तेलको भाउ बढदा भारतीय रूपैयाँ डलर भन्दा ६१ पैसाले बलियो

मुम्बई, ११ साउन । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको भारी गिरावट र पश्चिम एसियामा अमेरिका इरानबीचको तनावमा आएको कमीका कारण सोमबार रुपैयाँ ६१ पैसाले बलियो भएको छ।

जसअनुसार प्रति डलर ९५.९२ रूपैयाको स्तरमा बन्द भएको छ । विदेशी मुद्रा बजारका कारोबारकर्ताहरूका अनुसार आन्तरिक सेयर बजारमा देखिएको सुधार र प्रमुख विश्वव्यापी मुद्राहरूको तुलनामा डलर कमजोर हुनुले पनि भारतीय रुपैयाँलाई टेवा पुर्‍याएको छ ।

अन्तर बैंक विदेशी मुद्रा बजारमा ९६.१८ को विन्दुबाट कारोबार सुरु गरेको रुपैयाँले सो सत्रमा ९६.२७ को न्यून र ९५.७८ को उच्च विन्दु छोएको छ । कारोबार बन्द हुँदा यसको विनिमय दर प्रति डलर ९५.९२ कायम भएको छ । यसरी, अघिल्लो दिनको बन्द दरको तुलनामा रुपैयाँ ६१ पैसाले बलियो भयो।

शुक्रबार रुपैयाँ २० पैसाले वृद्धि भई ९६.५३ मा बन्द भएको थियो। भारतीय मुद्राले गत मे २० मा प्रति डलर ९६.८६ को ऐतिहासिक न्यून विन्दुमा बन्द भएर कीर्तिमान कायम गरेको थियो। निकट भविष्यमा डलर रुपैयाँको तुलनामा ‘स्पट विनिमय दर ९५.५० देखि ९६.२० को दायरामा रहन सक्ने बताइएको छ ।

यसैबीच, छ प्रमुख मुद्राहरूको समूहको तुलनामा अमेरिकी डलरको मजबुती मापन गर्ने ‘डलर इन्डेक्स’ ०.२० प्रतिशतले घटेर १०१।०९ मा झर्यो। विश्वव्यापी तेलको मानक मानिने ‘ब्रेन्ट क्रुड फ्युचर्स’ को मूल्य ८.९५ प्रतिशतले घटेर प्रति ब्यारेल ८८.१२ डलर कायम भयो। आन्तरिक सेयर बजारमा पनि सुधारको प्रवृत्ति देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।