
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालय र मातहतका सबै निकायमा जिम्मेवार, उत्तरदायी र नतिजामुखी कार्यसंस्कृति विकास गरी व्यापक प्रशासनिक सुधारका साथ चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
मन्त्रालयमा बुधबार आयोजित कर्मचारी बैठकमा उनले मन्त्रालयबाटै निर्णय हुन सक्ने फाइल एकै दिनमा टुङ्ग्याउने तथा अन्तरनिकाय समन्वय आवश्यक पर्ने फाइल पाँच दिनभित्र अन्तिम निर्णयमा पुर्याउने व्यवस्था तत्काल लागू गर्नसमेत निर्देशन दिएका हुन् ।


सञ्चारमन्त्री तिमिल्सिनाले दैनिक कार्यसम्पादन समीक्षा, नियमित अनुगमन र कार्यसम्पादन सम्झौताका आधारमा मूल्याङ्कन प्रणाली प्रभावकारी बनाउन दिर्नेशन दिदै राम्रो काम गर्नेलाई प्रोत्साहन र लापरबाही गर्नेलाई कारबाही गर्ने व्यवस्था संस्थागत गरिनुपर्ने बताए । सेवा प्रवाहलाई छिटो, पारदर्शी र डिजिटलमैत्री बनाउँदै कानुन निर्माण र बजेट कार्यान्वयनलाई नतिजासँग जोड्न पनि उहाँले जोड दिए ।

कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन दैनिक प्रतिवेदन बनाउनेगरी मूल्याङ्कन प्रणाली लागू गर्न, प्रत्येक शाखाले बिहान कार्ययोजना तयार गरी साँझ समीक्षा गर्ने अभ्यास सुरु गर्न तथा दैनिक, साप्ताहिक, पाक्षिक र मासिक समीक्षा बैठक नियमित सञ्चालन गर्न निर्देशन दिदै उनले कार्यसम्पादन सम्झौताका आधारमा कर्मचारीको मूल्याङ्कन गर्नुपर्ने र मातहतका कर्मचारीलाई जवाफदेही बनाउन नसक्ने नेतृत्व पनि उत्तरदायी हुने बताए ।
मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले गत आर्थिक वर्षमा पुँजीगत खर्च अपेक्षाकृत कमजोर रहेको स्वीकार गर्दै चालु आर्थिक वर्षमा बजेट कार्यान्वयन प्रभावकारी बनाउन सबै महाशाखा र शाखाले सुरुदेखि नै नतिजामुखी ढङ्गले काम गर्ने प्रतिवद्धता जनाइन् ।

बैठकमा चालु आर्थिक वर्ष २०८३/८४ को कार्ययोजना, बजेट कार्यान्वयन, कानुन निर्माण, सेवा प्रवाह, कार्यसम्पादन सम्झौता, प्रशासनिक सुधार तथा मातहतका निकायको प्रभावकारिता अभिवृद्धिका विषयमा विस्तृत छलफल भएको थियो ।





