
काठमाडौं, ९ साउन । गाजाको पुनर्निर्माणमा ७१ अर्ब अमेरिकन डलर लाग्ने अनुमान गरिएको छ ।
अक्सफामको नयाँ संयुक्त प्रतिवेदनका अनुसार गाजाको पुनर्निर्माणमा लाग्ने खर्च विगत दुई दशकमा त्यहाँ गरिएका सम्पूर्ण पुनर्निर्माण प्रयासहरूको कुल लागतभन्दा सात गुणा बढी हुनेछ।

दुई वर्षभन्दा लामो समयदेखि जारी युद्धका कारण कम्तीमा ७३ हजार प्यालेस्टिनीहरूको मृत्यु भएको छ, १ लाख ७३ हजार जना घाइते भएका छन् र १९ लाख मानिस विस्थापित भएका छन्।
संयुक्त राष्ट्रसंघ, युरोपेली संघ र विश्व बैंकको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदन अनुसार गाजा क्षेत्रको पुनर्स्थापनाका लागि अनुमानित ७१.४ अर्ब अमेरिकी डलर आवश्यक पर्ने देखिएको हो।

अक्सफाम, प्यालेस्टाइन इकोनोमिक पोलिसी रिसर्च इन्स्टिच्युट र प्यालेस्टाइन ट्रेड सेन्टरको नयाँ प्रतिवेदनले मानव विकास ७७ वर्ष पछाडि धकेलिएको जनाएको छ। साथै, उक्त प्रतिवेदनले प्यालेस्टाइनीहरूको प्रत्यक्ष सहभागिता बिना गाजाको पुनर्निर्माण कार्य अघि बढ्न नसक्ने कुरामा जोड दिएको छ।


मासका वरिष्ठ अनुसन्धानकर्ता मिस्येफ जमिलले अलजजिरासँग भने, ‘पुनर्निर्माण केवल मानवीय कार्य मात्र होइन, यो एक राजनीतिक कार्य पनि हो। विदेशी राजधानीहरूमा तयार पारिएको योजना, जतिसुकै ठूलो आर्थिक सहयोग भए पनि, केवल देखावटी प्रयास मात्र हुनेछ, यो प्यालेस्टाइनी भूमि र जनजीवन माथि नियन्त्रण कायम गर्ने अर्को एउटा रूप मात्र साबित हुनेछ। गाजाभरि गरिएका हाम्रा परामर्शहरूले एउटा स्पष्ट सन्देश दिएका छन्, हाम्रो भविष्यसम्बन्धी कुनै पनि कुरा हाम्रो सहभागिता बिना सम्भव छैन।’
अप्रिलमा गाजाको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कनले गाजा पट्टीको पुनर्लाभ र पुनर्निर्माणका लागि आगामी १० वर्षमा ७१.४ अर्ब डलरभन्दा बढी खर्च लाग्ने अनुमान गरेको थियो। उक्त प्रतिवेदनले गाजाले कुल ५७.९ अर्ब डलर बराबरको क्षति र आर्थिक नोक्सानी बेहोरेको अनुमान गरेको थियो।

साथै, गाजाको पुनर्निर्माणको पहिलो १८ महिनामा अत्यावश्यक सेवाहरू पुनः सञ्चालन गर्न, महत्वपूर्ण पूर्वाधारको पुनर्निर्माण गर्न र आर्थिक पुनरुत्थानमा सहयोग पुर्याउन २६.३ अर्ब डलर आवश्यक पर्ने कुरा पनि यसले पत्ता लगाएको छ।

७१.४ अर्ब डलरको परिमाणलाई बुझ्नका लागि भन्नुपर्दा यो रकम विश्वकै अग्लो भवन बुर्ज खलिफाजस्ता करिब ४८ वटा भवन निर्माण गर्न पर्याप्त छ।
यस प्रतिवेदनले आवास, शिक्षा र स्वास्थ्य सेवामा पुगेको क्षतिको विवरणका साथै मस्जिद, संग्रहालय र अन्य सांस्कृतिक स्थलहरू नष्ट हुँदा सांस्कृतिक तथा सामाजिक संरचनामा परेको असरलाई पनि उजागर गरेको छ।

पुनर्निर्माण सुरु हुनुभन्दा पहिले अनुमानित ६ करोड ६० लाख टन भग्नावशेष हटाउनु पर्नेछ। भग्नावशेषले सम्पूर्ण छिमेकीहरूलाई असहज बनाएको छ।
भग्नावशेषले गम्भीर स्वास्थ्य र सुरक्षा जोखिमहरू पनि निम्त्याउँछ। यसमा विस्फोट नभएका बम र गोलाहरू रहेको विश्वास गरिन्छ, जसले क्लियरेन्स टोली र नजिकैका समुदाय दुवैलाई खतरामा पार्छ।
क्षतिग्रस्त भवनहरूले एस्बेस्टोस र अन्य खतरनाक पदार्थहरू हावामा छोड्न सक्छन्, जबकि ढल, चिकित्सा फोहोर र औद्योगिक रसायनहरूले वातावरणलाई अझ दूषित बनाउँछन्।
सो प्रतिवेदनका अनुसार गाजामाः
= गाजाका ३,७१,८८८ वटा घरहरू नष्ट वा क्षतिग्रस्त भएका छन्।

= त्यहाँ ६ करोड ६० लाख टन भग्नावशेष थुप्रिएको छ, जुन गिजाका ११ वटा पिरामिडको तौल बराबर हो।
= ५०,००० भन्दा बढी मानिसहरूलाई दीर्घकालीन पुनर्स्थापनाको आवश्यकता छ।
= अपाङ्गता भएका ८३ प्रतिशत व्यक्तिहरू आफ्ना सहायक सामग्रीहरू छोड्न बाध्य भए।
=५८,००० भन्दा बढी बालबालिकाले आफ्ना आमा वा बुवा वा दुवै पनि गुमाएका छन्।
= ५५ प्रतिशत अस्पतालहरू सञ्चालनमा छैनन्।
= ९३ प्रतिशत विद्यालय भवनहरू क्षतिग्रस्त वा नष्ट भएका छन्।




