
काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले पहलमा कृषकलाई कृषि उपजको बजार मूल्य सहज, पारदर्शी र समयमै उपलब्ध गराउने उद्देश्यले ‘एएमपिआइएस नेपाल’ मोबाइल एप सञ्चालनमा ल्याइएको छ । यस एपमार्फत देशभरका १२ वटा संघीय कृषि बजारमा दैनिक कारोबार हुने कृषि उपजको थोक मूल्य अब मोबाइलबाटै हेर्न सकिने भएको छ।
मन्त्रिपरिषद्ले २०८२ चैत १३ गते स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत कृषि उपजको बजार सुनिश्चित गर्न राष्ट्रिय कृषि बजार सूचना प्रणाली सञ्चालन गर्ने तथा डिजिटल माध्यमबाट दैनिक मूल्य जानकारी कृषकसम्म पुर्याउने कार्यक्रम कार्यान्वयनका लागि उक्त एप सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ ।


मन्त्री गिता चौधरीले कृषकलाई बिचौलियामा निर्भर हुन नपर्ने, बजारको वास्तविक मूल्य सहज रूपमा प्राप्त हुने र डिजिटल प्रविधिमार्फत कृषि बजारलाई थप पारदर्शी, व्यवस्थित तथा प्रविधिमैत्री बनाउने उद्देश्यले एप सञ्चालनमा ल्याइएको बताइन्। उनले कृषि क्षेत्रको आधुनिकीकरणसँगै सूचना प्रविधिको प्रयोग विस्तार गर्नु सरकारको प्राथमिकतामा रहेको पनि उल्लेख गरिन्।

यसअघि कृषि विभागको वेबसाइटमार्फत उपलब्ध हुँदै आएको कृषि बजार मूल्य सूचना प्रणालीलाई स्तरोन्नति गर्दै कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिसँगको समन्वयमा कालिमाटीसहित सुनसरी, झापा, धनुषा, सर्लाही, सिन्धुली, कास्की, नवलपरासी (पूर्व), रुपन्देही, बाँके, सुर्खेत र कैलालीका १२ वटा संघीय कृषि बजारको दैनिक थोक मूल्य अब ‘एएमपिआइएस नेपाल’ एपमार्फत पनि सार्वजनिक गर्न थालिएको हो ।
एन्ड्रोइड प्रणाली भएका मोबाइलमा यो एप साउन ८ गतेदेखि प्रयोग गर्न सकिनेछ। कृषि विभागको वेबसाइटमा उपलब्ध द्रुत प्रतिक्रिया संकेत (क्यूआर कोड) स्क्यान गरेर पनि एप डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ ।

एपमार्फत कृषक तथा सरोकारवालाले कृषि उपजको न्यूनतम, अधिकतम र औसत थोक मूल्य, विभिन्न बजारबीचको मूल्य तुलना, मूल्यको प्रवृत्ति तथा कृषि मौसमी सल्लाहसम्बन्धी जानकारी सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।




