साउदी राजकुमारको अत्याधिक ड्रग्स शेवनका कारण मृत्यु भएको खुलासा

काठमाडौं, ९  । साउदी अरबका २९ वर्षीय राजकुमार अब्दुल्लाह बिन फहद बिन अब्दुल्लाह बिन अब्दुलअजिज बिन जलावी अल साउदको गत वर्ष लन्डनको एक विलासी होटलमा निधन भएको थियो।

हालै गरिएको अनुसन्धानबाट रक्सी, पार्टीमा प्रयोग गरिने लागुपदार्थ र चिकित्सकले सिफारिस गरेका औषधिहरूको घातक मिश्रणका कारण मुटुको चाल अचानक बन्द भई ‘कार्डियाक अरेस्ट’ कारण उनको मृत्यु भएको खुलेको छ।

राजकुमार १९ नोभेम्बरमा लन्डनको केन्सिङ्टनस्थित म्यारियट होटलमा बसिरहेका थिए। २५ नोभेम्बरमा होटलको पाँचौं तलामा रहेको उनको कोठाको बाथरुममा उनको शव फेला परेको थियो । मृत्यु  हुनु अघिल्लो साँझ होटलको सीसीटीभीमा उनलाई अन्तिम पटक जीवित अवस्थामा देखिएको थियो।

इनर वेस्ट लन्डन कोरोनर अदालतमा भएको सुनुवाइमा, सहायक कोरोनर जिन हार्किनले उक्त मृत्युलाई दुर्घटना अर्थात् अन्जानवश भएको ज्यान जाने घटना भनी ठहर गरिएको थियो । राजकुमारले आत्महत्या गर्ने योजना बनाएका थिए भन्ने कुनै प्रमाण अदालतले फेला पारेको छैन ।

विष विज्ञान सम्बन्धी प्रतिवेदनका अनुसार राजकुमारको रगतमा अल्कोहलको मात्रा प्रति १०० मिलिलिटरमा २२२ मिलिग्राम थियो, जुन इङ्गल्याण्डमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउन तोकिएको कानुनी सीमा भन्दा झन्डै तीन गुणा बढी हो। विज्ञहरूले अदालतलाई जानकारी गराए अनुसार अल्कोहलको यति मात्राले पनि कुनै व्यक्तिलाई कोमामा पुर्‍याउन पर्याप्त हुन सक्छ।

अनुसन्धानबाट यो पनि पत्ता लाग्यो कि राजकुमार यस होटलमा एक हप्ता बसेका थिए, जहाँको कोठाको भाडा प्रतिरात करिब ६०० युरो थियो। साथै, अदालतलाई यो पनि जानकारी गराइयो कि उनी लामो समयदेखि मदिराको अत्यधिक सेवन र चिकित्सकको सिफारिसमा पाइने औषधि माथिको निर्भरताको समस्याबाट ग्रसित थिए।