बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले दिए राजीनामा

काठमाडौँ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले पदबाट राजीनामा दिएका छन् । उनका एक सहयोगीलाई उद्धृत गर्दै सार्वजनिक भएको जानकारीअनुसार उनले आफ्नो कार्यकाल सकिन करिब दुई वर्ष बाँकी रहँदै पद त्याग गरेका हुन् ।

पछिल्ला केही दिनयता उनको राजीनामाबारे विभिन्न अड्कलबाजी भइरहेका बेला उनले औपचारिक रूपमा पद छाडेका हुन् ।

राजीनामाको कारणबारे सोधिएको प्रश्नमा ७६ वर्षीय शहाबुद्दीनले आफू स्वास्थ्य समस्यासँग जुधिरहेको बताएका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ताका अनुसार शहाबुद्दीनका प्रतिनिधिले उनको राजीनामापत्र संसदतर्फ लगिसकेका छन् । उक्त राजीनामापत्र संसदका सभामुख हाफिजुद्दीन अहमदलाई बुझाइनेछ ।

बङ्गलादेशको संविधानअनुसार नयाँ राष्ट्रपति चयन नभएसम्म सभामुख हाफिजुद्दीन अहमदले कार्यवाहक राष्ट्रपतिका रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।

बङ्गलादेशी सञ्चारमाध्यमका अनुसार मन्त्रिपरिषद्का सचिव नसीमुल गनीलाई नयाँ राष्ट्रपतिका सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ । यद्यपि यसबारे औपचारिक घोषणा भने भएको छैन ।

शहाबुद्दीन सन् २०२३ को अप्रिलमा पाँच वर्षे कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका थिए ।

सन् २०२४ को जुलाई–अगस्टमा भएको विद्यार्थी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना नेतृत्वको अवामी लिग सरकार सत्ताबाट बाहिरिएको थियो । त्यसपछि सन् २०२४ अगस्ट ५ मा शेख हसिना भारत गएकी थिइन् र त्यसयता उनी भारतमै बस्दै आएकी छन् ।

त्यो राजनीतिक परिवर्तनपछि पनि संवैधानिक पदमा कायम रहने शीर्ष अधिकारीमध्ये शहाबुद्दीन मात्र थिए ।

मोहम्मद शहाबुद्दीनको जन्म बङ्गलादेशको पबना जिल्लामा भएको हो । सन् १९६० को दशकको अन्त्य र १९७० को दशकको सुरुवातमा उनी अवामी लिगको विद्यार्थी तथा युवा संगठनमा सक्रिय थिए । उनले सन् १९७१ को बङ्गलादेश मुक्ति संग्राममा पनि सहभागिता जनाएका थिए। सन् १९७५ मा बङ्गलादेशका संस्थापक नेता बङ्गबन्धु शेख मुजीबुर रहमानको सैनिक विद्रोहमा हत्या भएपछि त्यसको विरोध गरेका कारण उनी केही समय जेलसमेत परेका थिए ।

images

पछि सन् १९८२ मा उनी न्यायिक सेवामा प्रवेश गरेका थिए। सन् १९९६ मा अवामी लिग पुनः सत्तामा फर्किएपछि शेख मुजीबुर रहमान हत्याकाण्डको अनुसन्धान टोलीका संयोजकका रूपमा काम गरेका थिए । त्यसपछि सक्रिय राजनीतिमा प्रवेश गरेका शहाबुद्दीन अवामी लिगको सल्लाहकार परिषद्का सदस्य समेत बनेका थिए ।