
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस पहिलो सेमेस्टर को प्रश्नपत्र चुहावट प्रकरणमा संलग्न रहेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कैलाली घर भई हाल भक्तपुर बस्दै आएका ३३ वर्षीय शिक्षक सन्दीप सिंह लाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। सिंहले काठमाडौंका दुईवटा कलेजमा अध्यापन गराउँदै आएका थिए।

गत शुक्रबार सञ्चालन भएको एमजीटी–५१५ (अर्गनाइजेसनल बिहेभियर) विषयको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र ह्वाट्सएप समूहमार्फत सार्वजनिक भएको थियो। त्यसपछि व्यवस्थापन संकाय डीन कार्यालयले घटनाको अनुसन्धान र आवश्यक कारबाहीका लागि शनिबार नै सीआईबीलाई पत्राचार गरेको थियो।


प्रश्नपत्र करिब एक हजार २३ सदस्य रहेको ह्वाट्सएप समूह मा सार्वजनिक भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनापछि त्रिवि परीक्षा नियन्त्रण महाशाखाले प्राध्यापक डा. अच्युत ज्ञवाली को संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाई सात कार्यदिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।

सीआईबीले एमबीएसका अन्य विषयका परीक्षा अझै बाँकी रहेकाले प्रश्नपत्र चुहावट वा अन्य गैरकानुनी गतिविधिमा संलग्न नहुन सम्बन्धित सबैलाई सचेत गराउँदै यस्ता कार्यमा संलग्न पाइए कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ।




