आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- नक्सालस्थित नेपाल बाल संगठनको बाल मन्दिरमा पुनःसंरचना तथा पूर्वाधार सुधारको काम सुरु गरिएको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको समन्वयमा आयोजना प्रमुख, निर्माण कम्पनी तथा प्राविधिक टोलीको उपस्थितिमा ढल निर्माण कार्यबाट पुनःसंरचनाको औपचारिक सुरुवात गरिएको हो । गत साता मन्त्रालयले प्राप्त उजुरी तथा सार्वजनिक भएका भिडियो सामग्रीका आधारमा गरेको स्थलगत अनुगमनका क्रममा बाल मन्दिरको भौतिक अवस्था अत्यन्त जीर्ण रहेको, भवनभित्र पानी जम्ने, प्रभावकारी ढल निकासको व्यवस्था नहुँदा दुर्गन्ध फैलिएको, शौचालय तथा स्नानगृह प्रयोगयोग्य नरहेको, सरसफाइ अत्यन्त कमजोर रहेको तथा विभिन्न उमेर समूहका बालबालिकालाई एउटै स्थानमा राखिएको अवस्था फेला परेको थियो । बालबालिकाको स्वास्थ्य, सुरक्षा र संरक्षणमा गम्भीर जोखिम देखिएपछि मन्त्रालयले तत्काल हस्तक्षेप गर्दै पहिलो चरणमा दुई वर्षमुनिका २० जना बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो । बाल मन्दिरको भौतिक अवस्था तत्काल सुधार गरी बालबालिकाका लागि सुरक्षित, स्वच्छ र व्यवस्थित वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको थियो। सोही निर्देशन कार्यान्वयनस्वरूप आजदेखि पुनःसंरचनाको काम सुरु गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पहिलो चरणमा ढल व्यवस्थापनको काम अघि बढाइएको छ । त्यसपछि भवन मर्मत, क्षतिग्रस्त संरचनाको पुनःनिर्माण, शौचालय तथा स्नानगृह स्तरोन्नति, सरसफाइ व्यवस्थापन, सुरक्षित खानेपानीको व्यवस्था तथा बालमैत्री पूर्वाधार निर्माणका काम क्रमिक रूपमा अघि बढाइनेछ । आयोजना प्रमुख र निर्माण कम्पनीलाई आगामी दशैँअघि सम्पूर्ण पुनःसंरचना तथा पूर्वाधार सुधारका काम गुणस्तरीय रूपमा सम्पन्न गरी बाल मन्दिरलाई सुरक्षित, स्वच्छ, व्यवस्थित र बालमैत्री संरक्षण केन्द्रका रूपमा सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले बाल संरक्षणसँग सम्बन्धित पूर्वाधारमा देखिएका कमजोरीलाई सुधार गर्दै राज्यको संरक्षणमा रहेका प्रत्येक बालबालिकाले सुरक्षित, सम्मानजनक र गुणस्तरीय वातावरणमा हुर्किन पाउने अधिकार सुनिश्चित गर्ने प्रतिबद्धताअनुसार सुधारका कामलाई निरन्तरता दिइने जनाएको छ ।

२-  भारतको राजधानी नयाँदिल्लीस्थित जन्तर-मन्तरमा एक महिनाभन्दा बढी समयदेखि जारी आन्दोलन अन्ततः समाप्त भएको छ । ककरोच जनता पार्टीले शनिबार केन्द्र सरकारसँग तेस्रो चरणको वार्ता सफल भएपछि तत्काल प्रभावबाट आन्दोलन फिर्ता लिएको घोषणा गरेको हो । आन्दोलन फिर्ताको घोषणाअघि नै केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका थिए । शनिबार केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहले ककरोच जनता पार्टीको दुई सदस्यीय प्रतिनिधिमण्डलसँग वार्ता गरेका थिए । प्रतिनिधिमण्डलमा सौरव दास सहभागी थिए । दुवै पक्षबीचको तेस्रो चरणको छलफल सकारात्मक बनेपछि पार्टीले पत्रकार सम्मेलन गर्दै आन्दोलन अन्त्य भएको जानकारी दिएको हो । साथै, देशभरबाट आन्दोलनमा सहभागी हुन आएका प्रदर्शनकारीलाई शान्तिपूर्ण रूपमा घर फर्किन पनि आग्रह गरिएको छ । पार्टीका प्रमुख प्रवक्ता सौरव दासले सरकारसँग भएको सहमतिबारे जानकारी दिँदै प्रदर्शनकारीविरुद्ध दर्ता गरिएका सबै मुद्दा फिर्ता लिने माग सरकारले स्वीकार गरेको बताए । उनका अनुसार नयाँदिल्ली मात्र होइन, भारतीय जनता पार्टी नेतृत्व वा समर्थन रहेका सबै राज्यमा आन्दोलनकारीमाथि दर्ता गरिएका मुद्दा फिर्ता गरिने सहमति भएको छ । उनले हालसम्म नयाँदिल्लीमा १५ देखि २० वटा मुद्दा दर्ता भएको जानकारी सरकारबाट प्राप्त भएको र ती सबैको प्रतिलिपि तीनदेखि चार दिनभित्र उपलब्ध गराइने आश्वासन दिइएको बताए । सरकारसँग लिखित प्रत्याभूतिको मस्यौदा पनि साझा गरिएको उल्लेख गर्दै मंगलबारसम्म त्यसबारे औपचारिक लिखित सहमति प्राप्त हुने अपेक्षा गरिएको उनले बताए । सौरव दासले सरकारले तय भएका सबै सहमति समयमै कार्यान्वयन गर्ने विश्वासका आधारमा आन्दोलन फिर्ता लिएको घोषणा गरे । पार्टीका अर्का प्रवक्ता आशुतोष रांकाले सरकार र आन्दोलनकारीबीच तीन चरणमा भएको वार्ताले सकारात्मक निष्कर्ष निकालेको बताए । उनका अनुसार आन्दोलनका तीन प्रमुख मागमध्ये पहिलो माग केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा थियो, जुन उनको पदत्यागसँगै पूरा भएको छ । यसैबीच, केन्द्रीय मन्त्री जेपी नड्डाले आन्दोलनकारीले बुझाएको पाँच बुँदे प्रस्ताव शिक्षा परीक्षा प्रणाली सुधारसँग सम्बन्धित रहेको बताए । उनले सरकार उक्त प्रस्तावलाई गम्भीरतापूर्वक अध्ययन गरी आवश्यक सुधारका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । नड्डाले आन्दोलनका क्रममा दर्ता भएका मुद्दाको प्रतिलिपि सम्बन्धित पक्षलाई उपलब्ध गराइने र सहमतिअनुसार कुनै दण्डात्मक कारबाही नगरिने स्पष्ट पारे । साथै, नियमअनुसार अधिकतम सम्भव क्षतिपूर्ति उपलब्ध गराउने विषयमा पनि सरकारले सकारात्मक दृष्टिकोण अपनाउने उनले बताए ।

