
वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूको पवित्र महिना साउनको सोमवार चितवनस्थित प्रसिद्ध धार्मिक स्थल देवघाट धाममा श्रद्धालुहरूको उपस्थिति न्युन देखिएको छ । भगवान शिवको प्रिय महिना मानिने साउनमा नदी स्नान, पूजन र तीर्थाटनको विशेष धार्मिक एवं आध्यात्मिक महत्व रहेको शास्त्रहरूमा उल्लेख छ ।
धार्मिक मान्यताअनुसार साउन महिनामा पवित्र नदीहरूमा स्नान गरी शिवजीलाई जल अर्पण गर्दा मोक्ष प्राप्ति हुने विश्वास गरिन्छ । देवघाटलाई एक पुण्य क्षेत्रका रूपमा लिइने हुनाले यहाँ हरेक वर्ष हजारौँको संख्यामा भक्तजनहरू स्नानका लागि आउने गर्दछन् ।


शास्त्रहरूमा ‘नदी तीर्थे कमा दानम्’ अर्थात् नदी किनारमा गरिने स्नान र दानले मानिसलाई कर्मबन्धनबाट मुक्त गराउने उल्लेख गरिएको छ । यद्यपि, यस वर्ष विगतका वर्षहरूको तुलनामा देवघाटमा भक्तजनहरूको उपस्थितिमा केही कमी देखिएको स्थानीय बताउनु हुन्छ ।

अघिल्ला वर्षहरूमा साउनको शुरुवाती सोमवारदेखि नै श्रद्धालुहरूको व्यापक घुइँचो हुने गरेकोमा यस पटक भने त्यो स्तरको जनसहभागिता नदेखिएको स्थानीय जानकारहरू बताउँछन् । साउन महिनाका दुईवटा सोमवार व्यतित भइसकेका छन् भने अब दुईवटा सोमवार बाँकी नै रहेकाले आगामी दिनमा भक्तजनको संख्या बढ्न सक्ने अपेक्षा गरिएको छ । पछिल्लो समय सञ्चार माध्यमहरूको विकासले गर्दा घरघरमै बसेर तीर्थस्थलहरूको महिमा र जानकारी प्राप्त गर्न सहज भएपनि प्रत्यक्ष तीर्थाटनको आफ्नै विशिष्ट महत्व रहेको छ । शास्त्रले तीर्थस्थलमा पाइला टेक्नुलाई मात्रै पनि पुण्य र मुक्तिको मार्ग मानेको सन्दर्भमा भक्तजनहरू गेरुवस्त्र धारण गरी देवघाट पुग्ने क्रम जारी छ ।
नदीमा स्नान गर्ने र पवित्र स्थलको दर्शन गर्ने परम्परालाई धर्मशास्त्रले अटल सत्यका रूपमा व्याख्या गरेको छ । प्रतिकूल मौसम वा अन्य कारणले केही भक्तजनको उपस्थितिमा कमी देखिएपनि देवघाटको धार्मिक गरिमा र साउन महिनाको महिमाप्रति जनविश्वास भने यथावत रहेको छ ।





