
नेपालका पाँच खेलाडी जापानमा आयोजना हुने ३२औं विश्व चिल्ड्रेन्स बेसबल फेयरमा सहभागी हुने भएका छन् ।
आगामी जुलाइ ३० देखि अगष्ट ७ तारिखसम्म जापानको नारिता शहरमा ३२ औं विश्व चिल्ड्रेन्स बेसबल फेयर आयोजना हुँदै छ । १० देखि १२ वर्ष उमेर समूहका पाँच खेलाडीले बेसबलको क्लिनिक र प्रतियोगितामा सहभागी हुने भएका छन् । दुई गल्र्स र तीन जना ब्वाइज बेसबल फेयरमा सहभागी हुनेछन् ।
त्यसका लागि एक प्रशिक्षक र पाँच खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार जापानको नारिता जाने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता र युवा तथा खेलकुद मन्त्रालयका सल्लाहकार राजु सिंहले टोलीलाई सफलताको शुभकामना दिँदै सोमबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।


वल्र्ड चिल्ड्रेन्स बेसबल फाउन्डेसनको पूर्ण छात्रवृत्ति १२ वर्षमुनिका नेपाली खेलाडीले सहभागिता जनाउन लागेका हुन् । पछिल्लो ६÷७ वर्षयता नेपालले यो छात्रवृत्तिका लागि प्रयास गर्दै आइरहेको थियो । ब्वाइजमा अभिनय श्रेष्ठ, संकल्प पौडेल र युएल रोक्काले सहभागिता जनाउने छन् । गल्र्समा भूमिका खड्का र खुशी श्रेष्ठ छन् । उनीहरूको प्रशिक्षकमा विपिन वज्राचार्य छन् । फेयरमा नेपालसहित अस्ट्रेलिया, केन्या, क्यानडा, मलेसिया, सिंगापुर, चाइनिज ताइपेइ, भियतनाम, सिंगापुर, जापान, जर्मनी, अमेरिका र फिलिपिन्स गरी १४ राष्ट्रको सहभागिता रहनेछ ।

नेपाली खेलाडीले फेयरका दौरान क्लिनिकमा भाग लिनुका साथै निप्पोन प्रोफेसनल बेसबल गेम (एनपिबी) को अवलोकन गर्ने अवसर पनि पाउनेछन् । खेलाडीले विभिन्न राष्ट्रका खेलाडीसँग मिलेर मैत्रीपूर्ण प्रतियोगिता पनि खेल्ने छन् । नेपाल बेसबल तथा सफ्ट संघका अध्यक्ष दिपक न्यौपानेले सहभागीको सम्पूर्ण खर्च फाउण्डेसनले प्रायोजन गरेको बताए । सहभागी नेपाली खेलाडीले जनही करिव १ लाख रुपैयाँ बराबरको खेल सामाग्री र पोशाक पनि प्राप्त गर्नेछन् ।




