
अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार गत जुलाईदेखि इरानसँगको सैन्य द्वन्द्व पुनः शुरु भएयता चार अमेरिकी सैनिकको मृत्यु भएको छ भने २०७ जना घाइते भएका छन् । पेन्टागनको डिफेन्स क्याजुअल्टी एनालिसिस सिस्टमले अद्यावधिक गरेको तथ्यांकअनुसार, जुलाई २५ सम्म इरान विरुद्धको अमेरिकी सैन्य अभियान एपिक फ्युरीका क्रममा कुल १४ अमेरिकी सैन्य कर्मचारीको मृत्यु भएको छ भने ४१७ जना घाइते भएका छन् ।
रक्षा मन्त्रालयको डाटाबेसमा हालै ओभरसिज अपरेसन नामक नयाँ श्रेणी थपिएको छ, जसले जुलाई ७ देखिका सैन्य हताहतीलाई छुट्टै समेटेको छ ।

यस श्रेणीमा चार जनाको मृत्यु र २०७ जना घाइते भएको सूचीकृत गरिएको छ ।


यद्यपि, यसमा मृतकहरूको नाम उल्लेख गरिए पनि घाइतेहरूका बारेमा समय, स्थान वा घटनाको प्रकृति जस्ता विस्तृत विवरणहरू उपलब्ध गराइएको छैन । पछिल्लो चरणको अमेरिका–इरान द्वन्द्वमा चारै जना मृतकको संलग्नता पुष्टि भइसकेको भएपनि, घाइते भएका सबै २०७ जना सोही द्वन्द्वसँग सम्बन्धित हुन् वा होइनन् भन्ने विषयमा पेन्टागनले आधिकारिक धारणा सार्वजनिक गरेको छैन । अमेरिकी कानुनी प्रावधानअनुसार कङ्ग्रेसको पूर्वस्वीकृति बिना राष्ट्रपतिले अमेरिकी सेनालाई ६० दिनभन्दा बढी समय युद्ध वा शत्रुतापूर्ण गतिविधिमा संलग्न गराउन पाउँदैनन् ।
विभिन्न सञ्चारमाध्यमकाअनुसार, ट्रम्प प्रशासनले जुलाई १० मा कङ्ग्रेसलाई एक पत्र पठाउँदै जुलाई ७ मा हर्मुज जलडमरूमध्य भएर जाँदै गरेका तीनवटा व्यापारिक जहाजमाथि इरानले गरेको आक्रमणलाई अघिल्लो युद्धविराम सम्झौताको उल्लङ्घनका रूपमा परिभाषित गरेको थियो । सोही आधारमा ह्वाइट हाउसले जुलाई ७ लाई इरानसँगको नयाँ चरणको शत्रुतापूर्ण सम्बन्धको आधिकारिक सुरुवात मानेको छ ।