३- तारकेश्वर नगरपालिका-९ शुभकामना चोकमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला परेको छ । नक्सालस्थित सानिमा क्यापिटलमा मर्चेन्ट हेडका रूपमा कार्यरत ४५ वर्षीया रश्मी रिजालको शव फेला परेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तारकेश्वर नगरपालिका-१ कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्रमा बिएई ०४१० ईभी कारभित्र पछाडिको सिटमा जलेको अवस्थामा उनको शव फेला परेको हो ।  प्रहरीले घटनाको अनुसन्धान गरिएको जनाएको छ ।

४- नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार गठन तथा सञ्चालनका लागि तीन बुँदे सहमति भएको छ । दुवै दलले प्रदेश सभामा देखिएको बजेट निर्माणको असमझदारी, बजेटविहीन अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धाको अन्त्य गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्र बनाउने उद्देश्यले सहमति गरेको बताएका छन् । सहमतिअनुसार दुवै दलले प्रदेश सभामा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्नेछन् । कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने सहमति भएको छ । यस्तै, मधेश र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग पनि परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमतिपत्रमा उल्लेख गरिएको छ । यो सहमतिपत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका छन् । दुवै दलले प्रदेशमा स्थिर सरकार गठनमार्फत जनअपेक्षाअनुसार विकास र सुशासनलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

५- सर्लाहीस्थित भूमिगत जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ७ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार बोरिङ र मोटर जडानको काम सम्पन्न भएपछि भुक्तानी गरिदिने क्रममा सेवाग्राहीलाई दुःख हैरानी दिँदै घुस मागेको भन्ने उजुरीका आधारमा बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीबाट ७ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । आयोगले जिल्ला सर्लाहीको बागमती नगरपालिका–१२ स्थित कार्यालय प्रमुखको सरकारी क्वाटरबाट घुस रकम ७ लाख ५० हजार रुपैयाँ, स्रोत नखुलेको ७१ हजार ११५ रुपैयाँ नगद तथा तीन थान मोबाइल समेत बरामद गरेको जनाएको छ । उनीहरूलाई साउन ८ गते नियन्त्रणमा लिइएको आयोगले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

६- कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले राजीनामा दिएका छन् । मुख्यमन्त्री कँडेलले प्रदेश सभामा सम्बोधन गर्दै प्रमुख दल नेपाली काँग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफुविरुद्ध अविश्वास प्रस्ताव ल्याएको भन्दै आफुले राजीनामा दिने घोषणा गरेका थिए । मुख्यमन्त्रीले राजीनामाको घोषणा गरेपछि अविश्वासको प्रस्ताव अगाडी बढाउन आवश्यक नभएको भन्दै प्रदेश सभा बैठक स्थगित भएको छ । यसअघि नेपाली काँग्रेस र नेकपाले मुख्यमन्त्री कंडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । कांग्रेस र नेकपा मिलेर गत बिहीबार दर्ता गरेको अविश्वासको प्रस्तावमा मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई प्रस्ताव गरिएको छ । ४० सदस्यीय प्रदेश सभामा काँग्रेस र नेकपाका १४-१४ सांसद छन् भने एमालेका १० तथा राप्रपा र स्वतन्त्र एक एक सांसद छन् ।

७- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुगेका छन् । शिक्षा तथा खेलकुद  मन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गरेका थिए । त्यसलगत्तै वार्तामार्फत अनशनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाएको हो । यसैबीच, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जे.पी. अग्रवाल र स्वास्थ्य सचिव पनि आइतबार धनगढी पुगेर डा. केसीसँग संवाद गर्ने कार्यक्रम रहेको छ ।सरकारले वार्तामार्फत डा. केसीको अनशनको सहमतिपूर्ण निकास खोज्ने प्रयासलाई तीव्र बनाएको छ ।

images

८- बुद्ध एयरले नेपालकै पहिलो एटीआर ७२-६०० विमान थपेको छ । कम्पनीले यो विमानलाई आधुनिक प्रविधि, उच्च सुरक्षा, इन्धनको किफायती प्रयोग तथा यात्रुका लागि थप आरामदायी यात्राको अनुभव दिने नयाँ पुस्ताको विमानका रूपमा सार्वजनिक गरेको हो । कम्पनीका अनुसार ९एन-एओएस दर्ता नम्बर रहेको यो विमान अत्याधुनिक उडान प्रणालीसँग सुसज्जित छ । यसमा रहेको आधुनिक उडान उपकरण र आरएनपी-एआर प्रविधिले उडान सञ्चालनलाई अझ भरपर्दो, सुरक्षित र प्रभावकारी बनाउन सहयोग गर्ने विश्वास गरिएको छ । बुद्ध एयरले यो विमानको आगमनसँगै नेपालभर सुरक्षित, भरपर्दो र आधुनिक हवाई सेवा उपलब्ध गराउने आफ्नो प्रतिबद्धता थप बलियो भएको जनाएको छ । कम्पनीले नयाँ विमान थपिनु नेपाली हवाई सेवाको विकासमा अर्को महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यात्रुहरूको विश्वास र साथप्रति आभार व्यक्त गरेको छ । यो विमान फ्रान्सको एयरबस र इटालीको लियोनार्दो कम्पनीको संयुक्त साझेदारीमा रहेको एटीआर कम्पनीले निर्माण गरेको हो । यो विमानमा एकपटकमा ७० देखि ७८ जना यात्रुसम्म यात्रा गर्न सक्ने क्षमता रहेको छ । विमानमा दुईवटा प्राट एन्ड ह्विट्नी पीडब्लु १२७ एम टर्बोप्रप इन्जिन जडान गरिएका छन्, जसमा छ पात भएको प्रोपेलर प्रयोग गरिएको छ। यसले इन्धनको खपत कम गर्दै प्रभावकारी उडान सञ्चालनमा सहयोग पुर्‍याउँछ । एटीआर ७२–६०० ले करिब १ हजार ५२८ किलोमिटरसम्म उडान भर्न सक्छ । यसको औसत उडान गति करिब २७५ नटिकल नट (झण्डै ५१० किलोमिटर प्रतिघण्टा) रहेको छ । यो विमानको अर्को विशेषता यसको माथिल्लो भागमा रहेको पखेटाको बनावट हो, जसले दुर्गम तथा क्षेत्रीय विमानस्थलमा सञ्चालनलाई सहज बनाउँछ । साथै, धेरैजसो एटीआर ७२–६०० विमानमा यात्रु चढ्न र ओर्लिनका लागि विमानमै जोडिएको भर्‍याङ हुने भएकाले छुट्टै भर्‍याङको आवश्यकता पर्दैन र यात्रु चढाउने तथा ओर्लाउने प्रक्रिया छिटो सम्पन्न हुन्छ । आधुनिक प्रविधि, इन्धनको किफायती प्रयोग, उच्च सुरक्षा मापदण्ड र क्षेत्रीय विमानस्थलमा सहज सञ्चालनका कारण एटीआर ७२–६०० अहिले विश्वका लोकप्रिय क्षेत्रीय यात्रुवाहक विमानमध्ये एक मानिन्छ ।

९- आर्थिक ऐन, २०८३ अनुसार साउन १ गतेदेखि विद्युत् शक्तिमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू हुने व्यवस्था भएको तर असार महिनाको विद्युत् खपतमा समेत भ्याट जोडेर बिल पठाइएको विषयमा देखिएको जनगुनासोप्रति ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राजश्वसँग राय मागेको छ । असार महिनामा खपत भएको विद्युतको बिल साउनको पहिलो सातामा जारी गर्दा भ्याट समावेश गरिएको भन्दै उपभोक्ताबाट व्यापक गुनासो आएपछि मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई विषयको कानुनी र व्यवहारिक पक्ष स्पष्ट गरी उपभोक्तालाई अन्याय नहुने गरी समाधान खोज्न निर्देशन दिएको थियो । नेपाल विद्युत् प्राधिकरणले असार महिनामा खपत भएको विद्युतको बिल साउन महिनामा जारी हुँदा भ्याट लाग्ने वा नलाग्ने भन्ने विषयमा स्पष्ट कानुनी व्याख्या खोज्दै आन्तरिक राजस्व विभागसँग औपचारिक राय मागेको छ । साथै, न्यूनतम डिमान्ड चार्जमा पनि भ्याट लागू हुने वा नहुने विषयमा समेत विभागको धारणा मागिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार आन्तरिक राजस्व विभागबाट प्राप्त हुने आधिकारिक रायका आधारमा आगामी महिनाको बिलमा आवश्यक मूल्य समायोजन गरिनेछ । यसबाट उपभोक्ताबाट उठेका गुनासोको समाधान हुने अपेक्षा गरिएको छ ।

