
अमेरिकी सेनाको केन्द्रिय कमान्डले मध्यपूर्वमा रहेका आफ्ना सेनाहरूलाई लक्षित गरी इरानले गरेको ‘आकस्मिक’ क्षेप्यास्त्र प्रहारलाई सफलतापूर्वक विफल पारेको जनाएको छ । सेन्टकॉमले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले मंगलवार साँझ ५ः४५ बजे (अमेरिकी समय) इरानी भूमिबाट धेरै संख्यामा ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको थियो ।
अमेरिकाले यसलाई आफ्ना सैन्य बलहरूमाथि गरिएको एक सुनियोजित आकस्मिक हमलाको संज्ञा दिएको छ । ‘इरानले प्रहार गरेका सबै क्षेप्यास्त्रहरूलाई सफलतापूर्वक बीचैमा रोकिएको (इन्टरसेप्ट) छ ।

’ सेन्टकॉमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै, अमेरिकी सेना हाल उच्च शतर्कता र तयारीको अवस्थामा रहेको पनि जानकारी दिइएको छ ।


यसैबीच, अमेरिकी सञ्चारमाध्यम सीएनएनले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै इरानले चारवटा भन्दा बढी क्षेप्यास्त्र प्रहार नगरेको उल्लेख गरेको छ । अमेरिकी दाबीका सम्बन्धमा इरानको राजधानी तेहरानबाट हालसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन । तनाव बढ्दै जाँदा सेन्टकॉमले होर्मुज जलडमरूमध्य भएर गुडिरहेका १८ वटा व्यापारिक जहाजहरूलाई अर्को मार्गमा पठाएको जनाएको छ । इरानी बन्दरगाहहरूमाथि ‘नौसैनिक नाकाबन्दी’ कडाइका साथ लागू गर्न दुईवटा जहाजलाई निष्क्रिय पारिएको र अन्य दुईवटालाई नियन्त्रणमा लिएर खानतलासी गरिएको अमेरिकी सेनाले बताएको छ ।
हाल मध्यपूर्वको जलक्षेत्रमा अमेरिकी नौसेनाका २० भन्दा बढी युद्धपोतहरू विभिन्न सैन्य अभियानका लागि तैनाथ गरिएको छ । यसअघि सोमवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्तालाई थप एक अवसर दिन इरानमाथिको सम्भावित सैन्य आक्रमणलाई तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको बताएका थिए । यद्यपि, वार्ता असफल भएको खण्डमा पुनः आक्रमणको आदेश दिनसक्ने चेतावनी समेत उनले दिएका छन् ।





