मन्त्रिपरिषद् बैठकका निर्णयः ९ वटा विधेयक संसदमा पेश गर्न स्वीकृति

सरकारले विभिन्न ९ वटा विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।
बुधवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस्तो जानकारी दिनुभएको हो । उहाँकाअनुसार सरकारले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक, विस्फोटक पदार्थसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशुरोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक विधेयक संसदमा पेश गर्ने निर्णय गरेको हो ।

त्यस्तै, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, बालश्रम (निषेध तथा नियमित गर्ने) सम्बन्धी विधेयक, आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलापसम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक, कर्मचारी सञ्चय कोष ऐन, २०१९ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पेश गर्ने निर्णय भएको मन्त्री पोखरेलले जानकारी दिनुभयो ।

उहाँले अर्थ मन्त्रालयको प्रश्तावमा सम्पती शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय पनि बैठकले गरेको जानकारी दिनुभयो । उहाँकाअनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा सिन्धुलीका खेटराज दाहाललाई मनोनयन गर्ने निर्णय समेत गरिएको छ ।

उहाँले भन्नुभयो, ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक, विस्फोटक पदार्थसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशुरोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, बालश्रम (निषेध तथा नियमित गर्ने) सम्बन्धी विधेयक, आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलापसम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक, कर्मचारी सञ्चय कोष ऐन, २०१९ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ । अर्थ मन्त्रालयबाट सम्पती शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय भएको छ । गृह मन्त्रालयबाट समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा खेटराज दाहाल (सिन्धुली)लाई मनोनयन गर्ने निर्णय भएको छ । र शिक्षा तथा खेलकुद मन्त्रालयबाट प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौँ संशोधन) नियमावली, २०८३ लाई स्वीकृत गर्ने निर्णय भएको छ ।’

बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको समेत सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।