
नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रिय कार्यालय सानेपामा राखिएको छ ।
श्रेष्ठको पार्थिव शरीरमा काँग्रेस सभापति गगनकुमार थापाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ भने विभिन्न राजनितिक दलका नेता तथा काँग्रेस कार्यकर्ताहरुले पनि श्रद्धाञ्जली दिएका छन् । श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, एमालेका नेता प्रदीप ज्ञवाली लगायतका नेताले समेत श्रेष्ठलाई काँग्रेस पार्टी कार्यालय पुगेर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
८३ वर्षको उमेरमा मंगलवार उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा निधन भएपछि श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा राखिएको हो । बुधवार नै उहाँको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने नेपाली काँग्रेसले जनाएको छ ।


नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले दिवंगत श्रेष्ठले नेपालको प्रजातान्त्रिक आन्दोलनका विशेष स्तम्भ भएको बताउनु भयो । श्रेष्ठले लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान इतिहासमा सदैव स्मरणीय रहने उहाँको भनाई छ । श्रेष्ठले सानै उमेरदेखि नेपाली काँग्रेसको नेतृत्वमा भएका सबै लोकतान्त्रिक आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरेको महामन्त्री घिमिरेले उल्लेख गर्नुभयो । उहाँकाअनुसार २०१७ सालपछि उत्पन्न प्रतिकूल राजनीतिक परिस्थितिमा पार्टीले सञ्चालन गरेका हरेक संघर्षमा श्रेष्ठ निरन्तर सहभागी भई जेल, यातना र दमन सहेर पनि लोकतन्त्रको पक्षमा अडिग रहुनभएको थियो । १२ बुँदे समझदारीमा तत्कालीन सात दल र माओवादीबीच भएको ऐतिहासिक सहमतिका हस्ताक्षरकर्तामध्ये श्रेष्ठ पनि एक भएको महामन्त्री घिमिरेले बताउनु भयो ।

उहाँकाअनुसार श्रेष्ठले सरकारमा उपप्रधानमन्त्री, पार्टीमा उपसभापति तथा तत्कालीन नेपाली काँग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्नुभएको थियो । श्रेष्ठ नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै महामन्त्री घिमिरेले पछिल्लो विशेष महाधिवेशनमा उहाँको उपस्थितिले पार्टीलाई ऊर्जा र मार्गदर्शन दिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीको वरिष्ठ नेता गोपाल दाइ नेपालको प्रजातान्त्रिक आन्दोलनको एउटा यस्तो स्तम्भ हुनुहुन्थ्यो, जसले प्रजातन्त्र पुनस्थापनाको आन्दोलनमा लामो समय योगदान गर्नुभयो । सानो उमेरदेखि नै उहाँले नेपाली काँग्रेसको नेतृत्वमा भएका सबै आन्दोलनहरुमा सहभागिता जनाउनु भयो । १७ साल पछिको प्रतिकुल राजनीतिक परिस्थितिमा पार्टीद्वारा संचालित सबै संघर्षहरुमा उहाँले यथोचित सहयोग पु¥याउनुभयो । प्रतिकुल समयमा सहयोग गर्न सामान्य व्यक्तिको लागि निकै गाह्रो हुन्थ्यो, त्यसैले उहाँ असामान्य व्यक्ति भन्नु पर्छ । प्रतिकुल समयमा पनि पार्टीलाई योगदान पु¥याएर संघर्षमा सामेल भएर जेल नेल यातना सबै झेलेर नेपाली काँग्रेसको वृक्षलाई जोगाउन, फलाउन, फूलाउन र अन्ततः ३० वर्षको लामो संघर्ष पछि प्रजातन्त्रको पुनस्थापना गराउन उहाँको ठुलो भूमिका छ । उहाँले सरकारमा गएर पनि काम गर्नुभयो, उपप्रधानमन्त्रीसम्म हुनुभयो, पार्टीमा उहाँ उपसभापतिसम्म हुनुभयो । तत्कालिन नेपाली कांग्रेस प्रजातान्त्रिकको कार्यबाहक सभापति बन्नुभयो । १२ बुँदे समझदारीको हस्ताक्षर कर्तामध्ये तत्कालिन ७ दल र माओवादीका बीचको भएको समझदारीको हस्ताक्षर कर्ता मध्येको एक हो, उहाँ । उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनलाई पु¥याउनु भएको योगदान हाम्रा लागि चिरस्मरणिय रहनेछ । नयाँ पुस्ताका निम्ति उहाँ प्रेरणा श्रोत हुनुहुन्थ्यो । पछिल्लो पटक विशेष महाधिवेशनमा उपस्थित भएर उहाँले हामीलाई संरक्षकत्व र ऊर्जा प्रदान गर्नु भएको थियो । त्यसले हामीलाई अगाडी बढ्न प्रेरणा दियो, र आज हामी यहाँ छौ । त्यसैले उहाँ हाम्रो धेरै नेताहरु मध्येको एक महत्वपूर्ण नेता हुनुहुन्थ्यो ।’

वि.सं. २००१ मा जन्मिनुभएका श्रेष्ठले विद्यार्थी जीवनदेखि नै प्रजातन्त्र र लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । श्रेष्ठले २०३६ सालको जनमतसंग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन तथा २०६२–०६३ को जनआन्दोलनमा अग्रपंक्तिमा रहेर सहभागिता जनाएको कांग्रेसले जनाएको छ । श्रेष्ठ २०४८, २०५६, २०६४ सालमा स्याङ्जाबाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो भने २०७० सालमा समानुपातिक सांसद बन्नुभएको थियो । २०५१ सालको निर्वाचनमा भने उहाँ पराजित हुनुभयो । पटक पटक मन्त्री बन्नुभएका उहाँ लोकतान्त्रिक आन्दोलनका क्रममा पटकपटक जेल समेत पर्नुभएको थियो । लामो समय नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट रहुनभएका श्रेष्ठ काँग्रेसको विशेष महाविधेशनमा सहभागी भएर गगन थापा निकट हुनुभएको थियो । उहाँले काँग्रेस विभाजनपछि लामो समय नेपाली काँग्रेस (प्रजातान्त्रिक) को कार्यवाहक सभापतिको जिम्मेवारी समेत समाल्नुभएको थियो ।
तीन दिन पार्टीको झण्डा आधा झुकाईने

नेपाली काँग्रेसको श्रेष्ठको निधनको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
बुधवार बसेको आकस्मिक केन्द्रिय समितिको बैठकले साउन १३, १४ र १५ गते पार्टीको केन्द्रिय, प्रदेश र जिल्ला समितिका कार्यलयहरुमा झण्डा आधा झुकाउने निर्णय गरेको हो । यस्तै साउन १४ गते विहीवार केन्द्र, प्रदेश र जिल्लाका पार्टी कार्यलयहरु बन्द गर्ने र १३ औँ दिनको पुण्य तिथिमा श्रेष्ठको गृहजिल्ला स्याङ्जामा शोक सभा आयोजना गर्ने निर्णय गरेको छ ।




