
काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ । घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा संखुवासभाका सीडीओ इश्वरीप्रसाद अर्याललाई खटाइएको छ । यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक(एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाइएको छ। थेवेको स्थानमा उक्त विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई खटाउने निर्णय गरिएको छ । यस्तै, सशस्त्र प्रहरी बल नेपालका एसपी श्यामकुमार कार्कीलाई फिर्ता बोलाएर प्रधान कार्यालयमा कार्यरत एसपी लवकुमार सापकोटालाई पठाउने निर्णय गरेको छ। साथै, सशस्त्र प्रहरी बल नेपाल कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ। उहाँको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, काठमाडौँमा कार्यरत डीएसपी मदन नाथलाई पठाइएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा एक जनाको निधन भएको थियो । घटनामा परेर ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका थिए । घटनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भइसकेको छ। समितिले एक साताभित्रमा प्रतिवेदन बुझाउने छ। घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान ७ बजेदेखि अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ।


२- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको गौरीगञ्ज गाउँपालिका–१ का वडा सचिव अजयकुमार साहलाई १० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ । आयोगका अनुसार सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने क्रममा सेवाग्राहीसँग घुस मागेर दुःख–हैरानी दिएको भन्ने उजुरीका आधारमा इटहरीस्थित अख्तियारको टोलीले छापा मारेको थियो । टोलीले वडा सचिव साहलाई सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा सोही वडास्थित एक स्थानीय होटलबाट रकमसहित नियन्त्रणमा लिएको जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

३- राष्ट्रिय मानवअधिकार आयोगले सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समुदायबीच भएको झडप तथा प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको मानवअधिकारका दृष्टिले अनुसन्धान सुरु गरेको जनाएको छ । आयोगको कोशी प्रदेश कार्यालय विराटनगरले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, अस्पताल प्रशासन तथा स्थानीयवासीसँग घटनाबारे जानकारी लिइरहेको जनाएको छ। प्रारम्भिक अनुगमनअनुसार पोलमा झण्डा राख्ने विषयमा दुई समुदायबीच विवाद सुरु भएको र डिजे बजाउने क्रममा विवाद चर्किएपछि तोडफोड तथा झडप भएको थियो। त्यसपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा ओमप्रकाश मेहताको मृत्यु भएको र अन्य नौ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको आयोगले जनाएको छ । आयोगका अनुसार घाइतेमध्ये चार जनाको न्युरो अस्पताल, चार जनाको विराट नर्सिङ होम र एक जनाको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनापछि विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरिएको, आन्दोलनकारीले लाठी तथा रडसहित प्रदर्शन गरिरहेको र कप्तानगञ्जसहितका क्षेत्रको सुरक्षा अवस्था तनावपूर्ण बनेको आयोगले जनाएको छ । सुरक्षा अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको जानकारी पनि आयोगले दिएको छ । आयोगले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ । साथै आयोगले राजनीतिक दल, नागरिक समाज, मानवअधिकारकर्मी तथा सर्वसाधारणलाई वार्ता र संवादमार्फत विवाद समाधान गर्दै सामाजिक सद्भाव र शान्ति कायम राख्न सहयोग गर्न अपिल गरेको छ ।
