
काठमाडौँ। नेपाली कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सारेको छ। सम्पर्क कार्यालय चुनदेवीमा आइतबार पत्रकार सम्मेलन गर्दै उक्त समूहले एकताका पाँच बुँदा सार्वजनिक गरेको हो।
नेता मीनबहादुर विश्वकर्माले पत्रकार सम्मेलनमा ती पाँच बुँदा सार्वजनिक गरे। पहिलो बुँदामा देउवा समूहले चौधौँ महाधिवेशन कार्यसमितिका पदाधिकारी, सदस्यहरूलाई विशेष महाधिवेशनको कार्यसमितिसँगै मिलाएर केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनुपर्ने उल्लेख गरेको छ।

दोस्रो बुँदामा सभापति गगन थापाको बहुमत रहने गरी कार्यसम्पादन समिति निर्माण, तेस्रो बुँदामा पुनर्गठित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले पन्ध्रौँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने प्रस्ताव ल्याइएको छ।
यस्तै, वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी महाधिवेशनसँग सम्बन्धित विभिन्न समिति बनाउनु पर्ने चौथो बुँदामा प्रस्ताव छ।


पाँचौँ बुँदामा महाधिवेशनको लागि पार्टीको महत्वपूर्ण आधार क्रियाशील सदस्यता भएकाले पार्टीभित्र विवाद हुनुपहिले नै थापा संयोजक रहेको समितिले टुंग्याएका सबै क्रियाशील सदस्यलाई स्वत: पन्ध्रौँ महाधिवेशनमा सहभागी हुन पाउने व्यवस्था गर्नुपर्ने उल्लेख छ। त्यस्ता सदस्यको डिजिटल इन्ट्री गर्दै जाने र डिजिटल इन्ट्रीलाई पुन: नवीकरण भनी महाधिवेशनमा भाग लिन नपाउने विषयसँग नजोड्नुपर्ने देउवा समूहको प्रस्ताव छ।

नेता विश्वकर्माले पार्टी एकताका लागि अधिकतम् लचकता अपनाउँदै बुँदा सार्वजनिक गरिएको बताए। “हामी पार्टी एकताका लागि हदैसम्मको लचकता अपनाउँछौँ, त्यसमा केही गुमाउन र केही अपनाउन तयार छौँ,” उनले भने।
पत्रकार सम्मेलनमा नेताहरू कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला, प्रकाशशरण महतलगायत उपस्थित थिए। पत्रकार सम्मेलनमा उक्त समूहले ६ साउनमा ४४औं बीपी स्मृति दिवसको आवश्यक तयारीबारे जानकारी दिएको छ। समूहले ६ साउनमा प्रज्ञा प्रतिष्ठानमा बीपी स्मृति दिवस मनाउने र त्यहीँबाट राष्ट्रिय भेलाको घोषणा गर्ने जनाएको छ।

यता, संस्थापन पक्ष समूहले पनि बीपी स्मृति दिवस मनाउनेबारे सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराउने भएको छ।
२७ पुस २०८२ मा विशेष महाधिवेशनबाट थापा नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो। उक्त समितिलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले मान्यता दिएको थियो। विशेष महाधिवेशनमा सहभागी नभएको देउवा समूह र मध्यमार्गी नेता शेखर कोइराला समूहले पार्टी एकताका लागि नेतृत्वले पहल नगरेको आरोप लगाएको छ। दुबै समूह विशेष महाधिवेशन पक्षले पन्ध्रौँ महाधिवेशनको तयारी थालेपछि सदस्यता अद्यावधिकलगायत विषयमा असहमति राख्दै आएको छ।




