नेरुडे मिर्मिरे लघुवित्तको वार्षिक साधारणसभा सम्पन्न, पूँजी वृद्धि र मर्जर प्रस्ताव पारित

काठमाडौं, ११ साउन । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको १९औँ वार्षिक साधारणसभा भक्तपुरको कौशलटारस्थित ह्वाइट प्यालेस ब्याङ्क्वेटमा सम्पन्न भएको छ। अध्यक्ष राजकुमार राईको अध्यक्षतामा बसेको सभाले सामान्य तथा विशेष प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो।

सभामा अध्यक्ष राईले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको वित्तीय सुधार, निष्क्रिय कर्जा व्यवस्थापन, जोखिम नियन्त्रण र व्यवसाय पुनर्संरचनाका प्रयासबारे जानकारी दिए। शेयरधनीहरूले निष्क्रिय कर्जा घटाउने, घाटामा रहेका शाखालाई सुधार गर्ने, सुशासन सुदृढ बनाउने र समयमै साधारणसभा आयोजना गर्नुपर्ने सुझाव दिएका थिए।

प्रमुख कार्यकारी अधिकृत केशवकुमार पौडेलले संस्थाको वित्तीय अवस्था सुधारोन्मुख रहेको उल्लेख गर्दै शेयरधनीका सुझावलाई आगामी कार्ययोजनामा समेटिने बताए।

सभाले नियामकीय स्वीकृतिपछि पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा आवश्यक परे समान प्रकृतिका लघुवित्त संस्थासँग गाभिने वा प्राप्ति (मर्जर÷एक्विजिसन) प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्ताव पनि अनुमोदन गरेको छ।