
काठमाडौँ । युक्रेनको ओडेसा बन्दरगाहबाट प्रस्थान गर्ने क्रममा मालवाहक जहाज एमभी गोल्डेन लियो माथि भएको आक्रमणमा चार भारतीय नागरिकको मृत्यु भएपछि भारतले नयाँ दिल्लीस्थित रुसी राजदूतावासका कार्यवाहक प्रमुखलाई स्पष्टीकरणका लागि बोलाएको छ ।
भारतको विदेश मन्त्रालयले मंगलबार रुसी राजदूतावासका कार्यवाहक भ्लादिमिर लादानोभलाई मन्त्रालयमा बोलाएर जुलाई १९ मा भएको उक्त आक्रमणप्रति गम्भीर चिन्ता र कडा आपत्ति जनाएको हो । मन्त्रालयले आक्रमणमा चार भारतीय नागरिकको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै यसको कडा शब्दमा निन्दा गरेको छ ।


विदेश मन्त्रालयले व्यावसायिक जहाजमाथि हुने यस्ता आक्रमणले अन्तर्राष्ट्रिय समुद्री व्यापारको सुरक्षा, स्थिरता र विश्वसनीयतालाई कमजोर बनाउने जनाएको छ। साथै कार्यवाहक प्रमुखमार्फत भारतको गम्भीर चिन्ता रुस सरकारसम्म पुर्याउन आग्रह गरिएको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

मन्त्रालयका अनुसार व्यावसायिक जहाजलाई निशाना बनाउने र निर्दोष नागरिकको ज्यान जाने घटना कुनै पनि हालतमा स्वीकार्य नभएको भन्दै यस्ता आक्रमण तत्काल रोक्नुपर्नेमा भारतले जोड दिएको छ ।
यसअघि सोमबार विदेश मन्त्रालयले ओडेसा बन्दरगाहबाट प्रस्थान गर्ने क्रममा एमभी गोल्डेन लियोमाथि आक्रमण भएको जानकारी दिएको थियो । उक्त घटनामा चार भारतीयको मृत्यु हुनुका साथै अर्का एक भारतीय नागरिक गम्भीर घाइते भएका छन् । भारत सरकारले घटनाप्रति गहिरो शोक व्यक्त गर्दै दोषीमाथि आवश्यक कारबाहीको माग गरेको छ ।





