वर्षायाममा बाथरुमबाट दुर्गन्ध आयो ? यी घरेलु ४ चीजले गर्नुहोस् सफा

काठमाडौं, ४ साउन । वर्षायामले गर्मीबाट राहत त दिन्छ तर यसले घरभित्र ओसिलोपन, चिस्यान र दुर्गन्धजस्ता समस्याहरू पनि निम्त्याउँछ।

यसको असर विशेषगरी बाथरुममा देखिन्छ, जहाँ ढल वा निकासबाट आउने दुर्गन्धले पूरै घरको वातावरण बिगार्न सक्छ। बढ्दो चिस्यानका कारण ब्याक्टेरिया र ढुसी पनि तीव्र गतिमा फैलन्छन्, जसले गर्दा सरसफाइ कायम राख्न कठिनाइ हुन्छ।

यदि वर्षायाममा बाथरुमको दुर्गन्धले तपाईंलाई पनि सताइरहेको छ भने घरमै पाइने केही सामान्य सामग्रीहरूको प्रयोग गरी केही मिनेटमै ताजगी फर्काउन र ब्याक्टेरिया सम्बन्धी समस्याहरूलाई उल्लेख्य रूपमा कम गर्न सक्नुहुन्छ।

वर्षायाममा हुने चिसोपन र आद्रताका कारण बाथरूममा आउने दुर्गन्ध हटाउन, एउटा बाल्टिन वा ठूलो भाँडोमा पानी भर्नुहोस्। त्यसमा बेकिङ सोडा, सेतो भिनेगर, कागतीको रस र थोरै नुन राखेर राम्ररी मिसाई घोल तयार पार्नुहोस्। यो मिश्रणलाई बिस्तारै बाथरूमको ढल निकासको बाटोमा खन्याउनुहोस्। त्यस पछि बाँकी रहेको घोल भुइँ र कुनाकाप्चामा छर्कनु होस्। पानीले पखाल्नुअघि उक्त घोललाई केही बेर त्यत्तिकै रहन दिनुहोस्।

बेकिङ सोडा दुर्गन्ध सोस्ने गुणका लागि परिचित छ भने भिनेगरले जिद्दी फोहोर वा मैलो हटाउन मद्दत गर्छ। कागतीको रसले प्राकृतिक सफा गर्ने पदार्थको रूपमा काम गर्नुका साथै ताजगी प्रदान गर्छ जबकी नुनले फोहोर हटाउन सघाउँछ। यी चार सामग्रीको मिश्रणले बाथरुमलाई सफा र ताजा राख्न मद्दत गर्न सक्छ।

वर्षायाममा हावामा आर्द्रताको मात्रा बढ्छ। यसले विशेष गरी बाथरुमलाई असर गर्छ, जहाँको ओसिलोपनले ब्याक्टेरिया र ढुसीको तीव्र वृद्धि गराई दुर्गन्ध निम्त्याउन सक्छ। यस समस्याको समाधानका लागि केही घरेलु उपाय र उत्तम तरिकाहरू अपनाउनु महत्त्वपूर्ण हुन्छ। बाथरुममा हावा आवतजावतको राम्रो व्यवस्था गर्ने, भुइँमा पानी जम्न नदिने, हप्तामा कम्तीमा एक पटक ड्रेन सफा गर्ने र एक्जस्ट फ्यानको प्रयोग गरेमा पनि बाथरूम सफा हुन्छ ।