लक्ष्मी सनराइज बैंकले साउन १४ देखि ३ अर्बको डिबेञ्चर बिक्री खुलाउने

किाठमाडौं, ०५ साउन ।.लक्ष्मी सनराइज बैंक लिमिटेडले लगानीकर्तालाई लक्षित गर्दै ३ अर्ब रुपैयाँ बराबरको डिबेञ्चर निष्कासन गर्ने भएको छ। बैंकले ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ नाममा प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र साउन १४ गतेदेखि बिक्रीमा ल्याउन लागेको हो।

बैंकका अनुसार कुल निष्कासित ऋणपत्रमध्ये १८ लाख कित्ता व्यक्तिगत तवर (प्राइभेट प्लेसमेन्ट) बाट बिक्री गरिनेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिनेछ। सार्वजनिक बिक्रीतर्फ छुट्याइएकोमध्ये ६० हजार कित्ता अर्थात् ५ प्रतिशत सामूहिक लगानी कोष (म्युचुअल फन्ड) का लागि सुरक्षित गरिएको छ।

१० वर्ष अवधि रहने यस डिबेञ्चरमा वार्षिक ७ प्रतिशतका दरले ब्याज प्राप्त हुनेछ। निश्चित प्रतिफल खोजिरहेका लगानीकर्ताका लागि यो ऋणपत्र एक विकल्पका रूपमा हेरिएको छ।

इच्छुक लगानीकर्ताले सी–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्। आवेदन छिटोमा साउन १९ गते बैंकिङ समयपछि बन्द हुनेछ। आवश्यक परे बिक्री अवधि साउन २८ गतेसम्म लम्बिन सक्ने बैंकले जनाएको छ।

यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सबै उपलब्ध कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। डिबेञ्चर निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी माछापुच्छ्रे क्यापिटल लिमिटेडले सम्हालेको छ।