images

१०- भारतका वातावरण अभियन्ता तथा शिक्षाविद् सोनम वाङ्चुकले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि यसलाई लोकतन्त्रको विजयको रूपमा व्याख्या गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै वाङ्चुकले यो सडकबाट उठेको प्रत्यक्ष लोकतन्त्रको जित भएको बताएका छन् । उनले शान्ति, धैर्य र निरन्तर संघर्षको पनि विजय भएको उल्लेख गरेका छन् । उनले ककरोच जनता पार्टी (सिजेपी) को आव्हानमा आन्दोलनमा सहभागी भएका देशभरका नयाँ पुस्ता तथा सबै नागरिकलाई बधाई दिँदै डर र त्रासलाई पराजित गरेर देशका हरेक कुनाबाट आवाज उठाएकोमा धन्यवाद व्यक्त गरेका छन् । वाङ्चुकले अब जिम्मेवारी सुनिश्चित गरिसकेपछि सुधारको चरणतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनका अनुसार राजीनामा अन्तिम लक्ष्य नभई शिक्षा प्रणालीमा आवश्यक सुधार लागू गर्नु नै अबको प्रमुख दायित्व हो । उनले लोकतान्त्रिक दबाबले परिवर्तन सम्भव हुने सन्देश दिएको भन्दै अब शिक्षा क्षेत्रमा दीर्घकालीन सुधारका लागि सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।

११- पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत प्राधिकरणको उच्च नेतृत्वले मोरङ र सुनसरीका विद्युत पूर्वाधार तथा वितरण प्रणालीको स्थलगत अनुगमन सुरु गरेको छ । विराटनगरलगायत पूर्वी क्षेत्रमा पटक–पटक विद्युत अवरुद्ध हुने र झ्याप्प–झ्याप्प बत्ती जानेबारे जनगुनासो बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले तत्काल समस्या समाधानका लागि आवश्यक पहल गर्न प्राधिकरण नेतृत्वलाई निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठ र वितरण तथा ग्राहक सेवा निर्देशनालय प्रमुख तथा उपकार्यकारी निर्देशक राजन ढकालसहितको टोली पूर्वी क्षेत्रमा पुगेको हो । प्राधिकरणको उच्च नेतृत्वले प्रादेशिक कार्यालय प्रमुख तथा मोरङ र सुनसरीलगायतका जिल्लाका वितरण शाखा प्रमुखहरूसँग विद्युत आपूर्तिको वर्तमान अवस्था, समस्या र समाधानका उपायबारे छलफल गरेको छ । प्रादेशिक कार्यालयमा २४ जना कार्यालय तथा केन्द्र प्रमुखसँग भएको समन्वयात्मक बैठकमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक निर्देशन दिइएको प्राधिकरणले जनाएको छ । टोलीले ट्रान्सफर्मर मर्मत कार्यशालाको निरीक्षण गर्नुका साथै दुहबी ग्रिड महाशाखाअन्तर्गतको दुहबी सबस्टेसनको अवस्था अवलोकन गरी आवश्यक तयारीलाई तीव्र बनाउन निर्देशन दिएको छ । त्यसैगरी, सुनसरीको बर्जुस्थित १३२ केभी सबस्टेसन निर्माण तीन महिनाभित्र सम्पन्न गर्ने गरी कर्मचारी र निर्माण कम्पनीलाई स्पष्ट कार्यादेश दिइएको छ । मोरङको केरङस्थित सबस्टेसन पनि एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित कार्यतालिका बनाएर निर्माण कार्य अघि बढाउन निर्देशन दिइएको प्राधिकरणले जनाएको छ । दुवै सबस्टेशन रणनीतिक रुपमा महत्वपूर्ण रहेकाले आवश्यक समन्वय, सहजीकरण गर्न कर्मचारीलाई निर्देशन दिइएको छ । साथै पर्याप्त मजदूर परिचालन गर्न ठेकेदार कम्पनीलाई समेत निर्देशन दिइएको छ ।  प्राधिकरणका अनुसार पूर्वी क्षेत्रमा सञ्चालित अन्य आयोजना, प्रादेशिक कार्यालय तथा वितरण शाखाको अनुगमनसमेत जारी छ । विद्युत सेवालाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन कर्मचारीलाई आवश्यक समन्वय, सहजीकरण र जिम्मेवारीपूर्वक काम गर्न प्रोत्साहित गरिएको प्राधिकरणले जनाएको छ।

