
गाजा शहरको तेल अल–हवा क्षेत्रमा सिमेन्टका भग्नावशेषहरूमा उभिएर २० वर्षीया प्यालेस्टिनी कलाकार जाना अबु हरबिद एकाग्र भएर चित्र कोर्दैछिन् ।
युद्धले ध्वस्त बनाएको एक घरको खण्डहरमा उनले प्यालेस्टिनी झण्डा अंकित पाल (टेन्ट) को चित्रसँगै अरबी भाषामा ‘अमल बाकी’ अर्थात ‘आशा बाँकी छ’ भन्ने शब्दहरू कुँदेकी छिन् । इजरायल र हमासबीच जारी युद्धका कारण गाजाका आवासीय क्षेत्रहरू मलबेमा परिणत भएका छन् । तर हरबिद र उनीजस्ता दर्जनौँ कलाकारहरूका लागि यी भग्नावशेषहरू केवल विनाशका अवशेष मात्र होइनन् ।

उनीहरूले यसलाई आफ्ना स्मृतिहरू जोगाउने, युद्धका कारण विस्थापित भएका परिवारका कथाहरू लिपिबद्ध गर्ने र विनाशका बीच पनि जीवन जीवितै रहन्छ भन्ने सन्देश प्रवाह गर्ने ‘क्यानभास’ बनाएका छन् । उत्तरी गाजाको बेत हनुनबाट विस्थापित भई हाल गाजा सहरमा बसोवास गरिरहेकी हरबिदकाअनुसार भग्नावशेषहरूमा चित्र कोर्नु प्यालेस्टिनी जनताले भोगेका दुःख र पीडालाई अभिव्यक्त गर्ने एक सशक्त माध्यम हो ।


‘युद्धका क्रममा हामीले भोगेका सास्ती र पीडालाई व्यक्त गर्न मैले पुनः चित्रकला सुरु गरेकी हुँ’ हरबिदले भनिन्, ‘मैले यसअघिका युद्धहरूमा आफ्ना पितालाई गुमाइसकेकी छु, जसको अभावले मेरो जीवनमा गहिरो प्रभाव पारेको छ ।’
यस युद्धले हरबिदको व्यक्तिगत जीवन र भविष्यमा समेत ठूलो धक्का पु¥याएको छ । उनको विश्वविद्यालयको अध्ययन बीचमै रोकिएको छ भने चित्रकलाका लागि आवश्यक रङ, ब्रस र अन्य सामग्रीहरूको चरम अभाव छ । बजारमा उपलब्ध सामग्रीहरूको मूल्य पनि अत्यधिक बढेको छ । उनी भन्छिन्, ‘युद्धले हाम्रा सपना र भविष्य खोसेको छ । यहाँ न विश्वविद्यालय छन्, न त उपयुक्त शिक्षाको वातावरण नै। प्रतिभा र इच्छाशक्ति हुँदाहुँदै पनि हामीले आवश्यक सामग्रीसमेत पाउन सकेका छैनौँ ।’
७ अक्टोबर २०२३ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणपछि शुरु भएको इजरायली सैन्य अभियानका कारण गाजा पट्टीमा ठूलो मानवीय क्षति भएको छ । गाजाका स्वास्थ्य अधिकारीहरूकाअनुसार हालसम्म ७३ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ भने १ लाख ७३ हजारभन्दा बढी घाइते भएका छन् । अधिकांश बासिन्दाहरू पटक–पटक विस्थापित हुनुपरेको छ भने शहरका ठूला हिस्साहरू खण्डहरमा परिणत भएका छन् । यस्तो भयावह स्थितिका बीच पनि तेल अल–हवाको खैरो भग्नावशेषमा हरबिदले कोरेको ‘आशा बाँकी छ’ भन्ने सन्देशले मानिसहरूमा सकारात्मक ऊर्जा भर्ने प्रयास गरेको छ । ‘मेरो आजको चित्र आशाको बारेमा हो’ उनले थपिन्, ‘हामी जतिसुकै कठिन परिस्थिति र पालको बासमा बस्न बाध्य भएपनि हामीभित्र आशा जीवितै छ । गाजामा प्रतिभाशाली र सिर्जनशील मानिसहरू छन् र उनीहरूको कला विश्वले देख्न जरुरी छ भन्ने मेरो सन्देश हो ।’