४- इटालीको राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका आन्द्रे पिर्लोसँग इटाली फुटबल फेडेरेसनले सम्झौता अगाडी नबढाउने भएको छ । फेडेरेसनले पिर्लोलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्ने यस अघि तय भएको बताए पनि पिर्लोले एक रसियन बेटिंग ब्राण्डसँग सहकार्य गरेपछि उनको नियुक्ति स्थगित गरिएको हो । पिर्लोले भने आफ्नो सहकार्यको राजनीतिक अर्थ लगाइएको भन्दै सधै इटाली फुटबलप्रति प्रतिबद्ध रहेको बताएका छन् । साथै उनले यस विवादपछि इटालीको प्रशिक्षकको जिम्मेवारी नलिने स्पष्ट गरेका छन् । फेडेरेसनले भने पिर्लोसँगको सम्झौतामा हस्ताक्षर गर्नु अघि रद्ध गर्दै मुख्य प्रशिक्षकका लागि अन्य उम्मेदवारको खोजी गरिरहेको बताइएको छ ।

५- नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी तेस्रो सिजनमा बंगलादेशका चर्चित अलराउण्डर शकिब अल हसन खेल्ने भएका छन् । सकिबलाई पोखरा एभेन्जर्सले यस सिजनका लागि भित्र्याएको हो । ३९ बर्षिय शकिबले आइपिएल, बिग बास लिगदेखि विश्वका कैयौं टी- २० खेलेका छन् । राष्ट्रिय टिममा भने उनी २०२४ को अक्टोबरदेखि खेलेका छैनन् । शकिब एक समय विश्वकै उत्कृष्ट अलराउण्डर रहेका थिए । कुशल भुर्तेलको नेतृत्वमा रहेको पोखरामा सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना, दिनेश खरेल, सन्नी विक, विवेक राना मगर, सुदिप अर्याल, अर्जुन घर्ति, प्रतिक पोखरेल र विपिन आचार्यलगायतका नेपाली खेलाडी रहेका छन् ।
६- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’लाई अन्तिम रूप दिने तयारी गरेको छ । लामो समयदेखि विभिन्न कारणले अघि बढ्न नसकेको उक्त विधेयक सरकारको १०० दिने कार्यसूचीअनुसार सम्पन्न गरिएको महत्वपूर्ण कामका रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने तयारी गरिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको उक्त विधेयकले खानी तथा खनिज पदार्थको खोज, उत्खनन, संरक्षण, उपयोग, अनुमति तथा नियमनसम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल संशोधन र एकीकृत गर्ने उद्देश्य राखेको छ । वर्षौंदेखि नयाँ कानुनको अभाव हुँदा संघ, प्रदेश र स्थानीय तहबीच अधिकारको बाँडफाँट, अनुमति प्रक्रिया, खानी सञ्चालन, राजस्व व्यवस्थापन तथा नियमनका विषयमा विभिन्न कानुनी र प्रशासनिक जटिलता देखिँदै आएको थियो। यस बिधेयक तीनै तहका सरकारबीच समन्वय तथा खानी क्षेत्रको व्यवस्थापन र लगानी प्रवर्द्धनसमेत महत्त्वपूर्ण दस्तावेज सबित हुनेछ । यही अवस्थालाई अन्त्य गर्ने उद्देश्यले सरकारले आफ्नो १०० दिने कार्यसूचीमा यो विधेयकलाई प्राथमिकतामा राखेको थियो। सोही कार्यसूचीअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विधेयकलाई अन्तिम रूप दिई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने तयारी गरेको हो । विधेयक स्वीकृत भई कानुनका रूपमा लागू भएपछि संघ, प्रदेश र स्थानीय तहबीचको अधिकार र जिम्मेवारी थप स्पष्ट हुने, खानी क्षेत्रको नियमन व्यवस्थित बन्ने, लगानी आकर्षित गर्न सहज हुने तथा प्राकृतिक स्रोतको दिगो उपयोगका लागि बलियो कानुनी आधार तयार हुने अपेक्षा गरिएको छ।


७- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका २ कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकोले उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको हो। मन्त्रालयले उनिहरुलाई विगतमा सफाई पेश गर्न १५ दिनको म्याद दिएको थियो। उक्त अवधिभित्र उनिहरुले पेश गरेको सफाई सन्तोशजनक नदेखिएकोले दोस्रो पटकका लागि ३० दिनको म्याद दिई स्पष्टीकरण सोधिएको मन्त्रालयले जनाएको छ । उनीहरुले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएको पाइएको मन्त्रालयको सुचनामा उल्लेख छ । सूचना अनुसार २ जना कर्मचारी नापी अधिकृत हुन् । निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी मुलुकको आवासीय अनुमति लिन वा सोका लागि आवेदन समेत दिन नपाइने कानुनि व्यवस्था छ । स्वीकृत बिदा समाप्त भएपछि ३० दिन भित्र कार्यालयमा उपस्थित हुनुपर्नेमा अनुपस्थित रही निजामती सेवा ऐनविपरीतको कार्य गरेकोले उनीहरुलाई स्पष्टीकरणको सोधिएको हो । मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरि कारबाही अघि बढाउनुपर्ने अवस्था देखिएकाले ३० दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित सफाइ पेश गर्न भनिएको छ । मन्त्रालयले कार्यालयमा अनुपस्थित भई विदेशमा बसोबास गरिरहेका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका अन्य कर्मचारीहरूको अवस्थाबारे समेत अध्ययन तथा खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ ।
८- नेप्सेमा आज गिरावट आएको छ । आज सोमबार नेप्से ३३.२८ अंकले घटेर २७०१.३२ विन्दुमा पुगेर रोकिएको छ । आज ३६० कम्पनिका एक करोड ३९ लाख २५ हजार ३३७ कित्ता शेयर ६ अर्ब ८ करोड ८ लाख ६३ हजार ३५४ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रका शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर १४.९९ ले बढेको छ भने गरिमा समृद्धि योजनाको शेयर ४.७८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी आत्म निर्भर लघुवित्तको शेयर १३.३८ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको ३३ करोड ८६ लाख बराबरको कारोबार भएको छ भने ग्लोबल आइएमईको २८ करोड १३ लाख बराबरको कारोबार भएको छ ।
९- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध लगाएका वस्तुहरूको बिक्री–वितरण नगर्न व्यवसायीलाई चेतावनी दिएको छ । विभागले सूचना जारी गर्दै भौतिक पसल तथा डिजिटल माध्यमबाट समेत प्रतिबन्धित वस्तु बिक्री भइरहेको भन्ने उजुरी प्राप्त भएकाले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निकासी–पैठारी (नियन्त्रण) ऐन, २०१३ अनुसार नेपाल सरकारले विभिन्न समयमा नेपाल राजपत्रमार्फत केही वस्तुको आयात तथा निर्यातमा पूर्ण वा आंशिक प्रतिबन्ध लगाएको विभागले स्मरण गराएको छ। ती वस्तुहरूको अनधिकृत आयात, भण्डारण तथा बिक्री–वितरण कानुनबमोजिम दण्डनीय हुने विभागको भनाइ छ। विभागले सबै आयातकर्ता, सञ्चयकर्ता तथा विक्रेतालाई कानुनले तोकेका दायित्व, सर्त र बन्देजको पूर्ण पालना गर्दै व्यापार सञ्चालन गर्न आग्रह गरेको छ। विभागले प्रतिबन्धित वस्तुको आयात, भण्डारण वा बिक्री–वितरण गरेको पाइएमा निकासी–पैठारी (नियन्त्रण) ऐन, २०१३, उपभोक्ता संरक्षण ऐन, २०७५ तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।

१०- सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय विरूद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सोमबार सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अधिवक्ता डा. प्रेमराज सिलवाल र मनिराम उपाध्यायले शुक्रबार नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र प्रतिनिधिसभाका सभामुखलगायतलाई विपक्षी बनाएर रिट दर्ता गराएका थिए । गत असार ३० गते बसेको मन्त्रिपरिषदको बैठकले सांसदहरूलाई निजी स्वकीय सचिव राख्न दिन निर्णय गरेको थियो भने साउन ४ गते यसको राजपत्रमा सूचना समेत प्रकाशन भएको थियो । सर्वोच्चले विपक्षीको नाममा कारण देखाऊ आदेश भने जारी गरेको छ ।
