
टोरोन्टो, ९ साउन । क्यानडाका कानुन कार्यान्वयन गर्ने निकायहरूले सीमापार लागुऔषध तस्करीको कथित सञ्जालविरुद्धको एक ठूलो कारबाहीमा १३ करोड ९० लाख क्यानेडियन डलर अर्थात १५ अर्ब २० करोड ६० लाख नेपाली रूपैयाँ भन्दा बढी मूल्यको लागुऔषध बरामद गरेका छन्।
ओन्टारियो प्रान्तको इतिहासमा तौलका हिसाबले यो लागुऔषध बरामदको सबैभन्दा ठूलो घटनामध्ये एक मानिएको छ। उक्त कारबाहीका क्रममा ठूलो परिमाणमा हतियार, नगद र अन्य आपराधिक गतिविधिहरूसँग सम्बन्धित सामग्रीहरू पनि बरामद गरिएका छन्।

यो कारबाही प्रहरी, क्यानडा बोर्डर सर्भिसेज एजेन्सी र ओन्टारियो प्रोभिन्सियल पुलिसको संयुक्त अभियान ‘प्रोजेक्ट बे’ अन्तर्गत गरिएको थियो। अनुसन्धानका क्रममा करिब ९७३ किलोग्राम शंकास्पद कोकिन, ६६० किलोग्राम मेथाम्फेटामाइन र ४९ किलोग्राम अफिम बरामद गरिएको थियो।


यसका साथै, २३० वटा अक्सिकोडोन चक्की, एन्टी ट्याङ्क राइफलसहित १७ वटा हतियार, ठूलो परिमाणमा गोलीगठ्ठा, महँगा गरगहना, नगद, मोबाइल फोन, ल्यापटप र अपराधसँग सम्बन्धित एउटा सवारी साधन पनि बरामद गरिएको छ ।
अनुसन्धान निकायहरूका अनुसार, यो सञ्जालले व्यावसायिक यातायात प्रणालीको प्रयोग गरी सीमापारि लागुऔषधको तस्करी गर्थ्यो। उक्त गिरोहले यातायात क्षेत्रका आफ्ना सम्पर्कहरूमार्फत चालकहरूलाई परिचालन गर्ने र वैध मालसामानको बीचमा लागुऔषध लुकाएर क्यानडासम्म तस्करी गर्ने गरेको खुल्न आएको छ ।

यस प्रकरणको सम्बन्धमा हालसम्म २१ जना विरुद्ध १०० भन्दा बढी फौजदारी मुद्दा दर्ता भएका छन्। तीमध्ये १९ जना आरोपीलाई पक्राउ गरिएको छ भने दुई जना शंकास्पद व्यक्तिहरू अझै फरार छन् र उनीहरूको खोजी भइरहेको छ। अधिकारीहरूले स्पष्ट पारेका छन् कि हाल सबै आरोपहरू अनुसन्धान र न्यायिक प्रक्रियाको दायरामा छन्।
अधिकारीहरूका अनुसार यस कारबाहीले अन्तर्राष्ट्रिय लागुऔषध तस्करी सञ्जालमा ठूलो प्रहार गरेको छ र आपराधिक समूहहरूको आर्थिक मेरुदण्ड नै तोडिदिएको छ। अनुसन्धान निकायहरूले अहिले उक्त सञ्जालको उत्पत्ति, अन्तर्राष्ट्रिय सम्पर्क र सम्पूर्ण सञ्चालन संरचनाबारे गहन अनुसन्धान गरिरहेका छन्।