images

१२- खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग ३ लाख ८ हजार २ सय ७१ अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ । उक्त रकम गाभी ६.० अन्तर्गत नेपालले आगामी दिनमा प्राप्त गर्ने सहयोगबाट समायोजन गरिने भएको छ । गाभीले पत्रमार्फत विश्व स्वास्थ्य सभाका क्रममा भएको द्विपक्षीय भेटवार्ता, त्यसपछिको पत्राचार तथा नेपाल सरकारले प्रस्तुत गरेको प्रस्तावका आधारमा उक्त निर्णय गरिएको जानकारी दिएको हो । गाभीले आफ्नो निर्णयलाई नेपालका लागि विशेष र एकपटकका लागि गरिएको व्यवस्था भएको स्पष्ट गरेको छ। साथै, भविष्यमा यस्ता विषयमा यही निर्णयलाई नजिरका रूपमा नलिइने पनि पत्रमा उल्लेख छ। गाभीले हालसम्म नेपाललाई ५५० मिलियन अमेरिकी डलरभन्दा बढी बराबरको सहयोग उपलब्ध गराइसकेको छ। उक्त सहयोगबाट नेपालमा नियमित खोप कार्यक्रम सञ्चालन, नयाँ खोपको सुरुआत तथा विस्तार, कोल्ड चेन (खोप भण्डारण तथा ढुवानी प्रणाली) सुदृढीकरण, खोप खरिद, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, खोप आपूर्ति व्यवस्थापन तथा कोभिड–१९ विरुद्धको खोप अभियानलगायतका कार्यक्रम सञ्चालनमा सहयोग पुगेको छ । नेपाल र गाभीबीच सन् २०१४ मा साझेदारी ढाँचामा हस्ताक्षर भएपछि गाभी सहयोगमा सञ्चालित कार्यक्रमको व्यवस्थापन तथा वित्तीय प्रणालीको समीक्षा गर्ने क्रममा सन् २०२२ मा विशेष अडिट गरिएको थियो। उक्त अडिटले आर्थिक वर्ष २०१६/१७ देखि २०२१/२२ सम्मको अवधिलाई समेटेको थियो। अडिट टोलीले स्वास्थ्य सेवा विभागसहित २२ वटा कार्यान्वयन निकायको स्थलगत अध्ययन तथा परीक्षण गरेको थियो । प्रारम्भिक अडिटपछि नेपाल सरकारले आवश्यक वित्तीय कागजात तथा अभिलेख संकलन गरी पुनः परीक्षणको अनुरोध गरेको थियो। त्यसअनुसार गाभीको अडिट टोली सन् २०२४ अप्रिल २२ देखि मे १ सम्म पुनः नेपाल आएर फलो अप अडिट सम्पन्न गरेको थियो। पुनः परीक्षणपछि गाभीले १३ नोभेम्बर २०२४ मा तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गर्दै ३ लाख ८ हजार २ सय ७१ अमेरिकी डलर सम्बन्धमा नेपाल सरकारको प्रतिबद्धता तथा भुक्तानी योजना माग गरेको थियो। गाभीले आफ्नो पत्रमा नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमप्रतिको प्रतिबद्धता, खोप सेवाको विस्तार तथा वित्तीय व्यवस्थापन, लेखारीक्षणको सुझावहरुको समयमै कार्यान्वयन र कार्यक्रम सञ्चालनमा सुधारका लागि चालिएका प्रयासको प्रशंसा गरेको छ। साथै नेपालसँगको दीर्घकालीन सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । मन्त्रालयका अनुसार उक्त निर्णयले नेपाल–गाभी साझेदारीलाई थप सुदृढ बनाउनुका साथै राष्ट्रिय खोप कार्यक्रमको दिगोपन र आगामी स्वास्थ्य कार्यक्रम सञ्चालनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।

१३- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका ४८ जना बचतकर्तालाई करिब १२ लाख रुपैयाँ बचत रकम फिर्ता गरेको छ । समितिका अनुसार ७० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिक, स्वीकृतिप्राप्त चिकित्सकबाट प्रमाणित प्राणघातक रोगबाट पीडित बचतकर्ता, एकल महिला, पूर्ण अपाङ्गता भएका व्यक्ति तथा पाँच लाखभन्दा बढी बचत भएका बचतकर्तालाई एकपटकमा अधिकतम ५० प्रतिशतसम्म, तर ५० हजार रुपैयाँ ननाघ्ने गरी रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ । आज कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका ३७ जना, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ४ जना, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ३ जना, आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका २ जना तथा पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका २ जना गरी ४८ जना बचतकर्तालाई प्रतिव्यक्ति २५ हजार रुपैयाँका दरले बचत फिर्ता गरिएको  हो। समितिका अनुसार बचतकर्ताबाट प्राप्त निवेदन तथा मागदाबीका आधारमा निर्धारित प्राथमिकता बमोजिम बचत फिर्ता गर्ने कार्य आगामी दिनमा पनि नियमित रूपमा जारी रहने छ। समितिले सहकारी ऐन, २०७४, सर्वोच्च अदालतको निर्देशनात्मक आदेश तथा सरकारको १०० दिने कार्ययोजनाअनुसार बचतकर्ताको मागदाबी र प्राथमिकताका आधारमा बचत फिर्ता गरेको जनाएको छ।