११- भारतका सामाजिक अभियन्ता सोनम वाङ्चुक अस्पतालबाट डिस्चार्ज भएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्यमा सुधार आएको जानकारी दिँदै अब अस्पतालबाट घर फर्किन लागेको बताएका छन् । वाङ्चुकले डिस्चार्जपछि सबैभन्दा पहिले नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने र त्यसपछि लद्दाख फर्किने योजना रहेको बताएका छन् । उनले उपचारमा संलग्न चिकित्सक र अस्पतालका कर्मचारीप्रति विशेष आभार व्यक्त गरेका छन् । गुरुग्रामस्थित मेदान्ता अस्पतालका चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीको प्रशंसा गर्दै उनले आफ्नो उपचारमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका हुन् । उनले सबै मिलेर गरेको आन्दोलन सफल भएको भन्दै आगामी दिनमा पनि सबै जोडिएर रहने बताएका छन् ।
१२- सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा कर्फ्यु आदेश उल्लंघन भएपछि सेना परिचालन गरिएको छ । प्रशासनले सेना सडकमा गस्तीमा निस्किएपछि अवस्था नियन्त्रणमा आइरहेको बताएको छ । सुनसरी जिल्ला प्रशासन कार्यालयले बिहान ७ बजेदेखि जारी गरेको कर्फ्यु आदेश अवज्ञा गर्दै प्रदर्शन शुरु भएपचिउ सेनालाई सडकमा उतारिएको छ । कर्फ्युकै बीचमा ठुलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका थिए । कप्तानगन्ज चोकमा टायर बाल्दै नाराबाजी गरेका प्रदर्शनकारी केहीबेरमै तोडफोड र आगजनीमा उत्रिएपछि अवस्था असहज बनेको थियो । कप्तानगन्जमा आइतबार राति दुई समुदायबीच भएको हिंसात्मक झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगन्ज गाउँपालिका–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । गोली लागेर ९ सर्वसाधारण घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घटनामा सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन् र उनीहरुको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
१३- धनगढी उपमहानगर प्रमुख गोपाल हमालले गेटा मेडिकल विश्वविद्यालयमा यही शैक्षिक सत्रबाटै एमबीबीएस तहको पठनपाठन सुरु नभए अनसन बस्ने घोषणा गरेका छन् । हमालले डा. गोविन्द केसीले अनसन बसिरहेका बेला हमालले गेटा मेडिकल कलेज अहिले विश्वविद्यालयको रूपमा स्थापित भइसकेको उल्लेख गर्दै अब थप ढिलाइ नगरी यही शैक्षिक सत्रबाटै पठनपाठन सुरु हुनुपर्ने माग राखेका छन् । उनले विश्वविद्यालयका पदाधिकारी नियुक्ति जो भएपनि आफुहरुलाई सरोकार नभएको भन्दै सुदूरपश्चिमबासीको माग अध्ययन शूरु हुनुपर्ने र अस्पताल सन्चालन हुनुपर्ने रहेको बताएका छन् । हमालले आफुले अनसनको नेतृत्व गर्ने भन्दै सबै सुदूरपश्चिमबासीले साथ दिन आग्रह गरेका छन् । सरकारले गेटा मेडिकल विश्वविद्यालयमा पदाधिकारी नियुक्त गरेर संचालनको प्रक्रिया अगाडी बढाएपछि अभियन्ता डा. गोविन्द केसीले विभिन्न माग राखेर अनसन शुरु गरेका छन् ।

१४- काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले अर्को हार बेहोरेको छ । नेपाल उज्बेकिस्तानसँग ३ सेटको सोझो सेटमा पराजित भएको हो । उज्बेकिस्तानले २६-२४, २५-२० र २५-२० ले जितेको थियो । यो प्रतियोगितामा नेपालको लगातार पाँच हार बेहोरेको छ । नेपालले यसअघि बंगलादेशसँग ३-२ ले, पाकिस्तानसँग ३ सेटको सोझो सेटमा पराजित भएको थियो भने श्रीलंकासँग ३-२ ले र काजकिस्तानसँग पनि ३-२ ले पराजित भएको थियो । नेपालको ५ खेलमा तालिकामा ३ अंक जोडेको छ । उज्बेकिस्तानले भने यो जितपछि सेमिफाइनलमा पुगेको छ । प्रतियोगितामा नेपालसहित पाकिस्तान, काजकिस्तान, उज्बेकिस्तान, श्रीलंका र बंगलादेश सहभागी रहेका छन् ।
