चिनियाँ ह्युमनाइड रोबोटप्रति अमेरिका चिन्तित, नयाँ कानुन बनाउदै

काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई) र मानवरूपी तथा चारखुट्टे रोबोट प्रविधिमा चीनले तीव्र गति लिइरहेका बेला अमेरिकाले त्यसलाई राष्ट्रिय सुरक्षासँग जोडेर नयाँ कानुनी कदम अघि बढाएको छ । रिपब्लिकन र डेमोक्रेट दुवै दलका सांसदहरूले संयुक्त रूपमा ‘गार्ड ऐन’ नामक विधेयक संसदमा दर्ता गरेका छन् ।

प्रस्तावित विधेयकको उद्देश्य चीनमा निर्मित उन्नत रोबोट प्रणालीलाई अमेरिकी महत्वपूर्ण पूर्वाधारमा प्रयोग हुनबाट रोक्नु रहेको बताइएको छ ।

अमेरिकी प्रतिनिधिसभाको ऊर्जा तथा वाणिज्य समितिअन्तर्गत सञ्चार तथा प्रविधि उपसमितिमा विधेयकमाथि छलफल भएको थियो । सो क्रममा कृत्रिम बुद्धिमत्ता, सञ्चार सुरक्षा, उच्चगतिको इन्टरनेट विस्तार तथा अवैध स्वचालित दूरभाष प्रणालीसम्बन्धी विषयमा पनि बहस भएको थियो ।

अमेरिकी सांसदहरूले चीनले पहिले मानवविहीन विमानको बजारमा अपनाएको रणनीति अहिले रोबोट प्रविधिमा पनि दोहोर्याइरहेको दाबी गरेका छन् । उनीहरूका अनुसार चिनियाँ रोबोट व्यापक रूपमा उद्योग र सरकारी निकायमा प्रवेश गरेपछि मात्र कदम चाल्नु ढिलो हुने भएकाले अहिले नै कानुनी व्यवस्था आवश्यक छ ।

विज्ञहरूका अनुसार इन्टरनेटमा जोडिएका रोबोटले संवेदनशील सूचना संकलन गर्न सक्छन् । यस्ता रोबोटले कारखाना, अस्पताल, विद्युत् केन्द्र र सैनिक अड्डाजस्ता संवेदनशील स्थानको निगरानी गर्न सक्ने तथा दूरबाट पहुँच वा सफ्टवेयर अद्यावधिकमार्फत प्रणालीमा हस्तक्षेप गर्न सक्ने जोखिम रहेको औंल्याइएको छ ।

समितिका अध्यक्ष ब्रेट गुथ्रीले अमेरिकी संसदले यसअघि पनि चीनमा निर्मित दूरसञ्चार उपकरण र मानवविहीन विमानमाथि प्रतिबन्ध लगाइसकेको स्मरण गराउँदै नागरिकको तथ्याङ्क र राष्ट्रिय पूर्वाधारको सुरक्षा सुनिश्चित गर्न सम्भावित जोखिमविरुद्ध समयमै कदम चाल्नुपर्ने बताएका छन् ।

स्वचालित सवारी प्रणालीसम्बन्धी अन्तर्राष्ट्रिय संस्थाका अध्यक्ष माइकल रोबिन्सले चिनियाँ कम्पनीहरूले विश्व बजारमा मानवरूपी रोबोटको करिब ९० प्रतिशत आपूर्ति नियन्त्रणमा लिइसकेको दाबी गरेका छन् । उनका अनुसार चिनियाँ सरकारी अनुदानका कारण ती रोबोट निकै सस्तो मूल्यमा उपलब्ध भएकाले अमेरिकी अनुसन्धान संस्थासमेत आकर्षित भएका छन्। तर यस्ता रोबोट ह्याक भएमा कारखाना, सैनिक अड्डा वा विद्युत् केन्द्रभित्र पुगेर प्रत्यक्ष निगरानी तथा भौतिक क्षति पुर्‍याउन सक्ने खतरा रहेको उनले बताएका छन्।

ह्वाइट हाउसकी पूर्व प्रविधि सल्लाहकार लिन्ड्से गोरम्यानले कृत्रिम बुद्धिमत्ताले साइबर सुरक्षाको स्वरूप नै परिवर्तन गरेको बताएकी छन् । उनका अनुसार कृत्रिम बुद्धिमत्ताले साइबर आक्रमणको क्षमता धेरै गुणा बढाइदिएको छ, त्यसैले चीनसँग प्रतिस्पर्धा गर्न अमेरिका आफैंले कम लागतका कृत्रिम बुद्धिमत्ता प्रणाली विकास गर्नुपर्ने आवश्यकता रहेको छ ।

सुनुवाइका क्रममा विज्ञहरूले अमेरिका, जापान, दक्षिण कोरिया, ताइवान, इजरायल, अष्ट्रेलिया तथा युरोपेली मुलुकबीच सुरक्षित कृत्रिम बुद्धिमत्ता र रोबोट प्रविधिको साझा संरचना विकास गर्नुपर्ने सुझाव दिएका छन् ।

images

यसका साथै कृत्रिम बुद्धिमत्तामार्फत सञ्चार सञ्जाल सुदृढ बनाउने, उच्चगतिको इन्टरनेट समन्वय सुधार गर्ने तथा विदेशबाट सञ्चालन हुने अवैध स्वचालित दूरभाष प्रणाली नियन्त्रण गर्ने विषयमा पनि छलफल भएको थियो ।