१४- सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई अस्पताल लागिएको छ । शनिबार बिहान सेती प्रादेशिक अस्पतालका चिकित्सकले गरेको स्वास्थ्य परीक्षणमा उनको रक्तचाप ११०/९० र रगतमा सुगरको मात्रा ५० मात्र रहेको पाइए पछि उनलाई सेती प्रादेशिक अस्पताल लागिएको हो । धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालामा अनसनरत डा. केसीको स्वास्थ्य परीक्षणपछि चिकित्सकले तत्काल सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरी उपचार गर्न सुझाव दिएपछि उनलाई अस्पताल पुर्याइएको छ । सहयोगी अमृत जैशीका अनुसार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शुक्रबार साँझ डा. केसीका सहयोगीसँग तथा राति स्वयं डा. केसीसँग टेलिफोन संवाद गर्दै माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने र आवश्यक परे धनगढी नै आउने प्रतिबद्धता जनाएका छन् ।  डा. केसी बिहीबारदेखि पाँच बुँदे मागसहित सत्याग्रहमा बसेका छन् । उनले सहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल ३०० शैयाको अस्पताल सञ्चालन, चिकित्सा शिक्षाको अध्ययन सुरु गर्नुपर्ने तथा स्वार्थप्रेरित रूपमा गरिएको उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने मागलाई आफ्नो प्रमुख अडानका रूपमा अघि सारेका छन् ।

१५- इटाली फुटबल महासङ्घले सन् २००६ को विश्वकप विजेता टोलीका सदस्य आन्द्रेआ पिर्लोलाई राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ । दुवै पक्षबीच सहमति भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । केही दिनसम्मको छलफलपछि महासङ्घले नयाँ परियोजनाको नेतृत्व पिर्लोलाई सुम्पने निर्णय गरेको हो । यसअघि म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई इटालीको प्रशिक्षक बनाउने चर्चा भए पनि अन्ततः त्यो सम्भावना टरेको थियो । पिर्लोका लागि प्रशिक्षकका रूपमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो जिम्मेवारी हुनेछ । उनले युभेन्टसको तेइस वर्षमुनिको टोलीबाट प्रशिक्षण यात्रा सुरु गरेका थिए । त्यसपछि अप्रत्याशित रूपमा युभेन्टसको पहिलो टोलीको प्रशिक्षक बनेर इटाली कप र इटाली सुपर कप जिताएका थिए । त्यसपछि उनले टर्कीको फातिह करागुमरुक, इटालीको साम्पडोरिया तथा पछिल्लो समय संयुक्त अरब इमिरेट्सको युनाइटेड फुटबल क्लबको प्रशिक्षण सम्हालेका थिए । यी अनुभवले उनलाई विभिन्न फुटबल परिवेशमा काम गर्ने अवसर दिएको मानिएको छ । प्रशिक्षकका रूपमा पिर्लोले हालसम्म १३७ आधिकारिक खेलमध्ये ६८ खेलमा जित, ३१ खेलमा बराबरी र ३८ खेलमा हार बेहोरेका छन् । इटाली फुटबल महासङ्घले यही अनुभवलाई राष्ट्रिय टोलीको भविष्य निर्माण गर्ने आधारका रूपमा लिएको जनाएको छ । महासङ्घले पिर्लोको नियुक्तिसँगै दीर्घकालीन योजनालाई अघि बढाउने लक्ष्य राखेको छ । आधुनिक सोच भएका युवा इटाली प्रशिक्षकमार्फत राष्ट्रिय टोलीमा स्थायित्व कायम गर्ने, युवा खेलाडीलाई अवसर दिने र टोलीको स्पष्ट खेल शैली विकास गर्ने योजना रहेको बताइएको छ । खेलाडीका रूपमा पिर्लो इटाली फुटबलका उत्कृष्ट मध्यपङ्क्तिका खेलाडीमध्ये एक मानिन्छन् । खेल पढ्ने क्षमता, उत्कृष्ट पास र शान्त नेतृत्वका कारण उनले विशेष पहिचान बनाएका थिए । अब प्रशिक्षकका रूपमा उनले त्यही सोच र शैलीलाई राष्ट्रिय टोलीमा उतार्ने चुनौती सामना गर्नेछन् । सन् २००६ को विश्वकप विजेता टोलीका प्रमुख सदस्य रहेकाले उनीमाथि समर्थकको अपेक्षा पनि उच्च रहनेछ । यद्यपि सफल खेलाडी हुनु मात्र प्रशिक्षकका रूपमा सफलताको ग्यारेन्टी नहुने भएकाले अब उनको वास्तविक मूल्याङ्कन टोलीको प्रदर्शन र नतिजाबाट हुने विश्वास गरिएको छ। इटालीले पिर्लोको नेतृत्वमा राष्ट्रिय टोलीको नयाँ युग सुरु हुने अपेक्षा गरेको छ ।

