
काठमाडौँ । निर्देशक क्रिस्टोफर नोलनको नयाँ चलचित्र ‘द ओडिसी’ ले उत्तर अमेरिकी बक्स अफिसमा शानदार सुरुआत गरेको छ । चलचित्रले प्रदर्शनको पहिलो दिन शुक्रबार मात्रै ५ करोड १० लाख अमेरिकी डलर कमाउँदै बक्स अफिसमा पहिलो स्थान कब्जा गरेको हो ।
३ हजार ९१९ प्रदर्शनस्थलमा एकसाथ प्रदर्शनमा आएको चलचित्रले सुरुआती अनुमानलाई समेत पार गर्ने संकेत देखाएको छ । यसअघि पहिलो सप्ताहन्तमा ९ करोडदेखि १० करोड अमेरिकी डलरसम्म कमाइ हुने अनुमान गरिएको थियो । तर पहिलो दिनको उत्कृष्ट व्यापारपछि चलचित्रले आइतबारसम्म घरेलु बक्स अफिसमा मात्र १२ करोड ४५ लाख अमेरिकी डलरसम्म कमाएको छ भने विश्वभर २६ करोड ४० लाख डलर कमाएको बक्स अफिस मोजोले उल्लेख गरेको छ ।

यससँगै ‘द ओडिसी’ सन् २०२६ मा पहिलो सप्ताहन्तमै १० करोड अमेरिकी डलरभन्दा बढी कमाउने तेस्रो चलचित्र बन्नेछ । यसअघि ‘टोय स्टोरी ५’ ले १५ करोड ९० लाख डलर र ‘द सुपर मारियो ग्यालेक्सी मुभी’ ले १३ करोड १० लाख डलरको उद्घाटन व्यापार गरेका थिए ।


करिब २५ करोड अमेरिकी डलरको लागतमा निर्माण गरिएको ‘द ओडिसी’ नोलनको पछिल्लो समयको सबैभन्दा सफल बन्ने देखिएको छ । सन् २०१२ मा प्रदर्शन भएको ‘द डार्क नाइट राइजेज’ ले पहिलो सप्ताहन्तमा १६ करोड अमेरिकी डलर कमाएको थियो, जुन अझै पनि नोलनको सबैभन्दा ठूलो ओपनिंग गरेको फिल्म थियो ।
यसअघि सन् २०२३ मा प्रदर्शन भएको नोलनकै ‘ओपेनहाइमर’ ले पहिलो सप्ताहन्तमा ८ करोड २० लाख डलर कमाएर अन्ततः विश्वभर ९७ करोड ५० लाख डलरको व्यापार गरेको थियो । त्यसैगरी ‘द ओडिसी’ ले पहिलो दिनमै नोलनको सन् २०१४ को चलचित्र ‘इन्टरस्टेलर’ को सम्पूर्ण पहिलो सप्ताहन्तको ४ करोड ७५ लाख डलरको व्यापारलाई समेत उछिनेको छ ।

प्राचीन ग्रीक कवि होमरको महाकाव्यमा आधारित ‘द ओडिसी’ मा ट्रोजन युद्धपछि आफ्नो घर इथाकातर्फ फर्किने क्रममा ओडिसियसले भोग्ने कठिन यात्राको कथा प्रस्तुत गरिएको छ । चलचित्रमा म्याट डेमन मुख्य भूमिकामा छन् । टम हल्यान्ड, एन हेथवे, रोबर्ट प्याटिन्सन, लुपिटा न्योङ्गो, जेन्डाया, चार्लिज थेरोन, इलियट पेज, जोन बर्नथल र जोन लेगुइजामोको पनि अभिनय रहेको छ ।




