
वासिंगटन डिसी, ६ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आउने धेरैजसो सामानमा ५० प्रतिशतको नयाँ भन्सार शुल्क लगाउने भएका छन्।
उनले अमेरिकी मदिरा, सवारी साधन र दुग्धजन्य उत्पादनहरू प्रति क्यानडा सरकारले भेदभावपूर्ण व्यवहार गरेको पनि दाबी गरेका छन्।

ह्वाइट हाउसको विवरण अनुसार सोमबार ट्रम्पले आदेश दिए अनुसार नयाँ यो भन्सार शुल्क ३० दिन पछि लागू हुनेछ र यसमा वाइन, हक्की स्टिक तथा सिमेन्ट लगायतका विभिन्न वस्तुहरू समावेश हुनेछन्।


यस वर्षको सुरुमा सर्वोच्च अदालतले आफ्ना धेरै जसो भन्सार शुल्क सम्बन्धी निर्णयहरू खारेज गरि दिएपछि ट्रम्पले नयाँ शुल्कहरूका लागि सन् १९३० को ‘ट्यारिफ ऐन’को दफा ३३८ अन्तर्गतको एउटा अपरीक्षित कानुनी प्रावधानको प्रयोग गरिरहेका छन्।
ह्वाइट हाउसका अनुसार यी नयाँ शुल्कहरू ऊर्जा, पोटास र क्षेत्र विशेष भन्सार शुल्कबाट पहिले नै प्रभावित भइसकेका वस्तुहरूमा लागू हुने छैनन्।

तर, महत्त्वपूर्ण कुरा के हो भने यसले अमेरिका–मेक्सिको– क्यानाडा स्वतन्त्र व्यापार सम्झौता अन्तर्गत समेटिएका उत्पादनहरूलाई भने असर गर्नेछ।
यस घोषणाप्रति प्रतिक्रिया जनाउँदै क्यानाडाली प्रधानमन्त्री मार्क कार्नीले यी शुल्कहरूको त्रिपक्षीय सम्झौताको प्रत्यक्ष उल्लंघन भएको बताए। साथै, उनले अमेरिकासँगका विवादहरू समाधान गर्न आफ्नो देश छलफललाई अझ तीव्र बनाउन तयार रहेको पनि उल्लेख गरेका छन् ।

भन्सार शुल्कसम्बन्धी यस घोषणाले केही व्यवसायीहरू माझ तनाव बढ्ने चिन्ता तत्कालै उत्पन्न गराएको जनाइएको छ ।
गत वर्ष पुनः राष्ट्रपति पद सम्हालेयता ट्रम्पले आफ्ना व्यापारिक साझेदार मुलुकहरू माथि व्यापक भन्सार शुल्क लगाए पनि सामान्यतया ‘नर्थ अमेरिकन फ्री ट्रेड प्याक्ट’ अर्थात उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता अन्तर्गत अमेरिका भित्रिने वस्तुहरूलाई भने यस्ता आदेशहरूबाट छुट दिइएको थियो।
तर, क्यानडामाथी ५० प्रतिशतसम्म कर लगाउने नीतिले थप तनाव बढाउने देखिएको छ ।