Nepal life insurance

१६- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि मसी प्रहार तथा दुर्व्यवहार भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिअनुसार साउन ७ गते जनतासँगको भेटघाट कार्यक्रम सम्पन्न गरी फर्कने क्रममा सांसद पौडेलमाथि कालो मसी प्रहार गरिएको थियो । संसदीय दलले उक्त घटनालाई हिंसात्मक, अमर्यादित र निन्दनीय गतिविधि भन्दै यसको घोर भर्त्सना गरेको छ। विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा असहमति र विरोध व्यक्त गर्ने अधिकार सुरक्षित रहे पनि जनप्रतिनिधिमाथि हुने हिंसा, दुर्व्यवहार वा अपमानजनक व्यवहार कुनै पनि लोकतान्त्रिक समाजमा स्वीकार्य हुन नसक्ने उल्लेख गरिएको छ । रास्वपाले यस्ता गतिविधिले विधिको शासन, लोकतान्त्रिक संस्कार तथा शान्तिपूर्ण र सभ्य राजनीतिक अभ्यासमाथि आघात पुग्ने जनाएको छ । पार्टीले घटनाको निष्पक्ष अनुसन्धान गरी संलग्न व्यक्तिलाई कानुनबमोजिम कडा कारबाही गर्न, घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी जनप्रतिनिधिहरूको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग माग गरेको छ । रास्वपाले लोकतान्त्रिक मूल्य, विधिको शासन, अहिंसात्मक राजनीतिक अभ्यास तथा सभ्य समाज निर्माणप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याएको छ।

१७- मुगुको मुगम कार्मारोङ गाउँपालिका –०५ पुलु बजारमा घरमाथि ढुंगा सहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । शनिबार साउन ९ गते बिहान करिब ४ बजे मुगम कार्मारोङ गाउँपालिका –०५ पुलु बजारमा पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गरी बस्दै आएका छायाँनाथ रारा नगरपालिका –१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र ३ वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा माथिबाट ढुंगा सहितको पहिरो घरमा खसेको थियो । पहिरोले च्यापिएका ३ वर्षीय रमेश बडुवाललाई प्रहरी चौकी डोल्फु पुलुबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट उद्धार गरेका थिए । बिहान ४:४८ बजे उनलाई पुलु स्वास्थ्य चौकी पुर्‍याइए पनि उपचारकै क्रममा बिहान ५:४५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । घटनामा जगनाथ र सृजना सामान्य घाइते भएका छन् भने उनीहरूको पुलु स्वास्थ्य चौकीमा उपचार भईरहेको र अवस्था सामान्य रहेको छ । पहिरोले उक्त घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ । साथै, थप क्षति हुन सक्ने जोखिमका कारण आसपासका आठ घर उच्च जोखिममा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

१८- स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि परेका आवेदनमध्ये १३ जनाको आवेदन स्वीकृत भएको छ । कार्यकारी निर्देशक पदपूर्ति सिफारिस समितिले शुक्रबार सूचना प्रकाशित गर्दै २०८३ असार ३ गते प्रकाशित सूचनाअनुसार तोकिएको अवधिभित्र प्राप्त आवेदनहरूको छानबिन गर्दा निर्देशिकामा उल्लेखित योग्यता तथा मापदण्ड पूरा गरेका १३ जनाको आवेदन स्वीकृत भएको जनाएको हो। समितिले स्वीकृत भएका उम्मेदवारहरूमा डा. राजेन्द्रकुमार पोखरेल, सुभाष कोइराला, बुद्ध काजी श्रेष्ठ, गंगा प्रसाद जोशी, डा. प्रमोदकुमार यादव, डा. मुक्तिनाथ खनाल, डा. हुमनाथ गैरे, राजन श्रेष्ठ, तुलसीप्रसाद सुवेदी, विमला भट्ट, पारस अधिकारी, रोशनकुमार महतो र उत्तमकुमार कोइराला रहेको जनाएको छ ।

