अमेरिकी सिनेटद्वारा जे क्लेटन नयाँ राष्ट्रिय गुप्तचर निर्देशकमा नियुक्त

अमेरिकी सिनेटले धितोपत्र तथा विनिमय आयोग (एसईसी) का पूर्व अध्यक्ष जे क्लेटनलाई नयाँ राष्ट्रिय गुप्तचर निर्देशक (डीएनआई) का रूपमा नियुक्त गरेको छ । मतदानमा क्लेटनको पक्षमा ५१ र विपक्षमा ४७ मत परेको थियो । सिनेटमा भएको उक्त मतदान स्पष्ट रूपमा दलीय आधारमा विभाजित देखिएको थियो ।

क्लेटन यसअघि ल फर्म सुलिभान एन्ड क्रोमवेलका प्रमुख रहिसकेका छन् भने हाल उनी न्युयोर्कको दक्षिणी जिल्लाका लागि अमेरिकी महान्यायाधिवक्ताका रूपमा कार्यरत थिए । यो अनुमोदनसँगै उनले अमेरिकी गुप्तचर समुदायको सर्वोच्च पदको जिम्मेवारी सम्हाल्नेछन् ।

यसअघि राष्ट्रपति डोनल्ड ट्रम्पले जुन महिनाको सुरुमा बिल पुल्टेलाई कार्यवाहक निर्देशक नियुक्त गरेपछि दुवै पक्षका सांसदहरूले असन्तुष्टि व्यक्त गरेका थिए । संघीय आवास वित्त एजेन्सीको नेतृत्व गरिसकेका पुल्टेले क्लेटनको नियुक्ति हुनुअघिसम्म अन्तरिम प्रमुखको रूपमा कार्यभार सम्हाल्दै आएका थिए ।

यसै वर्षको मे महिनाको अन्त्यतिर हवाईकी पूर्व डेमोक्र्याटिक सांसद तुलसी गबार्डले राष्ट्रिय गुप्तचर निर्देशकको पदबाट राजीनामा दिएकी थिइन् । ट्रम्पको दोस्रो कार्यकालमा राजीनामा दिने उनी चौथो वरिष्ठ अधिकारी हुन् । अमेरिकी सञ्चारमाध्यमहरूकाअनुसार गत फेब्रुअरी २८ देखि सुरु भएको इरानविरुद्धको अमेरिकी–इजरायली युद्धप्रति गबार्डको असहमति नै उनको राजीनामाको मुख्य कारण रहेको बताइएको छ ।

सन् २००१ सेप्टेम्बर ११ को आतङ्कवादी हमलापछि विभिन्न अमेरिकी गुप्तचर निकायहरूबीच प्रभावकारी समन्वय र सूचना आदानप्रदान गर्ने उद्देश्यका साथ राष्ट्रिय गुप्तचर निर्देशकको कार्यालय स्थापना गरिएको थियो ।