
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको आकस्मिक बैठकले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले श्रेष्ठको योगदानको उच्च सम्मान गर्दै विभिन्न शोक कार्यक्रमसमेत घोषणा गरेको छ ।
कांग्रेसले जारी गरेको शोक प्रस्तावमा ७९ वर्षीय श्रेष्ठको साउन १२ गते ललितपुरको जावलाखेलस्थित हेलिस अस्पतालमा उपचारका क्रममा निधन भएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामना गरिएको छ। साथै शोकसन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।

कांग्रेसले श्रेष्ठ विद्यार्थी जीवनदेखि नै पार्टी राजनीतिमा सक्रिय रहँदै लोकतन्त्रको स्थापना, पुनःस्थापना र सुदृढीकरणका लागि भएका विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको जनाएको छ। पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्ने क्रममा उनले पटक–पटक गरी करिब छ वर्ष जेल जीवनसमेत बिताएको कांग्रेसले स्मरण गरेको छ ।


श्रेष्ठ वि.सं. २०४८, २०५६ र २०६४ मा स्याङ्जाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। त्यसैगरी, वि.सं. २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य बनेका थिए ।
उनले नेपाल सरकारको उपप्रधानमन्त्रीका साथै भौतिक योजना तथा निर्माण, वन तथा वातावरण, वाणिज्य तथा शिक्षा मन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए। उनी नेपाली कांग्रेस संसदीय दलका पूर्वप्रमुख सचेतकसमेत थिए ।

वि.सं. २००४ असार ३१ गते स्याङ्जामा जन्मिएका श्रेष्ठले राष्ट्र, लोकतन्त्र र समाजवादप्रति देखाएको समर्पण तथा सार्वजनिक जीवनमा पुर्याएको योगदानप्रति नेपाली कांग्रेसले उच्च सम्मान व्यक्त गरेको छ।
कांग्रेसले उनको निधनसँगै पार्टीले एक अग्रज, अनुभवी र दूरदर्शी राजनीतिज्ञ गुमाएको उल्लेख गर्दै संगठन निर्माण, पार्टी सुदृढीकरण र लोकतान्त्रिक आन्दोलनमा उनले पुर्याएको योगदान सदैव स्मरणीय रहने जनाएको छ।

यसैबीच, कांग्रेसले वरिष्ठ नेता श्रेष्ठप्रति सम्मान प्रकट गर्दै विभिन्न शोक कार्यक्रम घोषणा गरेको छ। निर्णयअनुसार साउन १३, १४ र १५ गते तीन दिनसम्म पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाइनेछ ।
यस्तै, साउन १४ गते बिहीबार देशभरका पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालय बन्द रहनेछन्। स्वर्गारोहण भएको दिनदेखि १३ दिनसम्म सबै कार्यालयमा शोक पुस्तिका राखिनेछ ।
त्यसैगरी, स्वर्गारोहणको १३औँ दिन श्रेष्ठको गृह जिल्ला स्याङ्जाको कालीगण्डकीस्थित राम्दीघाटमा अस्थि विसर्जन गरिने र त्यसपछि जिल्लामा शोकसभा आयोजना गरिने नेपाली कांग्रेसले जनाएको छ ।




