
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको चलचित्र क्षेत्रको प्रवर्द्धन र अन्तर्राष्ट्रिय पहुँच विस्तारका लागि सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् ।
‘एभरेस्ट अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’का संस्थापक अध्यक्ष ली होङ्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलसँग सोमबार भएको भेटवार्तामा उनले चलचित्रमार्फत नेपाल–चीनबीचको सांस्कृतिक सम्बन्ध थप बलियो बनाउन सकिने धारणा राखे ।

भेटमा नेपाल र चीनबीच चलचित्र, संस्कृति तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो । मन्त्री तिमिल्सिनाले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले दुई देशबीच नागरिकस्तरको सम्बन्ध विस्तार गर्नुका साथै पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए ।


उनले नेपाली प्राकृतिक सम्पदा, संस्कृति र पर्यटकीय गन्तव्यलाई विश्वसामु चिनाउन चलचित्र प्रभावकारी माध्यम बन्न सक्ने उल्लेख गरे ।
चिनियाँ प्रतिनिधिमण्डलका नेता ली होङ्शुले नेपाल प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र चलचित्र छायांकनका लागि उपयुक्त गन्तव्य रहेको बताए । उनले नेपाल–चीनबीच सांस्कृतिक आदानप्रदान, पर्यटन प्रवर्द्धन र नागरिक सम्बन्ध विस्तारका लागि चलचित्र क्षेत्र महत्वपूर्ण माध्यम बन्न सक्ने धारणा राखे ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालका अनुसार ‘एभरेस्ट अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ले नेपाली चलचित्रलाई चिनियाँ बजारसँग जोड्ने अवसर प्रदान गरिरहेको छ। सन् २०२६ अप्रिलमा चीनको हुनान प्रान्तका चाङ्सा र हेङयाङ शहरमा आयोजित महोत्सवमा नेपालबाट २३ चलचित्र आवेदन परेका थिए भने छ वटा नेपाली चलचित्र प्रदर्शनका लागि छनोट भएका थिए । ती चलचित्र चिनियाँ भाषाको उपशीर्षकसहित प्रदर्शन गरिएको र महोत्सवमा पुरस्कृत चलचित्रको पुरस्कार वितरण कार्यक्रम काठमाडौँमा आयोजना गरिने उनले जानकारी दिए ।




