
दक्षिण कोरियाको संसदले पूर्व राष्ट्रपति युन सुक–योल र उनकी पत्नी किम क्योन–ही विरुद्ध भइरहेको उच्चस्तरीय स्वतन्त्र अनुसन्धानको म्याद थप गर्ने सम्बन्धी विधेयक मंगलबार पारित गरेको छ । मुख्य विपक्षी डेमोक्रेटिक पार्टीको नेतृत्वमा रहेको नेशनल एसेम्बलीले पूर्व राष्ट्रपति दम्पती संलग्न राज्यद्रोह, देशद्रोह र भ्रष्टाचारका मुद्दाहरूको छानबिन गर्न ल्याइएको ‘व्यापक विशेष काउन्सिल ऐन संशोधन विधेयक’ १७३–० को सर्वसम्मत मतले पारित गरेको हो ।
सत्तापक्षीय ‘पिपुल पावर पार्टी’ ले मतदान बहिष्कार गर्दै २४ घण्टासम्म जारी राखेको ‘फिलिबस्टर’ (संसदीय अवरोध) लाई बहुमतको आधारमा अन्त्य गरिएपछि उक्त मतदान भएको थियो । दक्षिण कोरियाली कानूनअनुसार ३०० सदस्यीय संसदमा तीन–पाचौं बहुमत प्राप्त भएमा २४ घण्टापछि जारी अवरोधलाई जबरजस्ती अन्त्य गर्न सकिने प्रावधान छ।


संसदीय स्वीकृतिका साथै अब स्वतन्त्र अनुसन्धान टोलीले आगामी अगस्ट २३ सम्म आफ्नो छानबिन जारी राख्न पाउनेछ । पूर्वराष्ट्रपति युनमाथि सन् २०२४ डिसेम्बर ३ को राति सैनिक शासन (मार्सल ल) घोषणा गरी राज्यद्रोह गरेको अभियोगमा गत फेब्रुअरीमा जन्मकैदको सजाय सुनाइएको थियो । यद्यपि, उनले घोषणा गरेको सैनिक शासनलाई सोही बखत संसदले खारेज गरिदिएको थियो ।

उनलाई उत्तर कोरियामा ड्रोन घुसपैठ गराएको देशद्रोहको अर्को मुद्दामा गत जुनमा थप ३० वर्षको कारावास सजाय तोकिएको थियो।
सन् २०२५ जनवरीमा हिरासतमा रहेकै अवस्थामा अभियोग दर्ता गरिएका युन पक्राउ पर्ने र मुद्दा खेप्ने दक्षिण कोरियाको पहिलो बहालवाला राष्ट्रपति हुन् । त्यसैगरी, सन् २०२५ अगस्टमा हिरासतमा लिइएकी पूर्व प्रथम महिला किम क्योन–हीमाथि भ्रष्टाचार, घुसखोरी, शेयर बजारमा चलखेल र अवैध मतदान लगायतका गम्भीर आरोपहरू रहेका छन्। उनी हिरासतमा रहेर मुद्दाको पुर्पक्ष गरिने दक्षिण कोरियाकी पहिलो पूर्व राष्ट्रपति पत्नी हुन् ।





