अष्ट्रेलियाविरुद्धको टेस्ट सिरिजका लागि बंगलादेश टिमको घोषणा

काठमाडौँ । बंगलादेशले आगामी अगस्टमा अष्ट्रेलियासँग हुने दुई खेलको टेस्ट सिरिजका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ ।

टोलीको कप्तानी नजमुल हुसेन शान्तोले गर्नेछन् । बंगलादेशले सन् २००३ पछि पहिलो पटक अष्ट्रेलियाको भूमिमा टेस्ट क्रिकेट खेल्न लागेको हो । यो सिरिज अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को विश्व टेस्ट च्याम्पियनसिप २०२५-२७ अन्तर्गत हुनेछ ।

सन् २०२१ पछि पहिलो पटक टेस्ट टोलीमा फर्किएका सौम्य सरकार पनि टोलीमा समावेश भएका छन् । ब्याटिङतर्फ शान्तो, सौम्य सरकार, मुश्फिकुर रहिम, मोमिनुल हक र शादमान इस्लामजस्ता अनुभवी खेलाडी रहेका छन् ।

चोटका कारण प्रभावित भएको तीव्र गतिका बलर विभागको जिम्मेवारी तास्किन अहमद, हसन महमुद, खालिद अहमद र एबादोत हुसेनले सम्हाल्नेछन्। पहिलो पटक मुस्फिक हसनलाई पनि टोलीमा स्थान दिइएको छ । स्पिन आक्रमणको नेतृत्व मेहदी हसन मिराज र ताइजुल इस्लामले गर्नेछन् ।

बंगलादेशका टिम:  नजमुल हुसेन शान्तो (कप्तान), सौम्य सरकार, शादमान इस्लाम, तन्जिद हसन, मोमिनुल हक, मुश्फिकुर रहिम, अमित हसन, जाकेर अली अनिक, मेहदी हसन मिराज (उपकप्तान), ताइजुल इस्लाम, तास्किन अहमद, हसन महमुद, सैयद खालिद अहमद, एबादोत हुसेन चौधरी र मुस्फिक हसन।

हाल विश्व टेस्ट च्याम्पियनसिपको अंकतालिकामा अष्ट्रेलिया ८७.५० प्रतिशत अंकसहित शीर्ष स्थानमा छ भने बंगलादेश ५८.३३ प्रतिशत अंकसहित चौथो स्थानमा रहेको छ ।

दुई टोलीबीचको पहिलो टेस्ट अगस्ट १३ देखि १७ सम्म डार्विनमा तथा दोस्रो टेस्ट अगस्ट २२ देखि २६ सम्म म्याकेमा खेलिनेछ ।

अर्कोतर्फ अष्ट्रेलियाले घरेलु मैदानमा बंगलादेशविरुद्ध हुने दुई खेलको सिरिजका लागि १३ सदस्यीय टोली घोषणा गरेको छ । टोलीको कप्तानी प्याट कमिन्सले गर्नेछन्। टोलीमा स्कट बोल्यान्ड, एलेक्स केरी, क्यामरुन ग्रिन, जोस हेजलउड, ट्राभिस हेड, जोस इङ्ग्लिस, मार्नस लाबुशेन, नाथन लायन, स्टिभ स्मिथ, मिचेल स्टार्क, जेक वेदराल्ड र बो वेब्स्टर समावेश छन् ।