१५- अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले इरानसँगको युद्धमा भएको सैन्य क्षतिको अद्यावधिक विवरण सार्वजनिक गर्दै थप १४० भन्दा बढी सैनिक घाइते भएको जनाएको छ । साथै, गत साता इरानी आक्रमणमा ज्यान गुमाएका चार सैनिकको विवरण पनि पुनः अभिलेखमा समावेश गरिएको छ । पेन्टागनको रक्षा क्षति विश्लेषण प्रणालीमा सार्वजनिक गरिएको पछिल्लो विवरणअनुसार जुलाई ७ देखि सुरु भएको इरानविरुद्धको अमेरिकी सैन्य अभियानमा हालसम्म १८ सैनिकको मृत्यु भएको छ भने ६२४ जना घाइते भएका छन्। यसअघि सार्वजनिक गरिएको विवरणमा घाइतेको संख्या ४८२ रहेको थियो । युद्धको क्रममा सैनिक हताहतीको विवरण घट्दै गएको देखिएपछि पेन्टागनको पारदर्शितामाथि अमेरिकी सञ्चारमाध्यम र सांसदहरूले प्रश्न उठाएका थिए । त्यसपछि अमेरिकी सिनेटको सशस्त्र सेवा समितिका १२ जना डेमोक्रेटिक सांसदहरूले रक्षा सचिव पिट हेगसेथलाई पत्र लेख्दै तथ्याङ्कमा आएको परिवर्तनबारे स्पष्टीकरण मागेका थिए । रक्षा मन्त्रालयका कार्यवाहक प्रेस सचिव जोएल भाल्डेजले विवरण घटेको देखिनुको कारण प्रणालीमा आएको अस्थायी प्राविधिक समस्या भएको बताएका छन् । यद्यपि, अमेरिकी सञ्चारमाध्यमले प्रणालीमा पटक-पटक तथ्याङ्क परिवर्तन भइरहेको अवस्था प्रत्यक्ष रूपमा देखिएको जनाएको छ । यसैबीच, पेन्टागनले ‘विदेशी सैन्य अभियान’ नामक नयाँ अभिलेख श्रेणी पनि थपेको छ, जसमा जुलाई ७ देखि भएका मृत्यु र घाइतेको विवरण राखिएको छ । तर, यो श्रेणीले कुन सैन्य अभियान वा द्वन्द्वसँग सम्बन्धित क्षति हो भन्ने स्पष्ट खुलाएको छैन । यस श्रेणीमा समावेश नामावलीमा जोर्डनमा इरानी आक्रमणमा मारिएका तीन अमेरिकी सैनिक तथा उत्तरी इराकमा इरानी मानवरहित हवाई साधन निष्क्रिय पार्ने क्रममा ज्यान गुमाएका एक सैनिकको नाम समावेश गरिएको छ । उक्त मिति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ चरणको द्वन्द्व सुरु भएको भन्दै अमेरिकी संसद्लाई औपचारिक जानकारी गराएको दिनसँग मेल खान्छ । ट्रम्प प्रशासनले अप्रिलमा भएको युद्धविरामका कारण युद्धसम्बन्धी कानुनी समयसीमा पुनः सुरु भएको दाबी गर्दै आएको छ ।
१६- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको १४ सयले बढेर २ लाख ८८ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ८७ हजार १ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले बढेर तोलाको ४४४५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४४१० मा कारोबार भएको थियो ।
१७- नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन गरिएको छ । सोमबार पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष तानाका अकिहिकोले नेपालस्थित जापानी राजदूत माएदा तोरुले संयुक्त रुपमा नागढुंगा सुरुङमार्गको उद्घाटन गरेका हुन् । सुरुङमार्ग निर्माण आयोजनाका अनुसार पहिलो चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आपत्कालीन सवारीसाधनका लागि सुरुङ खुला गरिनेछ भने त्यसपछि अन्य सवारीलाई क्रमबद्ध रूपमा प्रवेश दिइने बताइएको छ । आयोजनाले सुरुङमार्गमा अत्यावश्यक सवारी साधन चलाएर करिब एक हप्तादेखि १० दिनसम्मको परीक्षण गर्ने योजना बनाएको छ । त्यसपछि क्रमश: सवारी साधन छोड्ने बताइएको छ । परीक्षण अवधिभर सुरुङमार्ग प्रयोग गर्ने आपतकालीन सवारी साधनहरूले कुनै पनि प्रकारको शुल्क तिर्नु नपर्ने र अत्यावश्यक सवारी साधनको सफल परीक्षण र सुरक्षा सुनिश्चितता पछि सर्वसाधारणका सवारी साधनहरु क्रमिक रुपमा अनुमति दिने आयोजनाले बताएको छ । सुरुङ प्रयोगबापत कार, बस, ट्रक र लरीका लागि सवारीको आकार र दिशा अनुसार छुट्टाछुट्टै टोल शुल्क तोकिएको छ । सरकारले यसअघि नै निर्णय गरेर राजपत्रमा सूचना जारी गरी सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नागढुङ्गा सुरुङमार्ग खण्डमा चल्ने सवारी साधनबाट सुरुङमार्ग उपभोगबापत दस्तुर लिने निर्णयअनुसार दर सार्वजनिक गरिसकेको छ । जसअनसुार कार, भ्यान, पिकअप ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तोकिएको छ । त्यसैगरी मिनी बस, मिनी टिपर-ट्रकको प्रवेशका लागि ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तथा बस, ट्रक (सिङ्गल रियर एक्सल( प्रति सवारीसाधन प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तोकिएको छ । मल्टी एक्सल ट्रक/सवारीसाधन तथा भारी उपकरणको हकमा प्रवेश गर्दा ६०० रुपैया र बाहिरिँदा २५० रुपैया तोकिएको छ । भुक्तानीलाई सहज बनाउन आरएफआईडी प्रविधिमा आधारित ‘एन–ट्याग’ र नगद दुवै माध्यमको व्यवस्था गरिएको छ । दुईपांग्रे, तीनपांग्रे, पैदलयात्री र डिजेल, पेट्रोल वा ग्यासजस्ता अत्यधिक प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई भने सुरुङ प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइएको छ । जापानको साढे २१ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब लगानीमा बनेको यो सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनको जिम्मा युसिन एआरटी जेभीले पाँच वर्षका लागि पाएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिकमा शिलान्यास गरेको यो आयोजना कोभिड लगायतका कारण ढिलो गरी सम्पन्न भएको हो ।
१८- म्याग्दीमा अविरल वर्षापछि खसेको पहिरोले दुई छुट्टाछुट्टै स्थानमा घर पुरिँदा एक वृद्धको मृत्यु भएको छ भने अर्को घटनामा एकै परिवारका तीन जनाको सकुशल उद्धार गरिएको छ । सोमबार बिहान करिब २ बजे धवलागिरि गाउँपालिका-७ धारापानी तल्लो हाडेभिर स्थित टकदेवी थापाको घरमाथिबाट पहिरो खस्दा घर पुरिएको थियो । घरमा रहेका तीनै जनाको प्रहरी र स्थानीयवासीको सहयोगमा सकुशल उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये लक्ष्मण थापाको दाहिने खुट्टामा सामान्य चोट लागेको छ भने अन्य दुई जनाको अवस्था सामान्य रहेको छ । चौपायामा कुनै क्षति नभएको र आसपासका अन्य बस्ती तत्काल जोखिममा रहेका छैनन् । यस्तै, म्याग्दी जिल्लाकै बेनी नगरपालिका-३ भकिम्ली चिमखेतस्थित ७० वर्षीय लालबीर छन्त्याल आफ्नै घरमा सुतिरहेका बेला घरमाथिबाट पहिरो खस्दा घरसँगै पुरिएका थिए । खोजी तथा उद्धारका क्रममा उनको शव फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१९- जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन् । कर्फ्यु अवधिमा तोकिएको क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने प्रशासनले जनाएको छ । प्रशासनका अनुसार आदेश उल्लंघन गर्ने व्यक्तिलाई एक हजार रुपैयाँसम्म जरिवाना र एक महिनासम्म कैद सजाय हुन सक्ने व्यवस्था रहेको छ । जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न तथा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ । दुई पक्षबीचको सामान्य