै गएकाले अब अलमलमा नबसी नयाँ ढङ्गले अगाडि बढ्न राष्ट्रिय भेलाको विकल्प रोजिएको उहाँले प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘झगडा कहिले अन्त्य हुन्छ भन्ने निश्चित हुँदैन, तर मेलमिलापको आशा भने सधैं रहन्छ । यही विश्वासका साथ वार्ता र छलफल निरन्तर भइरहेका छन् । तर आजसम्म ती छलफल सार्थक र उपलब्धिमूलक हुन सकेका छैनन् । त्यसैले एकताको सम्भावना कमजोर बन्दै गएको निष्कर्षमा हामी पुगेका छौँ । अब केवल प्रतीक्षामा नबसी नयाँ कार्यदिशातर्फ अघि बढ्न राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय गरेका छौँ । यद्यपि, बीपी स्मृति दिवस भने विगतझैँ निरन्तर मनाइनेछ । हाल हामी सम्पर्क कार्यालयबाट गतिविधि सञ्चालन गरिरहेका छौँ र यसलाई निरन्तरता दिनेछौँ । तर सानेपास्थित पार्टी कार्यालय नेतृत्वबाट आवश्यक लचकता, धैर्यता, सहनशीलता र सकारात्मक पहल नदेखिएकै कारण एकताको प्रक्रिया कमजोर बनेको हाम्रो निष्कर्ष छ ।’

इतर पक्षले आगामी साउन ६ गते पर्ने वीपी स्मृति दिवसलाई विगतमा झैँ निरन्तरता दिँदै मनाउने निर्णय गरेको छ । हाल सम्पर्क कार्यालयमार्फत आफ्ना गतिविधि सञ्चालन गरिरहेको यो समूहले आफ्ना एजेण्डाहरूलाई थप सशक्त रूपमा अगाडि बढाउने बताएको छ ।