१९-  खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग ३ लाख ८ हजार २ सय ७१ अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ । उक्त रकम गाभी ६.० अन्तर्गत नेपालले आगामी दिनमा प्राप्त गर्ने सहयोगबाट समायोजन गरिने भएको छ । गाभीले पत्रमार्फत विश्व स्वास्थ्य सभाका क्रममा भएको द्विपक्षीय भेटवार्ता, त्यसपछिको पत्राचार तथा नेपाल सरकारले प्रस्तुत गरेको प्रस्तावका आधारमा उक्त निर्णय गरिएको जानकारी दिएको हो । गाभीले आफ्नो निर्णयलाई नेपालका लागि विशेष र एकपटकका लागि गरिएको व्यवस्था भएको स्पष्ट गरेको छ। साथै, भविष्यमा यस्ता विषयमा यही निर्णयलाई नजिरका रूपमा नलिइने पनि पत्रमा उल्लेख छ । गाभीले हालसम्म नेपाललाई ५५० मिलियन अमेरिकी डलरभन्दा बढी बराबरको सहयोग उपलब्ध गराइसकेको छ। उक्त सहयोगबाट नेपालमा नियमित खोप कार्यक्रम सञ्चालन, नयाँ खोपको सुरुआत तथा विस्तार, कोल्ड चेन (खोप भण्डारण तथा ढुवानी प्रणाली) सुदृढीकरण, खोप खरिद, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, खोप आपूर्ति व्यवस्थापन तथा कोभिड–१९ विरुद्धको खोप अभियानलगायतका कार्यक्रम सञ्चालनमा सहयोग पुगेको छ । नेपाल र गाभीबीच सन् २०१४ मा साझेदारी ढाँचामा हस्ताक्षर भएपछि गाभी सहयोगमा सञ्चालित कार्यक्रमको व्यवस्थापन तथा वित्तीय प्रणालीको समीक्षा गर्ने क्रममा सन् २०२२ मा विशेष अडिट गरिएको थियो। उक्त अडिटले आर्थिक वर्ष २०१६/१७ देखि २०२१/२२ सम्मको अवधिलाई समेटेको थियो। अडिट टोलीले स्वास्थ्य सेवा विभागसहित २२ वटा कार्यान्वयन निकायको स्थलगत अध्ययन तथा परीक्षण गरेको थियो । प्रारम्भिक अडिटपछि नेपाल सरकारले आवश्यक वित्तीय कागजात तथा अभिलेख संकलन गरी पुनः परीक्षणको अनुरोध गरेको थियो। त्यसअनुसार गाभीको अडिट टोली सन् २०२४ अप्रिल २२ देखि मे १ सम्म पुनः नेपाल आएर फलो अप अडिट सम्पन्न गरेको थियो। पुनः परीक्षणपछि गाभीले १३ नोभेम्बर २०२४ मा तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गर्दै ३ लाख ८ हजार २ सय ७१ अमेरिकी डलर सम्बन्धमा नेपाल सरकारको प्रतिबद्धता तथा भुक्तानी योजना माग गरेको थियो । गाभीले आफ्नो पत्रमा नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमप्रतिको प्रतिबद्धता, खोप सेवाको विस्तार तथा वित्तीय व्यवस्थापन, लेखारीक्षणको सुझावहरुको समयमै कार्यान्वयन र कार्यक्रम सञ्चालनमा सुधारका लागि चालिएका प्रयासको प्रशंसा गरेको छ। साथै नेपालसँगको दीर्घकालीन सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । मन्त्रालयका अनुसार उक्त निर्णयले नेपाल–गाभी साझेदारीलाई थप सुदृढ बनाउनुका साथै राष्ट्रिय खोप कार्यक्रमको दिगोपन र आगामी स्वास्थ्य कार्यक्रम सञ्चालनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।

२०- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन वा रुस इरानसँगको युद्धमा संलग्न रहेको आफूलाई नलागेको बताएका छन् । तर ती देशहरूले युद्धमा हस्तक्षेप गरे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएका छन् । सामाजिक सञ्जालमार्फत ट्रम्पले हालै बेइजिङमा भएको भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले कुनै पनि अवस्थामा इरानलाई हतियार उपलब्ध नगराउने विश्वास दिलाएको बताएका छन् । उनले चिनियाँ कम्पनीहरूले पनि इरानलाई हतियार नदिने प्रतिबद्धता जनाएको उल्लेख गरेका छन् । ट्रम्पले सी जिनपिङप्रति आफूलाई विश्वास रहेको बताएका छन्। साथै, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि इरानलाई हतियार बिक्री नगर्ने जानकारी आफूलाई दिएको उनको दाबी छ । उनले युक्रेन युद्ध जारी रहे पनि पुटिनसँग आफ्नो संवाद निरन्तर रहेको बताएका छन्। ट्रम्पका अनुसार अमेरिका युक्रेनलाई प्रत्यक्ष रूपमा हतियार बिक्री गर्दैन, बरु उत्तर एटलान्टिक सन्धि सङ्गठनका सदस्य राष्ट्रहरूलाई बिक्री गर्छ। ती देशहरूले हतियारको पूरा मूल्य तिर्छन् र त्यसपछि ती हतियार कहाँ र कसरी पठाइन्छ भन्नेबारे आफूलाई जानकारी नहुने उनले बताए । ट्रम्पले इरान र अमेरिकाबीच वार्ता जारी रहेको पनि जानकारी दिएका छन्। इरान वार्ताका लागि तयार भए अमेरिका पनि छलफल गर्न इच्छुक रहेको तर इरानलाई कुनै पनि अवस्थामा आणविक हतियार राख्न अनुमति नदिइने उनको भनाइ छ । वासिङ्टनमा आयोजित एक कार्यक्रममा ट्रम्पले अमेरिकी सैन्य कारबाहीबाट इरानको सैन्य क्षमतामा ठूलो क्षति पुगेको दाबी गरे । उनले इरानसँग अहिले प्रभावकारी राडार प्रणाली नरहेको, ड्रोनको सङ्ख्या पनि निकै घटेको र कहिलेकाहीँ छिटपुट आक्रमण गरे पनि पहिलेजस्तो क्षमता अब नरहेको बताएका छन् ।