विवाद उग्र बन्दै झडप र हिंसामा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको प्रहरीले जनाएको छ । घटनामा अन्य १० जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको विराटनगरका न्युरो, विराट नर्सिङ र नोबेल मेडिकल कलेजलगायतका अस्पतालहरूमा उपचार भइरहेको छ । साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि सप्तकोसी नदीतर्फ जान युवाहरूको एउटा समूह डिजे बजाउँदै तयारी गरिरहेको बेला अर्को समूहले रातिको समयमा होहल्ला र अवरोध पुगेको भन्दै आपत्ति जनाएपछि दुई पक्षबीच विवाद भएको स्थानीयले बताएका छन् । सामान्य विवाद बढ्दै गएपछि दुवै पक्ष आक्रमण र तोडफोडमा उत्रिएका थिए । स्थिति थप हिंसात्मक बन्दै गएपछि इनरुवास्थित जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले स्थिति तत्काल नियन्त्रणमा लिन बल प्रयोग गर्ने निष्कर्ष निकालेको बताइएको छ । सुरक्षकर्मीको व्यापक परिचालन पछि सुरक्षा व्यवस्था कडा पारिएको र अहिले घटनास्थलको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
२०- भारतले जिम्बाब्वेलाई तेस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३५ रनले पराजित गर्दै तीन खेलको सिरिज ३-० ले आफ्नो पक्षमा पार्दै क्लिन स्विप गरेको छ । श्रेयस अय्यरको कप्तानीमा भारतको यो पहिलो टी-२० अन्तर्राष्ट्रिय सिरिज जित हो । यसअघि उनको कप्तानीमा भारत आयरल्यान्ड र इङ्ल्यान्डसँग पराजित भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९२ रन बनाएको थियो । १९३ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले २० ओभरमा सात विकेट गुमाउँदै १५७ रन मात्र बनाउन सक्यो । रायन बर्लले ४३ बलमा पाँच चौकाको सहयोगमा अविजित ५४ रन बनाए। वेस्ले माधेभेरेले २८ तथा बेन करनले २० रन जोडे । भारतका लागि मयंक यादवले तीन विकेट लिए भने यश ठाकुरले दुई विकेट हात पारे। अशोक शर्मा र रवि बिश्नोईले एक–एक विकेट लिए । भारतका लागि वैभव सूर्यवंशीले शानदार इनिङ्स खेल्दै टोलीलाई बलियो योगफलतर्फ डोर्याए । उनले सुरुआतमा संयमित ब्याटिङ गरे पनि त्यसपछि आक्रामक खेल प्रस्तुत गर्दै ३१ बलमा आफ्नो दोस्रो टी-२० अन्तर्राष्ट्रिय अर्धशतक पूरा गरे । अभिषेक शर्मा भने लगातार छैटौँ पटक ठूलो स्कोर बनाउन असफल भए । त्यसपछि सूर्यवंशीले ईशान किशनसँग दोस्रो विकेटका लागि ७५ रनको साझेदारी गरे । ईशानले २९ रन बनाए । त्यसपछि कप्तान श्रेयस अय्यरसँग तेस्रो विकेटका लागि ५० रनको साझेदारी गर्दै टोलीको इनिङ्स मजबुत बनाए । अय्यरले २७ रन जोडे । शतक नजिक पुगेका सूर्यवंशी अन्ततः आउट भए । भारतका लागि रिंकु सिंहले २५ तथा तिलक वर्माले अविजित ११ रन बनाए । जिम्बाब्वेका ब्राड इभान्सले दुई विकेट लिए भने सिकन्दर रजा, ब्लेसिङ मुजाराबानी र वेस्ले माधेभेरेले समान एक–एक विकेट लिए । खेलपछि ‘प्लेयर अफ द म्याच’ तथा ‘प्लेयर अफ द सिरिज’ घोषित भएका वैभव सूर्यवंशीले आफू निकै खुसी रहेको बताए । उनले भने- ‘ ‘यो मेरो लागि सपना पूरा भएको जस्तै हो । पहिलो पटक ‘प्लेयर अफ द म्याच’ र ‘प्लेयर अफ द सिरिज’ बन्न पाउँदा निकै खुशी लागेको छ । यहाँको तयारी राम्रो भएको थियो । प्रशिक्षक, कप्तान र सम्पूर्ण टोलीले मलाई निरन्तर साथ दिए । मैले स्वाभाविक खेल खेल्ने प्रयास गरे । टोलीलाई राम्रो सुरुआत दिलाउनु मेरो उद्देश्य हुन्छ । यसअघि यहाँ यू-१९ विश्वकप पनि खेलेको थिए र यहाँ ब्याटिङ गर्न मलाई निकै मन पर्छ । अभ्यासमा जे गर्छु, त्यसलाई नै खेलमा दोहोर्याउने प्रयास गर्छु ।’




