
विराटनगर । सुनसरीको कप्तानगन्जमा दुई समूहबीच बढेको विवाद नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका २४ वर्षीय ओमप्रकाश मेहता रहेका छन् ।
सुनसरी प्रहरीका अनुसार गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्याउनासाथ गएराती चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुई पक्षबीचको सामान्य विवाद उग्र बन्दै झडप र हिंसामा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको प्रहरीले जनाएको छ । घटनामा अन्य १० जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको विराटनगरका न्युरो, विराट नर्सिङ र नोबेल मेडिकल कलेजलगायतका अस्पतालहरूमा उपचार भइरहेको छ ।


साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि सप्तकोसी नदीतर्फ जान युवाहरूको एउटा समूह डिजे बजाउँदै तयारी गरिरहेको बेला अर्को समूहले रातिको समयमा होहल्ला र अवरोध पुगेको भन्दै आपत्ति जनाएपछि दुई पक्षबीच विवाद भएको स्थानीयले बताएका छन् । सामान्य विवाद बढ्दै गएपछि दुवै पक्ष आक्रमण र तोडफोडमा उत्रिएका थिए ।
स्थिति थप हिंसात्मक बन्दै गएपछि इनरुवास्थित जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले स्थिति तत्काल नियन्त्रणमा लिन बल प्रयोग गर्ने निष्कर्ष निकालेको बताइएको छ । सुरक्षकर्मीको व्यापक परिचालन पछि सुरक्षा व्यवस्था कडा पारिएको र अहिले घटनास्थलको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।





