
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारी निवासअगाडि प्रदर्शन गरिरहेका प्रमुख प्रतिपक्षी नेता राहुल गान्धी, कांग्रेस नेतृ प्रियंका गान्धी वाड्रा र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई दिल्ली प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ ।
राहुल गान्धीले कर्नाटक र केरलका मुख्यमन्त्रीसहित कांग्रेसका नेताहरूसँग सोमबार प्रदर्शनकारी विद्यार्थीमाथि प्रहरीले गरेको कारबाहीको विरोधमा धर्ना सुरु गरेका थिए ।

प्रहरीले धर्नास्थल खाली गराउन पुगेपछि राहुल गान्धीले आफूलाई उठाउने प्रयासको प्रतिरोध गरेका थिए । त्यसक्रममा उनको आँखामुनि सामान्य चोट लागेको उनका सहयोगीले बताएका छन् ।


प्रहरीले राहुल गान्धी र अखिलेश यादवलाई उठाएर बसमा राखी नियन्त्रणमा लिएको थियो । प्रियंका गान्धीलाई पनि नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइने क्रममा उनले सरकार डराएको आरोप लगाउँदै आफूहरू नडराउने र सरकार नै विपक्षीसँग डराएको प्रतिक्रिया दिएकी छन् ।
विद्यार्थी प्रदर्शनमाथि भएको प्रहरी कारबाहीको विरोधमा भएको उक्त प्रदर्शनपछि विपक्षी दलहरूले सरकारमाथि लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन्।





